पाल्पा । विद्यालयमा शिक्षक अभाव भएपछि पदपूर्ती गर्न आठौंपटक दरखास्त आह्वान गर्दा पनि पाल्पाको एक विद्यालयले शिक्षक पाउन सकेको छैन ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ५ मा कोलडाँडामा रहेको बुद्ध विकास माध्यमिक विद्यालयले शिक्षकका लागि नवौं पटक विज्ञापन आह्वान गरेको छ ।
विद्यालयले एक जना गणित शिक्षकका लागि नवौ पटक विज्ञापन गरेको हो । यसअघि ८ पटक विज्ञापन गर्दा पनि कसैले दरखास्त नदिएको बताइएको छ । नेपाल सरकारले तोके वमोजिमका सबै सेवा सुविधा दिने गरी माध्यमिक तृतीय तहमा शिक्षक पदपूर्ती गर्न लागिएको विद्यालयले जनाएको छ ।
तिनाउ गाउँपालिका गाउँ कार्यपालिकाको अनुमति र विद्यालय व्यवस्थापन समितिको निर्णय वमोजिम विद्यालयले संघीय अनुदान अन्तर्गत रहने गरी मंसिर १७ गते विज्ञापन निकालेको छ । विद्यालयले मूल विषय गणित लिई स्नातक तह वा सो सरह उत्तिर्ण गरेका उम्मेदवारले दरखास्त दिनसक्ने जनाएको छ ।


