- जगत वाशिष्ठ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत खेलकूद विज्ञान स्नातकोत्तर कार्यक्रमको छैटौँ ब्याचका चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आयोजनामा अन्तर विद्यालयस्तरीय छात्रा बास्केटबल प्रतियोगिता कीर्तिपुरमा सम्पन्न भएको छ। छात्रा खेलाडीहरूलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा सहभागी विद्यालयहरूमध्ये काष्ठमण्डप स्कूल प्रथम भएको छ। त्यसैगरी एभीएम स्कूल दोस्रो स्थानमा रहँदा पुष्पसदन स्कूल तेस्रो भएको छ भने बुढानिलकण्ठ स्कूलले सान्त्वना स्थान हासिल गरेको आयोजकले जनाएको छ। विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आयोजकको तर्फबाट पदक, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी (MVP) को उपाधि काष्ठमण्डप स्कूलकी छात्रा साइरा बानियाँले जित्न सफल भइन्। प्रतियोगिताले विद्यालयस्तरमै छात्रा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा खेलकूद विज्ञान स्नातकोत्तर कार्यक्रमका संयोजक प्राध्यापक पशुपति अधिकारीले खेलकूद विज्ञान अध्ययन गरेका विद्यार्थीहरूले देशको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले यस्ता कार्यक्रमहरूले विद्यालयस्तरमा खेलकुद संस्कृतिको विस्तार र प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा विभिन्न विद्यालयका छात्रा खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। आयोजकका अनुसार यस्ता प्रयोगात्मक कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यावहारिक अनुभवका साथै खेल व्यवस्थापन सम्बन्धी सीप विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


