- जगत वाशिष्ठ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का कारण त्रिभुवन विश्वविद्यालयमाथिको अतिक्रमण झनै बढेको छ । देशको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयमाथिको हस्तक्षेप र अतिक्रमण बढिरहँदा ‘जेनजी’ सरकार भने कानमा तेल हालेर सुतेको छ । विश्वविद्यालयको पठनपाठनमा गम्भीर असर पर्नुका साथै आफ्नो सम्पति अरुले कब्जा गर्दै गरेको दृष्य टुलुटुलु हेरेर विश्वविद्यालयका पदाधिकारी मुर्झाइरहेका छन् । यतिसम्म कि एक समूहले विश्वविद्यालयमा डोजर चलाएर मनपरी व्यापार गर्दा पनि विश्वविद्यालयलाई थाहा छैन । प्रहरी प्रशासन निरिह बनेर हेरिरहेकाे छ । त्रिवि परिसर कब्जा गरेर धमाधम स्टलहरु बनाइ भाडामा उठाउन थालिएको छ । अध्ययन, अनुसन्धान र बौद्धिक अभ्यास हुने विश्वविद्यालयमा अहिले पान, चटपटेदेखि पेय पदार्थहरुले भरिएका व्यापारिक स्टलहरु बढ्दै गएका छन् र रमिता लागिरहेको छ । तर, यसको न त ‘जेनजी’ सरकारलाई मतलव छ, न त त्रिवि पदाधिकारीहरुलाई नै ।
त्रिवि क्रिकेट मैदानमा चलिरहेको एनपीएलका कारण विश्वविद्यालयको पठनपाठन मात्र ठप्प भएको छैन, अध्ययनरत विद्यार्थी, कार्यरत कर्मचारीहरुमाथि हातपात समेत हुने गरेको छ । अहिले विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारीहरु विश्वविद्यालयमा जान समेत डराउनुपर्ने अवस्था आएको छ । उनीहरुलाई त्रिवि गेटबाट आवत जावत गर्न समेत प्रतिबन्ध लगाइएको छ ।
एनपीएलका कारण सबैभन्दा बढी असर अहिले क्रिकेट मैदान नजिकै रहेको त्रिवि आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल परेका छन् । जब त्रिवि आयुर्वेद क्याम्पसमा पढाइ हुन्छ, क्याम्पसको ठिक पछाडि पट्टी ठूलो आवाजका साथ होहल्ला, हुटिङ हुन्छ र चर्को साउन्डमा बाजागाजा बजाउन थालिन्छ । त्यसैगरी त्रिवि आयुर्वेद अस्पतालमा उपचार गर्न आउने विरामीहरु समस्यामा परेका छन् ।
त्रिवि आयुर्वेद क्याम्पस र आयुर्वेद अस्पतालको परिसर जवरजस्ती कब्जा गरेर मनपरी भाडा उठाइएकाे छ । क्याम्पस र अस्पतालका अधिकारीहरुलाई धम्की दिएर, हुलदंगा गरी एनपीएल चलेदेखि नै परिसर कब्जा गरी भाडा उठाउन थालिएको हाे । यसले अध्ययन, अध्यापन र अनुसन्धानको काममा त असर परेकै छ, क्याम्पस र अस्पताल प्रशासन आफ्नो स्वामित्वको जग्गा र सम्पति जोगाउन नसकेर डराएर हिड्नुपरेको छ । आफ्नो परिसर जोगाउन खोज्दा कुटाइ खानु परेको छ ।
त्रिवि परिसरभित्र चल्याे डाेजर, प्रहरी र क्रिकेट संघकाे भूमिका पनि शंकास्पद !
त्रिवि क्रिकेट मैदानमा मंसिर १ गतेदेखि नै एनपीएलका खेलहरु सुरु भयो । एनपीएल सुरु हुनुअघिदेखि नै विभिन्न समूहले एनपीएल र त्रिवि परिसर प्रयोग गरी कुन धन्दा चलाएर कसरी कमाउने भन्ने चलखेल सुरु गरिसकेका थिए । त्यसअघि नै करोडौका बार्गेनिङ र चलखेल सुरु भइसकेका थिए ।
त्यही क्रममा एउटा समूहले कीर्तिपुर विकास समाज बनायो र विश्वविद्यालयको जग्गामा रातारात डोजर चलायो । त्रिवि आयुर्वेद क्याम्पस र अस्पतालको अगाडिको परिसरमा डोजर चलाएर पूरै सम्यायो । आयुर्वेद क्याम्पस र अस्पतालका पदाधिकारी, शिक्षक, कर्मचारीले विरोध गर्दा उल्टै त्यहाँबाट उठाइदिने धम्की दिइयो । त्यसपछि त्यो समूहले विभिन्न चलखेल गरेर एनपीएलका आयोजक, त्रिविका केही स्वार्थी पदाधिकारी र प्रहरी प्रशासनसँग मिलेर त्रिवि गेटबाट छिर्ने भित्री बाटो बन्द गराउने, अरु कतै पनि पार्किङ गर्न नदिन राज्यकै प्रहरी परिचालन गर्ने गरी सेटिङ मिलायो । अनि सबैतिर ‘पार्किङ यता’ भन्ने इन्डिकेटर टाँस्दै लगेर त्यही आयुर्वेद क्याम्पस र अस्पतालको परिसरमा पुर्यायो ।
यति गर्दासम्म कसैलाई थाहा थिएन- यो कसले किन गरिरहेको छ भन्ने । तर, कीर्तिपुर विकास समाजको कार्ड भिरेकाहरुले ‘एनपीएलको पार्किङ भद्रगोल बनाउन नहुने’ भन्रे राम्रो नारामा भित्र करोड कमाउने कालो नियत कार्यान्वयन गरिरहेका थिए । ट्राफिक व्यवस्थापनको चर्को चटारो झेल्ने प्रहरी र एनपीएलका आयोजकले कालो नियततिर ध्यान दिएनन् । पार्किङ भद्रगोल हुन नदिएर व्यवस्थित बनाउने राम्रो नियत मात्रै हो भन्ने ठाने । सबै हुन दिइयो । सुरुका केही दिन पार्किङको सेटिङ गरेको समाजले अहिले त्यसभन्दा माथितिर रहेकाे त्रिविको जग्गामा समेत स्टलहरु बनाएर भाडामा लगाएको छ ।
जब मंसिर १ गते एनपीएलको उदघाटन सुरु हुने भयो, त्रिवि क्षेत्रमा ठूलो भिडभाड लाग्न थाल्यो । त्रिवि आयुर्वेद क्याम्पस र अस्पतालले आफ्नो परिसरभित्र कसैले पार्किङ गराउने योजना बुनेको थाहा पाए । त्यसपछि त्यहाँका कर्मचारीले गेट बन्द गरे । उनीहरूले दवावका वावजुत दिउसो दुई बजेसम्म गेट खोल्न दिएनन । तर, कीर्तिपुर विकास समाजले अझै ठूलो भिड लगेर हुलदंगा गर्न थाल्यो । तोडफोड गर्न थाल्यो । आयुर्वेद क्याम्पस र अस्पतालका पदाधिकारीहरुलाई धम्की दिन थालियो । त्यसपछि जवरजस्त गेट खोलियो र परिसरभरि सवारी साधनले भरियो । अनि कीर्तिपुर विकास समाजले परिचालन गरेका मान्छेहरुले प्रति मोटरसाइकल एक सय रुपियाँ र प्रति गाडी एक सय पचास रुपियाँका दरले शुल्क उठाउन थाले । प्रहरी प्रशासनले थाहै नपाई त्यो अवैध धन्दालाई साथ दियो । यी कार्यहरू राेक्न न त एनपीएलकाे आयाेजक नेपाल क्रिकेट संघ लागेकाे छ न त त्यस क्षेत्रकाे सुरक्षाकाे जिम्मा पाएकाे प्रहरी नै लागेकाे छ । उल्टै प्रहरीले आफ्नै अगाडि याे कार्य भइरहेकाे हेर्दै बसिरहेकाे छ । प्रहरीले त्रिविकाे प्रमुखद्वारबाट कसैलाइ पनि प्रवेश गर्न नदिइ आयुर्वेद क्याम्पसतर्फकाे बाटाेतर्फ पठाउने गरेकाे छ । यसले उनीहरूकाे भूमिकामाथि पनि शंका गरिएकाे छ ।
नगरपालिका मौन, एकले अर्कोलाई देखाएर आलटाल
कीर्तिपुर विकास समाजकाे नाममा भएको यो धन्दा कसले गरेको हो भन्नेबारे त्रिविका पदाधिकारी अनविज्ञ छन् । एनपिएल हेर्न जाने हजारौ दर्शकबाट लाखौ रकम उठाइन्छ, त्यो रकम कसले लिन्छ भन्ने कसैलाई केही पनि थाहा छैन । भाडा उठाउन परिचालित मान्छेहरुलाई सोधपुछ गर्दा कीर्तिपुर नगरपालिकाले अनुमति दिएर भाडा उठाएको भन्छन् । तर, कीर्तिपुर नगरपालिका पनि यसप्रति अनविज्ञ छ । नगरपालिकाका कर्मचारी आफूहरुले कुनै अनुमति नदिएको र जनप्रतिनिधिहरुले दिएको भए आफूहरुलाई थाहा नभएको बताउँछन् ।
कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगाल देशबाहिर छन् । उपमेयर शुभलक्ष्मी शाक्य यसबारेमा आफूलाई केही थाहा नपाएको र कसैलाई लिखित अनुमति नगरपालिकाबाट नदिइएको बताउँछिन । नगरपालिकाकाे नाम जाेडिसकेपछि यसबारे प्रष्ट पार्नु र यदि कानुन विपरित कसैले काम गरे त्यसलाइ नियन्त्रण गर्नु नगरपालिकाकाे पनि काम हाे । तर, नगरपालिका माैन छ ।
आयुर्देद अस्पतालका डाक्टरमाथि कुटपिट
आयुर्वेद क्याम्पस र अस्पताल परिसर कब्जा गरी डोजर चलाइएको र अनियन्त्रित भिड जम्मा गराइ पार्किङ गराइएको विरोध गर्ने आयुर्वेद अस्पतालका डाक्टरहरुलाई कुटपिट समेत गरिएको छ । अस्पतालले त्यसका विरुद्धमा कानुनी प्रक्रिया अगाडि बढाउन थालेपछि कीर्तिपुर विकास समाजका केही मान्छेहरुले कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिलाई लिएर भित्रभित्रै माफी समेत मागेर घटना सामसुम पनि पारिएको छ ।
अहिले आयुर्वेद क्याम्पस र अस्पताल हाताभित्र हजारौ सवारी साधनले भरिएको हुन्छ । त्यहाँ अध्ययन गर्ने, उपचार गर्ने कुनै वातावरण नै छैन । एकातिर एनपिएल हेर्ने दर्शकको होहल्ला छ, अर्कोतिर तिनै दर्शकका बाइक, गाडीहरुको घुइचो र धुइरो छ ।

आयुर्वेद क्याम्पसका प्रमुख डा. शिवमंगल प्रसाद आफूहरुमाथि ठूलो अन्याय भएको बताउँछन् । आफूहरु कराउँदा कराउँदा कसैले नसुनेको र उल्टै ‘मर्ने मार्ने’ धम्की दिने गरिएको बताउँछन् । कीर्तिपुर विकास समाजले परिचालन गरेका मान्छेहरुले मर्ने मार्ने धम्की दिने गरी प्रस्तुत हुने गरेको र आफूहरु एकेडेमिक काम गर्ने मान्छेहरु भएकाेले त्यसकाे प्रतिवाद गर्न नसक्ने बताउँछन् । आफूहरुको कुरा त्रिविका माथिल्लो तहका पदाधिकारीहरुले पनि नसुनेको र प्रहरी प्रशासनले पनि नसुनेको उनको भनाई छ । उनी तत्काल यो पार्किङ खाली गराएर क्याम्पसको पठनपाठन सहज बनाउन माग गर्दछन् । क्याम्पस प्रमुख यदि जसले जे गरे पनि हुने हो र सरकारले यस्ता कानुन विपरितका अवाञ्छित कार्य रोक्न सक्दैन भने विश्वविद्यालय नै अन्यत्र सार्नुपर्ने बताउँछन् ।
त्यसैगरी त्रिवि आयुर्वेद अस्पतालका कार्यकारी निर्देशक पार्किङले परिसर सबै ढाकिदा अस्पतालको दैनिक कामकाजमा असर परेको बताउँदै यसलाई हटाउन माग गर्दछन् । अस्पतालमा विभिन्न विरामीहरु आउने गरेको, थेरापी गर्न आउनेहरु धेरै भएको र मानसिक विरामीहरु समेत आउने गरेको र उनीहरुलाई उपचार गर्न असर परेको उनी बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. दिपक अर्याल यसबारेमा आफूलाई अहिले मात्रै जानकारी भएको र अब अवलोकन गर्ने बताउँछन् ।
मिडियामाथि धम्की, संस्थाकाे अवैध धन्दा विरूद्ध गए समग्र कीर्तिपुरकै विरूद्ध हुने
त्रिविको जग्गामा अवैध रुपमा व्यापार सञ्चालन गरेको विषयमा जानकारी माग्दा कीर्तिपुर विकास समाजका पदाधिकारीहरु सोझै धम्कीपूर्ण भाषामा कुरा गर्ने गरेका छन् । समाजका अध्यक्ष बताउने मनोज केसी आफूहरुको कामलाई डिस्टर्व नगर्न धम्की दिन्छन् । उनी भन्छन्, “के तपाईहरु कीर्तिपुरवासीका विरुद्ध लड्न खोजेको हो ? विश्वविद्यालयको जग्गा समेत कीर्तिपुरवासीको हो । यस्तै हो भने त्यो सबै जग्गा फिर्ता लिन्छौ ।”
कीर्तिपुर विकास समाजका नाममा अवैध रुपमा पार्किङ शुल्क असुली गर्न थालिएपछि धेरै मिडियाले समाचार कभरेज गरेका थिए । त्यसपछि केही ठाउँमा भाडा उठाउन बन्द गरिए पनि आयुर्वेद क्याम्पस र अस्पताल परिसरमा भने जारी छ । संस्थाले भने अनुमति बेगर कानुन विपरित गरिएको कामलाई धाकधम्की डर देखाएर जारी राखेकाे छ । उनीहरु यो कार्यको विरोध गरे समग्र कीर्तिपुरवासीकै विरुद्ध हुने भन्ने खालको भाषामा कुरा गर्दछन् । संस्थामा समग्र कीर्तिपुरवासीको प्रतिनिधित्व छ या छैन भन्ने उनीहरु बताउँदैनन् । तर, उनीहरु आफूहरुले यसरी मनपरी भाडा उठाउन नपाए त्रिभुवन विश्वविद्यालय नै उठाइदिने धम्की दिन्छन् ।
कीर्तिपुर विकास समाजको सहसचिव बताउने संगीता श्रेष्ठ कीर्तिपुरवासीको जग्गा त्रिभुवन विश्वविद्यालयले लगेको र अब सबै जग्गा फिर्ता लिने बताउँछिन् । उनी भन्छिन्, “अब जनता जागिसकेका छन् । हामी त्रिभुवन विश्वविद्यालयले लिएको जग्गा सबै जनता उठाएर फिर्ता लिन्छौ ।”
प्रधानमन्त्री र शिक्षामन्त्रीलाई गुहार
आयुर्वेद क्याम्पसका प्रमुख शिवमंगल प्रसादले त्रिविमाथि भएको यो हस्तक्षेपबारे गम्भीर बन्न त्रिभुवन विश्वविद्यालयकी कुलपति तथा प्रधानमन्त्री सुशिला कार्कीलाई आग्रह गरेका छन् । उनले यस्तो समस्या अब सधै बढ्दै जाने भएकोले सकेसम्म त्रिवि परिसरबाट क्रिकेट मैदान अलग गर्नुपर्ने र यदि ‘क्रिकेट मैदान हटाउन नसक्ने हो र क्रिकेट मैदानले नै देश समृद्ध हुने हाे’ भने त्रिभुवन विश्वविद्यालयलाई नै अन्यत्र सार्नुपर्ने बताउँछन् । उनले त्रिविका सहकूलपति समेत रहेका वर्तमान शिक्षामन्त्री महावीर पुनले यो विषयमा धेरै थाहा पाएको उल्लेख गर्दै यस विषयमा पहल लिन र त्रिविको परिसरभित्र भइरहेको यो मनपरी र दादागिरी रोक्न आग्रह गरे ।



