EduPress
'

बालबालिकालाई शिक्षाको अवसर दिने रूबलले पाइन १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार

Author Image
शुक्रवार, माघ २३, २०८२
Text Size:

काठमाडौं । औपचारिक विद्यालयको पहुँचबाहिर रहेका बालबालिकालाई शिक्षासँग जोड्ने अभियानमा सक्रिय सामाजिक कार्यकर्ता रूबल नागीले विश्वस्तरको सम्मान प्राप्त गरेकी छन्। उनले बिहीबार दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलनका क्रममा १० लाख डलर राशिको ग्लोबल शिक्षक पुरस्कार जितेकी हुन्।

नागीले स्थापना गरेको ‘नागी आर्ट फाउन्डेसन’मार्फत भारतका विभिन्न भागमा हालसम्म ८ सयभन्दा बढी सिकाइ केन्द्र सञ्चालनमा छन्। ती केन्द्रहरू विशेषगरी कहिल्यै विद्यालय नजाने बालबालिकालाई लक्षित छन् भने नियमित विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पनि थप सहयोगात्मक कक्षा प्रदान गरिन्छ।

झुपडी र सार्वजनिक स्थानका भित्तामा बनाइने उनका शैक्षिक भित्तेचित्रले साक्षरता, विज्ञान, गणित र इतिहासजस्ता विषयलाई सरल र आकर्षक तरिकाले प्रस्तुत गर्छन्। यसले बालबालिकाको सिकाइ क्षमता मात्र होइन, सिर्जनशील सोचसमेत विकास गर्न सहयोग पुर्‍याएको बताइन्छ।

पुरस्कारबाट प्राप्त रकम निःशुल्क व्यावसायिक सीप तालिम प्रदान गर्ने संस्थान स्थापना गर्न प्रयोग गर्ने नागीले घोषणा गरेकी छन्। यसबाट शिक्षासँगै रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

ग्लोबल शिक्षक पुरस्कार वार्की फाउन्डेसनद्वारा सन् २०१५ देखि प्रदान हुँदै आएको हो। यसका संस्थापक सन्नी वार्कीले जीईएमएस एजुकेशन नामक विश्वकै ठूलो निजी विद्यालय सञ्जालमध्ये एक स्थापना गरेका हुन्, जसका विद्यालयहरू इजिप्ट, कतार र संयुक्त अरब इमिरेट्सलगायत मुलुकमा सञ्चालनमा छन्। नागी यो पुरस्कार जित्ने दशौँ व्यक्तिका रूपमा सूचीकृत भएकी छन्।

यसअघि उक्त पुरस्कार केन्याका दुर्गम गाउँमा पढाउने शिक्षक, प्यालेस्टिनी प्राथमिक तहका शिक्षक, क्यानाडाली शिक्षक तथा साउदी अरबका मन्सुर अल–मन्सुरले प्राप्त गरिसकेका छन्। उनीहरू सबैले शिक्षालाई सामाजिक रूपान्तरणसँग जोड्दै सामाजिक सेवा, अहिंसा र गरिब समुदायसँग सहकार्यमा आधारित शिक्षण अभ्यास गर्दै आएका छन्।

विश्वव्यापी रूपमा फैलिएको जीईएमएस शिक्षा प्रणालीलाई अर्बौं डलर मूल्यांकन गरिएको छ। विशेषगरी दुबईमा विदेशी विद्यार्थीलाई लक्षित निजी विद्यालय सञ्चालनमार्फत यसले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर