EduPress
'

काठमाडौँमा आधारभूत विद्यालयका प्रधानाध्यापकबीच गुणस्तर सुधारका लागि अन्तरक्रिया

Author Image
शुक्रवार, माघ ३०, २०८२
Text Size:

काठमाडौँ । शैक्षिक गुणस्तर सुदृढीकरणको लक्ष्यसहित शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौँको आयोजनामा जिल्लाभरका आधारभूत विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सामुदायिक विद्यालयको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।

इकाइ प्रमुख डा. समन्तमणि आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक संघ नेपालका केन्द्रीय अध्यक्ष सुदाम प्रसाद गौतम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। सम्बोधनका क्रममा गौतमले सामुदायिक विद्यालयहरू क्रमशः सकारात्मक परिवर्तनतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै नतिजामुखी व्यवस्थापन र जवाफदेहितामूलक नेतृत्वको आवश्यकता औँल्याए।

कार्यक्रमको स्वागत मन्तव्य पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा पानका केन्द्रीय कोषाध्यक्ष रीता तिवारीले राखेकी थिइन्। उनले विद्यालयस्तरमा भइरहेका अभ्यास र अनुभव आदान–प्रदानले गुणस्तर सुधारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

जिल्लाको शैक्षिक वस्तुस्थिति, शिक्षक सेवा–सुविधा तथा वृत्तिविकासका विषयमा इकाइका शाखा अधिकृत कृष्णकुमार श्रेष्ठले तथ्यपरक प्रस्तुति दिएका थिए। उनले हालका उपलब्धि र देखिएका चुनौतीबारे जानकारी गराउँदै सुधारका सम्भावित रणनीतिहरू प्रस्तुत गरे।

त्यसैगरी नारायणी माध्यमिक विद्यालय, भरतपुर–चितवनका पूर्व प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद दवाडीले विद्यालय व्यवस्थापन, अभिभावक शिक्षा जागरण र समग्र शैक्षिक गुणस्तर अभिवृद्धिका उपायबारे सहजीकरण गरेका थिए।

कार्यक्रममा बालविकास आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्र पोखरेल र कीर्तिपुर नगरपालिकाकी शिक्षा अधिकृत कमला पोखरेलले पनि आफ्ना धारणा राख्दै विद्यालय सुधारका लागि सहकार्य, पारदर्शिता र स्थानीय तहको सक्रिय भूमिकामा जोड दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खबर