EduPress
'

सामुदायिक विद्यालयको रुपान्तरणः आधार, संकल्प र मार्गदर्शन

Author Image
आइतवार, असोज २६, २०८२
Community School
Text Size:
  • – प्रभात चलाउने

शिक्षा मानव चेतनाको उज्यालो हो, जसले व्यक्तिलाई केवल साक्षर बनाउँदैन, उसलाई समाजको सशक्त हस्ताक्षर बनाउँछ । शिक्षा केवल ज्ञानको सञ्चार होइन; यो मानव चेतनाको आलोक हो—जहाँ आत्मबोध, सम्भावनाको विकास र सामाजिक उत्तरदायित्वको अभ्युदय हुन्छ । शिक्षाले मानिसलाई साक्षर मात्र बनाउँदैन, उसलाई समाज रूपान्तरणको संवाहक बनाउँछ, समय र संरचनालाई नयाँ दिशा दिने सशक्त हस्ताक्षरमा रूपान्तरण गर्छ । वास्तवमा शिक्षा त्यस्तो गहिरो साधना हो, जसले व्यक्ति मात्र होइन, राष्ट्रको आत्मालाई नै उज्यालो बनाउँछ । त्यसै कारण कुनै पनि राष्ट्रको समृद्धिको सूचक शिक्षाको स्तरमा आधारित हुन्छ । जहाँ शिक्षाले मौन चेतनालाई जगाउँछ, त्यहाँ परिवर्तनको बीउ रोपिन्छ । नेपालको सन्दर्भमा सामुदायिक विद्यालयहरू शिक्षाको वास्तविक धरोहर हुन्, जो देश निर्माणको मेरुदण्डका रूपमा रहेका छन् । तर दुर्भाग्य, २९ हजारभन्दा बढीको संख्यामा रहेका सामुदायिक विद्यालयहरू वर्षौंसम्म उपेक्षा, विभेद र दायित्वहीनताको गर्तमा रहँदै आएका छन् । यिनलाई परिवर्तन नहुने क्षेत्र भनेर हेयको दृष्टिले हेर्ने गरिएको छ । यस्तो सोचले केवल वर्तमान होइन, भविष्यको सम्भावनालाई समेत कुण्ठित बनाइरहेको छ ।

अब सामुदायिक विद्यालयको अवस्था बदल्ने नयाँ संकल्पको यात्रा सुरु गर्ने समय आएको छ । सामुदायिक विद्यालयको केवल भौतिक सुधार होइन, सोच, संरचना, आचरण, नेतृत्व, मूल्य र प्रतिबद्धताको पूर्ण रूपान्तरण आवश्यक छ । शिक्षा प्रशासनिक आवश्यकता मात्र होइन, दार्शनिक र नैतिक पुनर्जागरणको आन्दोलन हो । यस रूपान्तरणले शिक्षालाई पुनः त्यस पवित्र भूमिमा उभ्याउनेछ, जहाँ शिक्षार्थीहरू केवल परीक्षा उत्तीर्ण गर्न होइन, जीवन बुझ्न, समाजलाई नयाँ रूप दिन र मानवताका उच्चतम मूल्यहरूमा बाँच्न सिक्नु जरुरी छ । सामुदायिक विद्यालय अब अँध्यारोको प्रतीक होइन, ज्ञानको आलोक स्तम्भ बन्नुपर्दछ ।

विगतको चित्र र वर्तमानको चुनौती

नेपालको शिक्षाको इतिहास हेर्दा, सामुदायिक विद्यालयहरूले थुप्रै पीढीलाई शिक्षाको ढोका खोले । गाउँगाउँमा विद्यालय खुले, शिक्षक आए, र जनतामा चेतनाको सञ्चार भयो । तर समयसँगै निजी शिक्षाको तीव्र विकासले सामुदायिक विद्यालयप्रति विश्वास घट्दै गयो । शिक्षकको निराशा, अभिभावकको उदासीनता, राज्यको असंवेदनशीलता र प्रणालीगत भ्रष्टाचारले सामुदायिक विद्यालयहरू क्रमशः उपेक्षाको भूमरीमा परे । यसको असर शिक्षाको गुणस्तरमा, विद्यार्थीको मनोविज्ञानमा र समग्र समाजको शिक्षाप्रति दृष्टिकोणमा देखा पर्न थाल्यो । शिक्षालाई सामाजिक न्यायको हतियार बनाउने, विकासको मेरुदण्ड बनाउने र राष्ट्रिय चरित्र निर्माणको माध्यम बनाउने जिम्मेवारी यो पुस्ताको काँधमा आएको छ ।

रूपान्तरणको मार्गदर्शन ः शिक्षा पुनर्जागरणको यात्रामा सामुदायिक विद्यालय

सामुदायिक विद्यालयको रूपान्तरण केवल भौतिक पूर्वाधार बनाउने परियोजना होइन । विद्यालयमा पक्की भवन बन्यो भनेर रूपान्तरण भयो भन्न मिल्दैन । रूपान्तरणको सारभूत तत्व भनेको गुणस्तरीय शिक्षा, उत्तरदायी नेतृत्व, समावेशी सहभागिता र सकारात्मक सिकाइ वातावरण हो । सामुदायिक विद्यालयको रूपान्तरण केवल संरचना सुधारको प्रशासनिक योजना होइन, यो एउटा गहिरो दार्शनिक आन्दोलन हो, जहाँ शिक्षालाई पुनः आफ्नो मूल उद्देश्यमा फर्काउने प्रयास गर्नु जरुरी छ । यो मार्गदर्शन सतही सुधारको होइन, शिक्षाको वास्तविक आत्माको पुनरुत्थानसँग सम्बन्धित छ । यस मार्गदर्शनको केन्द्रमा पाँच गहिरा स्तम्भहरू रहेका छन्— दृष्टिकोणको पुनःपरिभाषा, नेतृत्वको पुनर्निर्माण, शिक्षण सिकाइ प्रक्रियाको पुनरावलोकन, समुदायसँगको पुनःसम्बन्ध र मूल्य–आधारित शिक्षाको पुनस्र्थापना ।

१. दृष्टिकोणको पुनःपरिभाषा

सर्वप्रथम, शिक्षा प्रति हाम्रो दृष्टिकोण नै पुनःपरिभाषित हुनु आवश्यक छ । सामुदायिक विद्यालयलाई “दोस्रो दर्जाको” विद्यालय भनेर हेर्ने राज्य, समाज र अभिभावकको दृष्टिकोणले नै रूपान्तरणको मार्गमा अवरोध सिर्जना गरिरहेको छ । हामीले विद्यालयलाई केवल सेवा प्रदायक संस्था होइन, चेतनाको केन्द्र, सामाजिक परिवर्तनको प्रयोगशाला र राष्ट्रिय समृद्धिको बीउ राख्ने स्थलका रूपमा हेर्नुपर्नेछ । आजसम्म शिक्षा भन्नु केवल पठनपाठन गर्ने थलोका रुपमा मात्रै बुझ्ने गरियो । सामुदायिक विद्यालयहरुलाई अक्षर चिन्ने वा साक्षर बन्ने स्थलका रुपमा मात्रै लिइयो । यो नै हाम्रो सबैभन्दा ठूलो गल्ती हो । सामुदायिक विद्यालयहरु कमजोर हुनु वा उपेक्षामा पर्नुको एक मूलकारण यो हो । शिक्षाप्रति हाम्रो सामाजिक दृष्टिकोण विगतका दशकहरूमा व्यवहारिक भन्दा पनि व्यावसायिक, साधनभन्दा पनि सर्त केन्द्रित हुन पुगेको छ । हामी शिक्षालाई सेवा होइन, वस्तु (अयmmयमष्तथ) को रूपमा हेर्न थालेका छौं । यसले शिक्षाको आत्मालाई दबाएको छ, शिक्षालयलाई केवल परीक्षा केन्द्र बनाएको छ, र शिक्षार्थीलाई आत्मा होइन, अंक प्राप्त गर्ने यन्त्रमा रूपान्तरण गरेको छ । जब दृष्टिकोण गलत हुन्छ, तब यथार्थ सही भएर पनि अपूर्ण देखिन्छ । शिक्षा कुनै ‘प्रतिस्पर्धात्मक बजारको उपज’ होइन, यो चेतनाको गहिरो प्रवाह हो— जहाँ मानवले आत्मालाई चिन्ने, समाजलाई बुझ्ने र जीवनसँग सहयात्रा गर्ने बाटो पाउँछ । शिक्षा समाजको आत्मा हो, तर हामीले यसलाई व्यवस्थाको एउटा शाखा बनाइदियौं । हामीले शिक्षालाई साधन बनायौं, त्यसको साध्य बिर्सियौं । जब हामी शिक्षालाई जीवनदृष्टिको रूपमा बुझ्छौं, तब विद्यालय केवल पाठ सिकाउने ठाउँ हुँदैन । त्यो त मानिसको दृष्टिकोण र भविष्य बनाउने वास्तविक प्रयोगशाला बन्छ । दृष्टिकोणको पुनःपरिभाषा भनेको शिक्षाको प्रयोजनका बारे बुझाई स्पष्ट पार्नु हो । के हामी ज्ञान बोक्ने मानिस उत्पादन गर्दैछौं, वा ज्ञान बाँच्ने, विवेकशील नागरिक निर्माण गर्दैछौं ? शिक्षालाई अब अक्षर चिनाउने ‘सीमित’ प्रक्रिया होइन, अस्तित्वको गहिरो बुझाइ र सामाजिक चेतनाको ‘अनन्त’ यात्रा ठान्नुपर्छ । जब दृष्टिकोण फराकिलो हुन्छ, तब विद्यालयभित्रको हरेक भित्ताले केवल पाठ होइन, दर्शन बोल्न थाल्छ । हामीले सामुदायिक विद्यालयलाई पुनः एकपटक ‘समाजको गौरव’ को दृष्टिबिन्दुमा फर्काउनु जरुरी छ । जहाँ शिक्षकहरू केवल तलब लिने कर्मचारी होइनन्, जीवन दर्शन बोकेका गुरु बन्नुपर्दछ । विद्यार्थी केवल धुलोमा बस्ने पात्र होइन, सम्भावनाको प्रकटीकरण बन्नुपर्दछ र अभिभावक केवल प्रेक्षक होइन, शिक्षाको सह–स्रष्टा बन्नुपर्दछ । यो बुझाइ सबैको बनाउनु जरुरी हुन्छ ।

दृष्टिकोण रूपान्तरण पहिलो र अनिवार्य सर्त हो । हामीले शिक्षालाई हेर्ने तरिका परिवर्तन नगरी त्यो सम्भव छैन । शिक्षा ‘के गर्न’ होइन, ‘किन गर्न’ भन्ने प्रश्नबाट सुरु हुनुपर्छ । शिक्षा व्यक्तिको समग्र भविष्य वा जीवन झल्काउने प्रकाश हो । जसले समाजको अन्धकार छिचोल्ने सामथ्र्य राख्दछ । अक्षर चिनाएर वा साक्षर बनाएर जीवन झल्किदैन । शिक्षक केवल तोकिएको पाठ पढाउने कर्ता बन्ने, विद्यार्थी शिक्षकले भनेको गर्ने वा भनेमा मात्रै गर्ने भएर शिक्षाको वास्तविक परिभाषामा शिक्षण क्रियाकलाप पूरा हुँदैन । शिक्षकले विद्यार्थीलाई जीवन दिने उच्च मनोबल र दृष्टिकोणका साथ अध्यापन क्रियाकलापमा सहभागी हुनुपर्दछ । प्रधानाध्यापकले सबै शिक्षकहरुलाई यो दृष्टिकोणमा उतार्न जरुरी हुन्छ । विद्यार्थीलाई पनि उनीहरुको सोचाइ र बुझाइ समेत बदल्नुपर्दछ । यसकारण दृष्टिकोणको पुनःपरिभाषा भनेको शिक्षालाई, शिक्षण क्रियालापलाई बुझ्ने बुझाईमा ल्याउनुपर्ने नयाँपन हो । त्यसपछि मात्रै सामुदायिक विद्यालयहरु नयाँ आधारमा रुपान्तरण हुन्छन् ।

२. नेतृत्वको पुनर्निर्माण

विद्यालयको गहिरो रूपान्तरण तब मात्र सम्भव हुन्छ जब नेतृत्व जागरूक, उत्तरदायी र प्रेरणादायी हुन्छ । नेतृत्व शिक्षाको आत्मा हो—प्रेरक शक्तिको प्रतिनिधि हो । प्रधानाध्यापक केवल व्यवस्थापक नभई दार्शनिक मार्गदर्शक हुनुपर्छ, जो शिक्षक, विद्यार्थी र समुदायलाई साझा उद्देश्यमा जोड्न सक्षम होस् । शिक्षामा नेतृत्वको रूपान्तरण भन्नाले नीतिनिर्मातादेखि कक्षा शिक्षकसम्म, सबै तहमा आचरण, दृष्टिकोण र जिम्मेवारीप्रतिको समझदारीमा रुपान्तरण आवश्यक हुन्छ । यस्तो नेतृत्वले विद्यालयलाई केवल कार्य सम्पादनको स्थल होइन, संस्कार निर्माणको मञ्च बनाउँछ । नेतृत्व केवल पद होइन, चेतनाको एउटा तरंग हो—जहाँ विचार कर्ममा रूपान्तरित हुन्छ, र कर्म संस्कारमा । विद्यालयमा नेतृत्व हुनु भनेको समय व्यवस्थापन गर्नु मात्र होइन; भविष्यको सम्भावनालाई वर्तमानमा घोल्ने गहिरो साधना हो । शिक्षामा नेतृत्व त्यो दीप हो, जुन आफैँ जल्दै अरूलाई उज्यालो दिन्छ । तर जब नेतृत्व केवल व्यवस्थापकीय औपचारिकतामा सीमित हुन्छ, तब विद्यालय व्यवस्थाको ढाँचामा त बाँच्दछ, तर आत्मामा सुकेर जान्छ । त्यसैले साँचो नेतृत्व त्यो हो, जसले शिक्षकमा प्रेरणा, विद्यार्थीमा आत्मविश्वास, र अभिभावकमा भरोसा भरिदिन्छ । नेतृत्वले दृष्टि दिन्छ, गति दिन्छ, र गहिरो उद्देश्य दिन्छ । त्यसैले शिक्षा क्षेत्रको रूपान्तरणको मुटु नै नेतृत्वको पुनर्निर्माणमा निहित छ । त्यसैले सामुदायिक विद्यालयमा यस्तो नेतृत्व जरुरी हुन्छ, जो विधिमा मात्र होइन, मूल्यमा बाँच्न जान्दछ; जो नीति बनाउने मात्र होइन, संस्कार बोक्दछ; जो बोल्छ मात्र होइन, सुन्छ, महसुस गर्छ र रूपान्तरणमा विश्वास गर्छ । त्यस्तो नेतृत्व जसले “विद्यालयलाई कार्यालय” होइन, “संस्कारशाला” ठान्छ—त्यहाँबाट मात्र शैक्षिक रूपान्तरण सुरु हुन्छ ।

३. शिक्षण–सिकाइ प्रक्रियाको पुनरावलोकन

रूपान्तरणको आत्मा शिक्षण–सिकाइ प्रक्रियामै निहित हुन्छ । सामुदायिक विद्यालयहरूमा आज पनि परम्परागत, रटाइमुखी, परिक्षामुखी पठनपाठन विधि प्रचलनमा छ । अब समय आएको छ, जहाँ शिक्षण प्रक्रियालाई बालमैत्री, खोजमुखी, परियोजनामूलक र जीवनोपयोगी बनाउनुपर्नेछ । शिक्षा तब मात्र प्रभावकारी हुन्छ, जब विद्यार्थीले प्रश्न गर्न सिक्छ, अनुभव गर्न सिक्छ र समाजमा प्रयोग गर्न सक्ने क्षमता विकास गर्छ । त्यसका लागि शिक्षकलाई प्रशिक्षक मात्र होइन, सहयात्री, सृजनशील मित्र र अभिप्रेरक बनाउन सक्नुपर्छ ।

शिक्षण–सिकाइ केवल सूचना हस्तान्तरण होइन, त्यो चेतना जागरणको प्रक्रिया हो । यो त्यो सम्बन्ध हो, जहाँ शिक्षक ज्ञानको माध्यम बन्ने होइन, यात्रासाथी बन्नुपर्दछ । विद्यार्थी केवल परीक्षा उत्तीर्ण गर्न होइन, जीवन बुझ्न सहभागी बन्नपर्दछ । तर, विगतका दशकहरूमा सिकाइ प्रक्रिया व्यवहारभन्दा पाठ्यपुस्तक केन्द्रित, अनुभवभन्दा अङ्क केन्द्रित हुँदै गयो । समस्याको जड यहीनेर हो । फलस्वरूप शिक्षालयहरू जीवनभन्दा पृथक ‘पाठशाला’ मात्रै बन्न पुगे । रूपान्तरणको खाँचो यहीँनेर छ— हामीले शिक्षणलाई केवल ‘पाठ दिनु’ भन्ने संकुचित परिभाषाबाट मुक्त गर्नुपर्छ । शिक्षण जीवनसँग संवाद हो; जहाँ शिक्षकले प्रेरणा दिन्छ, विद्यार्थीले खोज्छ, प्रश्न उठाउँछ, असहमति जनाउँछ र अन्ततः आफूले आफैलाई चिन्ने प्रयास गर्छ । प्रधानाध्यापकले सिकाई क्रियाकलापलाई यस किसिमको अभ्यासमा लानसकेमा सामुदायिक विद्यालयको रुपान्तरण सम्भव छ । किनभने अन्ततः शिक्षा त्यो हो, जसले ज्ञान मात्र होइन, विवेक, करुणा र उत्तरदायित्व पनि जन्माउँछ ।

४. समुदायसँगको पुनःसम्बन्ध

सामुदायिक विद्यालयको नाममा “समुदाय” रहेको छ, तर व्यवहारमा समुदायलाई टाढा पारिएको छ । समुदायलाई केवल शुल्क तिर्ने वा भवन बनाउने जिम्मेवार बनाउने होइन; विद्यालयको शैक्षिक निर्णयमा सहभागी बनाउनु, मूल्याङ्कन प्रक्रिया भित्र्याउनु र अभिभावकको सक्रियता बढाउनु आवश्यक छ । विद्यालयले समुदायसँग आत्मीय सम्बन्ध विकास गर्न सक्नुपर्छ—जहाँ विद्यालयले समुदायलाई शिक्षा दिन्छ र समुदायले विद्यालयलाई ऊर्जा दिन्छ । यस्तो अन्तरसम्बन्धले मात्र सामुदायिक विद्यालयहरूलाई साँचो अर्थमा ‘समुदायको विद्यालय’ बनाउँछ ।

५. मूल्य–आधारित शिक्षा ः मानवतावादी पुनर्जागरण

साँचो रूपान्तरण त तब सम्भव हुन्छ, जब शिक्षा केवल ज्ञानको सञ्चार होइन, मूल्यहरूको संवाहक बन्न सक्छ । आजको शिक्षाले विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन खोज्छ, तर करुणामय, सहिष्णु, र विवेकशील बनाउने दिशामा कमजोर देखिन्छ । हामीलाई यस्तो शिक्षा चाहिएको छ, जसले बालबालिकालाई केवल सफल बनाउने होइन, सच्चा मानव बनाउने अभ्यास गराओस् । शिक्षा मानवताको खेती हो—जहाँ सहअस्तित्व, आदर्श, अनुशासन र देशप्रेमको बीउ रोपिन्छ । यदि यसतर्फ समर्पित भावनाले नेतृत्व लिन सक्यो भने सामुदायिक विद्यालय नै यस्तो मूल्य–केन्द्रित शिक्षाको आधारभूमि बन्न सक्छन् ।

Views: 33

प्रतिक्रिया

सम्बन्धित खबर