नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालय र नेपाल इञ्जिनियरिङ परिषद् बीच इञ्जिनियरिङ शिक्षाको अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्न सहकार्य सम्झौता भएको छ । नेपालका विश्वविद्यालयबाट उत्पादन हुने इञ्जिनियरहरूलाई वासिङ्टन एकर्ड (Washington Accord) का मापदण्डअनुसार विश्वव्यापी रूपमा रोजगारी, अध्ययन र व्यावसायिक दर्तामा मान्यता दिलाउने उद्देश्यका लागि याे सम्झाैता गरिएकाे हाे ।
सम्झौतापत्रमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिनोदप्रसाद ढकाल र परिषद्का अध्यक्ष प्रा. डा. पद्मबहादुर शाहीले हस्ताक्षर गरेका छन् । उपकुलपति डा. ढकालका अनुसार यो सम्झौता नेपाल इञ्जिनियरिङ परिषद्को पहलमा गरिएको हो, जसले नेपाली इञ्जिनियरलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सशक्त बनाउनेछ ।
सम्झौता समारोहमा विश्वविद्यालयका इञ्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज के.सी., परिषद्का रजिष्ट्रार इञ्जिनियर ध्रुबराज भट्टराई लगायतका अधिकारीहरूको उपस्थिति थियो ।
नेपालगन्जमा लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको यो विश्वविद्यालयले हाल विभिन्न प्राविधिक कार्यक्रम सञ्चालन गरिरहेको छ । स्नातक तहमा बिटेक इन आइटी, बिटेक इन सीएस एण्ड एआई, बिटेक इन सिभिल इञ्जिनियरिङ र बिटेक इन आइटी इञ्जिनियरिङ गरी चार कार्यक्रम सञ्चालनमा छन् भने, स्नातकोत्तर तहमा एमटेक इन आइटी र एमटेक इन सीएस गरी दुई कार्यक्रम सञ्चालनमा छन् ।
यो सहकार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयको इञ्जिनियरिङ शिक्षा गुणस्तर वृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी इञ्जिनियर तयार पार्ने अपेक्षा गरिएको छ ।


