EduPress
'

पिएचडी, जागिर र जिन्दगीका जिवन्त अनुभूती

Author Image
बुधवार, मंसिर १७, २०८२
Text Size:
  • लेखक

    डा. विष्णु कुमार खड्का

पढ्नु अनि पढाउनु; सिक्नु अनि सिकाउनु जिन्दगीका जिक्री छन् अहिले l पढाईसँगको मेरो साइनो घरतिर भन्दा मावलीतिरकोबाट जोडिएको हो । मेरा मामा घरका हजुरबा र मामाहरू मेरा पढाइ यात्राका मुख्य प्रेरणा र अंशियार हुन् । उसो त मेरो अक्षराम्भ नै मामा घरमा भएको हो । मामाघरका हजुरबा स्व. प्रेम बहादुर थापा, दैलेख जिल्लाको साविक बडाभैरव, हाल भगवतीमाइ ७ तप्लुङ गाउँका मुखिया हुनुहुन्थ्यो । तिनताका लेखापढी गर्न सक्नु अहिलेको विद्यावारिधि गर्नुभन्दा नि उपल्लो डीग्री थियो । उहाँको त्यो मान, सम्मान र इज्जत मेरो बाल मानसपटलमा गहिरोसँग गढेको थियो । सम्झिदा उहाँको त्यो विद्वतासँग मेरो विद्यावारिधिको उपाधि फिक्का लाग्छ । हजुरबाको प्रेरणा र मामाहरुको लगानी र लगावले मैले अक्षरहरुसँगको अंकमाल कसिलो बनाउदै जाने मेसो पाए र मेलो पसे ।

मेरा बा आमा अक्षरहरूको भद्रगोलबाट मुक्त थिए । म सम्झिन्छु, दिनभरी मेलापात र अर्मपर्म भ्याएर खानापछि बा-आमा दियालो बालेर बाह्रखरीका रङ्गीन अक्षरहरूमा मसँगै रनभुल्ल हुन्थे । अक्षर र अङ्कको आनीबानी र जिउडालसँग खासै मेसो नपाए पनि मुखले सुल्टो उल्टो सबैतिरबाट कण्ठस्त वाचनकला मेरा बाको अहिले पनि उत्तिकै लोभलाग्दो छ । माइला मामा मानबहादुर थापा र साइला मामा भोगबहादुर थापा एसएलसी पास भएपछि उहाँहरूको प्रशंसा र नाकको उचाई त्यो मोहल्लाभरी चर्चाको शिखरमा थियो । कान्छा मामा भक्तबहादुर थापा कक्षा १ देखि नै प्रथम हुँदै स्कूल फस्टसम्म हुने भएकोले हजुरबाले उमेरले कान्छा मामाको नजिकै भएकोले मलाई जिम्मा लाइदिनु भयो । उहाँले त्यो जिम्मा मेरो विद्यावारिधीसम्मको पढाईसम्म निभाउदै गर्नुभयो ।

कक्षा ५ सम्मको प्रथामिक तहको अध्ययन आफ्नै गाउँको विद्यालय नेपाल राष्ट्रिय आधारभूत विद्यालय तप्लुङ्गमा पढेर कक्षा ६ देखि अध्ययन गर्न एक घण्टाको बाटो हिडेर भैरव निमावि हालको भैरव नमूना मावि खोर जानुपर्ने भयो । त्यो विद्यालयमा गएपछि यता तप्लुङ्गको आफ्नो विद्यालयबाट कक्षा ५ मा प्रथम भएको उता निमावि खोरको प्रथम विद्यार्थी मित्र तिलक वीर विश्वकर्मा हुनुहुन्थ्यो । उहाँ अत्यन्तै मेधावी र मेहेनेती भएकोले मलाई पनि प्रतिस्पर्धामा उत्रिनुपर्ने भयो । मेरो प्रथम हुने हुटहुटी र उहाँले प्रथमको पदवी जोगाइराख्ने दबाबले गर्दा हामी दुबैको पढाई र सहपाठी अन्य साथीहरूको पढाइ राम्रो हुँदै गयो । संयोगले हाम्रै पालामा कक्षा १० सम्म त्यही विद्यालयमा पढ्ने अवसर प्राप्त भयो र एलएलसी भने ज्वाला मावि वेस्ताडा दैलेखबाट परीक्षामा सहभागी भइयो । मध्य असारमा रोपाइको चटारोमा भएको एसएलसीको नतिजा एक हप्तापछि जानकारी भए अनुसार प्रथम श्रेणीमा उत्तीर्ण भएको रहेछु । त्यसको पनि खुबै चर्चा थियो । एक महिनापछि फेरि अर्को रहस्य पत्ता लाग्यो त्यो वर्षको एसएलसीको नतिजामा म नै जिल्ला प्रथम भएको रहेछु । गुरूहरू, अग्रजहरू अनि शुभचिन्तक सबैको सुझाव थियो विज्ञान विषय लिएर पढ्ने र डाक्टर बन्ने तर मेरो आफ्नो आर्थिक अवस्था त्यसको लागि जोहो गर्न सक्ने थिएन । कान्छा मामा सुर्खेत क्याम्पस शिक्षामा अँग्रेजी मेजर विषय लिएर पढिरहनु भएको थियो l घर सल्लाह जुट्यो । मामासँगै सुर्खेत जाने । सँगै बस्ने । अँग्रेजी पढ्ने । मामाकै किताव पढ्ने । अँग्रेजी पढेर विदेशी कुइरेहरूहरूसँग अंग्रेजीमा कुराकानी गर्ने । के के हो के के । म खुसीले गदगद भएको थिए ।

सुर्खेत क्याम्पस (शिक्षा) बाट म प्रविणता प्रमाण पत्र तह प्रथम श्रेणीमा उत्तीर्ण भए । कान्छा मामा स्नातक तह उत्तीर्ण भएपछि अँग्रेजी स्नातकोत्तर तह अध्ययन गर्न काठमाडौँ जानुपर्ने भयो । मेरो सौभाग्य फेरि म उहाँसँगै काठमाडौँ स्नातक पढ्न जाने भए । मामा अँग्रेजी केन्द्रीय विभाग किर्तिपुरमा स्नातकोत्तर तहमा भर्ना हुनुभयो । मेरो चै महेन्द्ररत्न क्याम्पस तहाचालमा स्नातक पढ्ने मेसो मिलाइदिनु भयो । बिहान म कीर्तिपुरको लाउडा बस चढेर ताहाचल जान्थे पढ्न । दिउसो मामासँगै कीर्तिपुरमा सुटुक्क स्नातकोत्तर तहको कक्षाको पछाडिको बेन्चमा लुकेर गुरुहरूका लेक्चर सुन्थे । मामाका गुरुहरू पछि मेरा पनि गुरूहरू नै हुनुभयो– प्रा.डा. शिशिर कुमार स्थापित, प्रा.डा. जयराज अवस्थी, प्रा.डा. शान्ति बस्न्यात, प्रा.डा. गोविन्दराज भट्टराई आदि । उहाँहरुले पढाउने विषयवस्तु बुझ्ने भन्दा पनि अंग्रेजीको रसमा म भुले । घरमा मामालाई सोधे यो नामको अगाडि प्रा. डा. किन लेखेको हो मामा ? मामाले भन्नुभएको थियो- प्रा. भनेको प्राध्यापक हो । डा. भनेको डाक्टर हो । सबैभन्दा माथिल्लो पढाई– पीएचडी हो । त्यो भ्रुण मेरो मानसपटलमा त्यतिबेला नै बसिसकेको थियो ।

मामाको स्नातकोत्तर सकियो । मेरो स्नातक सकियो । हामी घरतिर फर्कियौ । जागिर भेटिएन । गाउँमा एक घर एक पूर्णकालीन अभियान थियो । हामीलाई दैलेख बजार लखेटियो । दैलेखमा अँग्रेजी भाषा र ट्युसन पढाएर जोहो गरियो । मामा उपल्लो कर्णाली पस्नु भयो जागिरको खोजीमा । अहिले पनि हुम्लामा अँग्रेजी सिकाइरहनु भएको छ । म बचेखुचेको बोकेर फेरि काठमाडौँ हानिए । स्नातकोत्तर सकेर फेरि जागिर खोजियो । म पनि हुम्ला बसे केही समय मामासँगै प्राचार्य भएर । पछि आईएडसँगै पढेको साथी पार्वती पोखरेलसँग सुर्खेतमा भेट भयो । केही समयपछि हामी जीवनसाथीमा रुपान्तरण भयौ । त्यसपछि सुर्खेतमा जागिरको खोजी भयो । बोर्डिङ स्कूल, सरकारी स्कूल, उच्च मावि, क्याम्पसमा आंशिक शिक्षक हुँदै भौतारिइयो । त्यहिबेला मध्यपश्चिम विश्वविद्यालय स्थापना भयो । शिक्षाशास्त्र संकायमा कार्यक्रम संचालन गरेर स्थापनाकालीन शिक्षक हुने अवसर प्राप्त भयो । केही समय आंशिक शिक्षक भएर पूर्णकालीन करार काम गर्दै गर्दा त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि तहमा भर्ना खुलेको सूचनाप्राप्त भयो । भर्नाका सबै प्रक्रिया पूरा गरेर अभिमुखीकरण क्लास लिएर बैधानिक विद्यावारिधि तहको विद्यार्थी भइयो । त्यो तह पार पाउन गुरू खोज्नु पर्ने । रोज्नुपर्ने । सजिलो थिएन । ठूलो साहस बटुलेर प्रा.डा जयराज अवस्थी गुरुको आश्रम हात्तीवन पुगेर सपनाको पोको खोले । खुसी भएर उर्जा र हौसला थपेर फुरुङ्ग पारेर फर्काउनु भयो गुरुले । डीन कार्यालय पुगेर सुपरीक्षक कन्फर्म गरेर जागिरमा फर्के सुर्खेत ।

जागिर र जिन्दगी भर्खरै जोडेको । जोगाउन हैरान भयो । जागिर बिहान पढाउनेसँगै दिउसो उपकुलपति र रजिष्ट्रारको कार्यालयमा सचिवालयमा काम गर्नुपर्ने गरी तत्कालिन रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले काज सरुवा भएको जानकारी गराउनु भयो । अनेक गर्नुपर्ने रहेछ । विद्यार्थीका आन्दोलन । प्राध्यापक कर्मचारीका आन्दोलन । वार्ता । छलफल । त्यसैमाथि विश्वविद्यालयको सूचना अधिकारीको थप जिम्मेवारी आयो । देश विदेशका निकाय तथा व्यक्तिहरूसँगको समन्वय र पत्राचार आदि अनेकन । यता घरमा पहिलो सन्तानको रूपमा छोरी स्प्रिहाको जन्म भइसकेको थियो । जागिर र छोरीको तनावले पार्वतीजी हैरान । त्यसै माथि नेपाल अँग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतको जिल्ला अध्यक्षको जिम्मेवारी आयो । केही वर्ष त विद्यावारिधी ‘वि’ पनि सम्झिन सकिन । केही मेसो पाइन् । गुरु आश्रममा जान सकिन । जागिर र जिजिविषाको जन्जालमा जकडिए ।

मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगले खुल्ला विज्ञापन गरेको थियो । परीक्षाको दिन कुर्दाकुर्दै हैरान भइयो । झन्डै तीन वर्षपछि परीक्षा हुने भयो । त्यो बेला बिदा मागेर पढ्न काठमाडौँ हानिए केही समय । त्यहिबेला विद्यावारिधीको शोध प्रस्तावपत्र तयार गरेर गुरुसँग बसेर पार लगाए । डीन कार्यालयमा पेस गरे । लिखित परिक्षामा सफल भएपछि अन्तर्वार्ता फेरि काठमाडौँमै हुने भयो । त्यहीबेला विद्यावारिधीको शोध प्रस्तावपत्रको मौखिक भाइभा पनि भयो । स्थायी उपप्राध्यापकको नतिजा पनि पक्षमै आयो । अनि फेरि गुरु आश्रममा केही दिन बसे । अगाडिको बाटो तय गरेर सुर्खेत फर्के । तत्कालिन उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला सरसँग विदाको बिन्ती बिसाए । परिक्षण काल सकिनासाथ पक्कापक्की भनेर उर्जा भर्नुभयो । फुरुङ्ग हुदै अलिअलि पीएचडी कोट्याएर बसे । मेरो जागिरको परिक्षणकालसँगै भिसी सरको कार्यकाल सकिदै थियो । उहाँले विदाको साटो शिक्षाशास्त्र सङ्कायको सहायक डीन जिम्मा दिएर जानुभयो । अब फेरि विद्यावारिधीले मतिर हेरिरह्यो । मैले अरु नै केही हेर्नुपर्ने भयो । यात्रा जाम भयो । तै पनि कोट्याउन छोडिन । तथ्याङ्क आफ्नै विश्वविद्यालयभित्रै भएकोले फुर्सदमा तथ्याङ्क सङ्कलन कार्य सके ।

तथ्याङ्क सङ्कलन कार्य जारी थियो कोभिड -१९ आयो । दुनिया त्राही त्राही भयो । जिउ ज्यान जोगाउन मुस्किल भयो । पढ्ने भन्दा पनि बाँच्ने कुरा प्रधान भयो । खासै उत्साह उत्पन्न भएन । गति धिमा नै भयो । अनलाइन र वैकल्पिक शिक्षाको माध्यमको बहस छेडियो र विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरूलाई व्यवस्थित गर्न लागियो । त्यै पनि तथ्याङ्कको कोडिङ, डीकडिङ लगायत सफ्टवेयरमा इन्ट्री जस्ता काम गरेर बसियो । नयाँ उपकुलपतिको रूपमा प्रा.डा. नन्दबहादुर सिंह सर आउन साथ उहाँसँग पनि त्यही विदाको बिन्ती बिसाएको थिए । उहाँले पदीय जिम्मेवारी सकिनासाथ दिने प्रतिबद्धता गर्नुभयो र भयो पनि । त्यही बीचमा दक्षिण कोरिया सरकारले ग्लोबल कोरिया स्कलरसिप खोलेको थियो । विशेष आवश्यकता शिक्षा विषयमा नेपालमा दुई कोटा भएकोले आवेदन दिएकोमा छनौट हुने काम भयो । फेरि गुरुसँग पुगेर अर्को अनुरोध गर्नुपर्ने भयो । भएको काम देखाए । सकेर डीन कार्यालयमा ड्राफ्ट बुझाएर कोरिया जाने योजना जसैगरी काम गरे पनि सकिएन । यो अत्यन्तै प्राविधिक र साधनयुक्त कार्य रहेछ । म कोरिया गए । गुरु अमेरिका जानुभयो । मेरो विद्यावारिधि यतै थन्क्यो ।

कोरिया पुगेको केही महिनामै बिहान कोरियन भाषा पढ्थे । दिउसो बुसान युनिभर्सिटी अफ फरिन स्टडीजको अत्यन्तै आधुनिक र सुविधासम्पन्न पुस्तकालयमा गएर अध्ययन गर्ने अवसर पाए । त्यही बसेर मेरो बाँकी विद्यावारिधिको लेखन कार्य सुरुवात गरे । लेख्दै गुरुलाई इमेल गर्दै करेक्सन र पृष्ठपोषण प्राप्त भए अनुसार सुधार गर्दै झन्डै दश महिनापछि साढे ६ सय पृष्ठको ड्राफ्ट तयार गरे । गुरु अमेरिकाबाट र म कोरियाबाट फर्केपछि त्यो ड्राफ्टमा काम सुरु भयो । कयौ पटक त्यसमा गुरुले कार्य गराउनु भयो । डीन सर, सहायक डीन सर, आन्तरिक र बाह्य परीक्षक, अनुसन्धान समितिका सदस्यहरुको सुझाव र सुपरीवेक्षकको निरन्तरको सहयोगले म यो गन्तव्यको निष्कर्षमा पुगे । अनुसन्धान तहको केही ज्ञान सीपको सुरुवात भएको अनुभूति भएको छ । धेरै गर्नुपर्ने छ । यो एक सहकार्यात्मक प्राज्ञिक कार्य हो । यसमा साधना र सहकार्य गर्न सक्ने कौशल आवश्यक पर्छ । उपाधी भन्दा पनि उपयोगिता अधिक महत्वपूर्ण छ ।

कर्णालीका दुर्गम हिमाल, पाखा–पखेरामा अक्षरको दियालो जत्तिकै सानो प्रकाश बोकेर सुरु भएको मेरो साधनाको यात्राले आज विद्यावारिधी उपाधिको रूप पाएको छ । यो उपाधि कुनै व्यक्तिगत गौरवको शिखर मात्र होइन, कर्णालीले भोग्दै आएको शैक्षिक अभाव, अवसरहीनता र संरचनागत व्यवस्थालाई पार गर्दै हासिल गरिएको सामूहिक धरोहर हो । मेरो उपाधिको लागि धेरै व्यक्ति र संस्थाले सुखानुभूति गरेर सम्मान र थप उर्जा र आशिर्वाद दिए । म आभारी छु । त्यो भरोशा कायम राख्न मलाई हम्मे हम्मे छ । शिक्षण–अधिगमका प्रत्येक मोडमा मैले देखेको चुनौती, ग्रामीण बालकको सङ्घर्ष, शिक्षकको समर्पण, समाजको अपेक्षा र शैक्षिक संस्थाहरूको रूपान्तरणीय सम्भावनाले मेरो अनुसन्धानलाई मात्र होइन, मेरो जीवन–दर्शनलाई नै नयाँ आयाम दिएको छ । यही यात्राबाट मैले बुझेँ—शिक्षा डिग्रीले होइन, दायित्वले थोरै–थोरै भएर पनि समाजको चेतना बदल्ने शक्ति बोकेको हुन्छ। कर्णालीका पीडाहरूलाई बुझेर, देशका विश्वविद्यालयहरूको आत्मसुधार आवश्यकता पहिल्याएर र राष्ट्रिय उच्च शिक्षा प्रणालीलाई दीर्घकालीन दृष्टि दिन सकेमा मात्र ज्ञानको अर्थ पूर्ण हुनेछ ।

हाल म यो उपाधिको जगमा मध्यपश्चिम विश्वविद्यालयको नेतृत्व (उपकुलपति प्रा.डा.ध्रुवकुमार गौतम र रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेल सहित) ले जुन विश्वास र भरोसाले योजना, विकास तथा अनुगमनको जिम्मेवारीमा छु, त्यसले आज मेरो भूमिकालाई अझ विस्तृत, उत्तरदायी र समाजपरिवर्तनमुखी बनाएको अनुभूति भएको छ । उच्च शिक्षामा रणनीतिक योजना, संस्थागत सुधार, डिजिटल र समावेशी शिक्षाका संरचना, तथा अनुसन्धानमैत्री वातावरण निर्माणमा योगदान गर्दै म आफूलाई राष्ट्रको समृद्धि–यात्राको सहभागीका रूपमा देख्दछु । कर्णाली जस्तै चुनौतीहरूसँग जुधिरहेकाहरूका लागि उच्च शिक्षा अवसर होइन, उत्प्रेरणा बन्नुपर्छ भन्ने भावना अब मेरो प्रत्येक योजनाको आधार बनेको छ । यो उपाधिले मलाई नयाँ पदवीभन्दा अधिक, एउटा मार्गदर्शक चेतना दिएको छ- शिक्षा समाज रूपान्तरणको मूल ऊर्जा हो, र समावेशी, गुणात्मक र दिगो उच्च शिक्षा प्रणाली निर्माण नै देशको दीर्घकालीन विकासको मेरुदण्ड हो । त्यसैले, मेरो यात्राको मूल सार यही छ कि – व्यक्तिगत उपलब्धि भन्दा पनि राष्ट्रको विकास र समृद्धि सँगै उच्च शिक्षा प्रदायक शैक्षिक संस्था र कर्णालीका दिव्य पहाडहरूमा बसोबास गर्ने प्रत्येक नागरिकको उज्यालो भविष्यसँग जोडिँदा मात्र सार्थक हुनेछ ।

(लेखक मध्यपश्चिम विश्वविद्यालयका कार्यकारी निर्देशक हुनुहुन्छ)

प्रतिक्रिया

सम्बन्धित खबर