EduPress
'

शिक्षक, प्राद्यापकलाई शिक्षामन्त्री पुनको थप चेतावनी

Author Image
सोमवार, कार्तिक २४, २०८२
Education Ministry Mahabir pun
Text Size:

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार जारी गरेकोे विज्ञप्तिका बारेमा व्यापक आलोचना भएपछि थप स्पष्टीकरण दिएका छन ।

आइतबार मन्त्री पुनले आफ्नै हस्ताक्षरमा एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै शिक्षक, प्राध्यापक र कर्मचारी संघ संगठनहरुलाई राजनीतिमा लागेको थाहा पाए खारेज लगायतका कारवाही गर्ने चेतावनी दिएका थिए । मन्त्री पुनको यो विज्ञप्तिपछि धेरैले संवैधानिक अधिकार हनन् गर्न खोजेको भन्दै आलोचना गरेका थिए ।

शिक्षकहरूका सङ्घ संगठनलाई मान्यता नदिने भन्दै ध्यानाकर्षण गराएपछि नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी समेतले संविधानको धारा ३४, श्रम ऐन, शिक्षा ऐन, शिक्षा नियमावली पढ्न  शिक्षामन्त्रीलाई सुझाव दिएका थिए ।

सोमबार बिहान सामाजिक सञ्जालमा एकपोष्ट लेख्दै मन्त्री पुनले संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने तर राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र बिश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरुको भविष्यसँग खेलवाड गर्न नपाईने बताएका छन् ।

मन्त्री पुनले सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेल भएको बारे विद्यार्थी र अविभावकहरुको गुनासो र उजुरी सुनेर सो सूचना प्रकाशित गरिएको स्पष्ट पारेका छन् ।

साथै उनले सबैलाई फागुन २२ गते हुने ‘निर्वाचनको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कूलमा पठन पाठन गर्न नछोड्न’ अनुरोध गरेका छन् । यदि राजनीतिक दलका गतिविधिमा लागेकाे पाइए कडा कारवाही गर्ने उनलेे चेतावनी दिएका छन् ।

यस्तो छ मन्त्री पुनको पूरा स्टाटस

‘मैले हिजो जारी गरेको सूचनाको बारेमा ( संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन। तर राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र बिश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्न पाईने छैन भनेर सुचना गरेको हो। सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरु र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर सो सुचना प्रकाशित गरिएको हो । त्यस्तो अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो। सो सम्बन्धि सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरु पनि हेर्नुहोला। अब फाल्गुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने बिनम्र अनुरोध छ। ‘नविराउनु नडराउनु’ भन्ने नेपाली उखान छ नि त।’

प्रतिक्रिया