काठमाडौँ । काठमाडौँ महानगर भित्रका सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने अभियान तीव्र रूपमा अघि बढाइएको छ । अब महानगरका सामुदायिक विद्यालयका अधिकांश कक्षाकोठामा स्मार्ट बोर्ड जडान गरिँदैछ, जसले शिक्षण–अधिगमलाई आधुनिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यस योजनाअनुसार विद्यार्थीहरू डिजिटल स्मार्ट बोर्डमार्फत नवीन र अन्तरक्रियात्मक ढङ्गले पढ्ने अवसर पाउनेछन्, भने शिक्षकहरूले पनि प्रविधिको प्रयोगसहित अध्यापन गर्न सक्ने सहज वातावरण निर्माण हुँदैछ ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन) का अनुसार यो पहल बालबालिकामाथिको दीर्घकालीन लगानी हो । उनले भने, “हाम्रा बालबालिकाहरू हाम्रो पहिलो प्राथमिकता हुन् । उनीहरूमा गर्ने लगानीले नै उनीहरूलाई विद्यालय, समाज र देशप्रति गर्व गर्न सक्ने आधार तयार गर्छ । यस अभियानमा सबैको सहभागिता र सहयोग अपरिहार्य छ ।”
शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार महानगरले स्मार्ट बोर्ड खरिदमा गुणस्तरलाई प्राथमिकता दिएको छ । उनले भने, “विद्यालयहरूलाई खरिदका लागि बजेट पठाइएको छ, तर गुणस्तर सुनिश्चित गर्न न्यूनतम मापदण्ड तोकिएको छ ।”
त्यस्तै, सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले अहिलेको युग प्रविधिको युग भएकाले विद्यालयका कक्षाकोठा पनि डिजिटल बन्नु अपरिहार्य भएको बताए । “चक र डस्टरको परम्परागत विधिबाट मात्र शिक्षामा गुणात्मक सुधार सम्भव छैन । स्मार्ट बोर्डले विद्यार्थी र शिक्षक दुवैमा उत्साह, सक्रियता र सिर्जनशीलता बढाउनेछ,” उनले बताए ।
महानगरका वरिष्ठ शाखा अधिकृत तथा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका फोकल पर्सन सुशील सुवेदीका अनुसार, स्मार्ट बोर्डको आकार प्रत्येक कक्षाकोठाको परिमाण र विद्यार्थी संख्याका आधारमा निर्धारण गरिएको छ । विद्यालयहरूले पठाइएको बजेटको १ प्रतिशत रकम प्रयोग गरी लागत अनुमान र प्राविधिक विवरण तयार गर्न पाउने व्यवस्था गरिएको छ । “जस्तो पायो त्यस्तै बोर्ड खरिद नहोस् भन्ने उद्देश्यले विद्यालयकै टेक्निकल टिममार्फत परीक्षणको व्यवस्था मिलाइएको छ,” उनले स्पष्ट पारे ।
विद्यालयहरूलाई खरिदमा स्वायत्तता दिइए पनि गुणस्तर र पारदर्शिता कायम राख्न शिक्षा विभाग, सूचना प्रविधि विभाग र सहरी योजना आयोगको संयुक्त टोलीले खरिददेखि प्राविधिक परीक्षणसम्मको सम्पूर्ण प्रक्रिया अनुगमन गर्नेछ ।
गत आर्थिक वर्षमा ३१३ वटा स्मार्ट बोर्ड विद्यालयहरूमा वितरण भइसकेका छन्, भने यस वर्ष थप ५७० बोर्ड जडान गर्ने तयारी छ । यसअघि नै १७७ बोर्ड जडान भइसकेकाले अब जम्मा १,०६० वटा स्मार्ट बोर्ड सञ्चालनमा आउनेछन् ।
महानगरले ठूला र धेरै सेक्सन भएका विद्यालयका ८० प्रतिशतभन्दा बढी कक्षाकोठामा स्मार्ट बोर्ड जडान हुने अपेक्षा गरेको छ । बाँकी कक्षाहरूमा आगामी वर्ष बजेट विनियोजनमार्फत विस्तार गरिनेछ ।
‘गरिखाने शिक्षा, महानगरको इच्छा’ शीर्षकअन्तर्गत महानगर गौरव योजनामार्फत सञ्चालन गरिएको यो अभियानबाट करिब ५३ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ ।
स्मार्ट बोर्ड जडानसँगै काठमाडौँका सामुदायिक विद्यालयमा अध्यापन शैली र सिकाइ वातावरणमा मौलिक परिवर्तन आउने महानगरको विश्वास छ ।


