EduPress
'

त्रिवि मानविकी संकायमा अभिमुखीकरण सम्पन्न, नेपाली भाषा साहित्यको महत्व र अनुशासनपूर्ण अध्ययनमा जोड

Author Image
शुक्रवार, माघ ३०, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायको केन्द्रीय नेपाली विभागले स्नातकोत्तर तह प्रथम सेमेस्टर (शैक्षिक सत्र २०८२) का नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा चारै सेमेस्टरमा अध्ययन गर्नुपर्ने विषयको कोड, पाठ्यक्रम संरचना, आन्तरिक मूल्यांकन प्रणाली तथा कक्षा सञ्चालन प्रक्रियाबारे प्रा.डा. लक्ष्मणप्रसाद गौतमले विस्तृत सहजीकरण गरेका थिए । उनले सेमेस्टर प्रणालीमा नियमित उपस्थितिको महत्व औंल्याउँदै निरन्तर मूल्यांकन प्रणालीले विद्यार्थीलाई जिम्मेवार र अनुसन्धानमुखी बनाउने बताए।

कार्यक्रमको अध्यक्षता विभाग प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपानेले गरेका थिए। उनले विद्यार्थीलाई प्रतीकात्मक रूपमा “ढोका र झ्याल” को उदाहरण दिँदै अनुशासन र सही पद्धतिबाट अध्ययन गर्न आग्रह गरे। “हामीले विद्यार्थीलाई सही बाटो देखाउने हो। ढोकाबाट प्रवेश गर्न सिक्नुपर्छ, झ्यालबाट होइन,” उनले भने, “अनुशासित र लगनशील अध्ययनमा विभागले कुनै कसर बाँकी राख्दैन।” उनले विद्यार्थीलाई दायाँबायाँ नगरी समर्पित भावले अध्ययनमा केन्द्रित हुन प्रेरित गर्नुपनर्ने बताए ।

अभिमुखीकरण कार्यक्रममा प्रा.डा. नारायण गड्तौला, प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. दुर्गाबहादुर घर्ती, डा. सुकुम शर्मा, डा. बालाकृष्ण अधिकारी, डा. अशोक थापा, डा. नेत्र एटम, राधिका गुरागाईं, आर.एम. डंगोल, दीपकप्रसाद ढकाल, यादव शर्मा लगायतका प्राध्यापकहरूले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा विद्यार्थीहरूको भूमिकाबारे आ-आफ्ना धारणा राखेका थिए। उक्त शत्रको सहजीकरण डा. रजनी ढकालले गरेकी थिइन्।

कार्यक्रममा सहभागी विद्यार्थीका तर्फबाट सन्तोष घर्ती मगरले आफू नेपाली साहित्यप्रति गहिरो रुचि राख्ने भए पनि कहाँ अध्ययन गर्ने भन्ने अन्योलमा रहेका बेला डा. बालाकृष्ण अधिकारीको प्रेरणाले केन्द्रीय नेपाली विभाग रोजेको बताए। त्यस्तै, सुनिल पाण्डेले पहिले भर्ना भएर बीचमा जापानीज परियोजनामा रोजगारी पाएपछि अध्ययन छोड्नुपरेको अनुभव सुनाउँदै अहिले परियोजना सकिएपछि पुनः नेपाली विषय लिएर अध्ययनमा फर्किएको बताए।

कैलालीबाट अध्ययनका लागि काठमाडौं आएकी विनोदा न्यौपाने नेपाली विषयप्रतिको गहिरो मोहका कारण नै केन्द्रीय विभाग रोजेको जनाइन्। “नेपाली भाषा र साहित्यको गहिराइ बुझ्न केन्द्रीय विभाग नै उपयुक्त थलो ठानेँ,” उनले भनिन्।

एडुप्रेसका प्रतिनिधि तथा गोरखापत्रका खस भाषाका पृष्ठ संयोजक वाशिष्ठले नेपाली विषयमा देशमै जनशक्तिको अभाव देखिएको उल्लेख गर्दै नयाँ पुस्ताले नै भाषा र संस्कृतिको जिम्मेवारी लिनुपर्ने धारणा राखे। “महासागरबाट पानी कति लिने भन्ने कुरा हाम्रै हातमा हुन्छ,” उनले भने, “कक्षालाई अन्तरक्रियात्मक बनाउन नहिचकिचाई सहभागी हुनुपर्छ।”

वार्षिक प्रणालीबाट सेमेस्टर प्रणालीमा रूपान्तरण भएपछि नियमित उपस्थिति अनिवार्य भएकाले विद्यार्थी अभावको चुनौती विश्वविद्यालयले भोगिरहेको सरोकारवालाहरूको भनाइ छ। स्नातक तहपछि ठूलो संख्यामा विद्यार्थी विदेशिने प्रवृत्तिले स्नातकोत्तर तहमा अध्ययन गर्ने जनशक्तिमा कमी देखिन थालेको छ, जसको असर केन्द्रीय नेपाली विभागमा समेत परेको बताइन्छ।

यस सन्दर्भमा वक्ताहरूले स्नातक तहदेखि नै विद्यार्थीलाई नेपालमै अध्ययन र अनुसन्धानमा आकर्षित गर्ने नीति आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिको महत्व पुनः स्मरण गराउँदै नयाँ पुस्तालाई अनुसन्धान, सिर्जना र संरक्षणतर्फ प्रेरित गरेको सहभागीहरूको विश्वास छ। नेपाली विषय केवल अध्ययनको माध्यम मात्र नभई राष्ट्रिय पहिचान, सांस्कृतिक उत्तराधिकार र बौद्धिक स्वाभिमानको आधार भएको सन्देश अभिमुखीकरणले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर