काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका कलेजहरू प्रदेश र स्थानीय सरकारहरूलाई हस्तान्तरण गरी सञ्चालन गर्न सुझाव दिइएको छ।
सीटीईभीटीका संस्थापक कार्यकारी निर्देशक तथा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा बनेको कार्यदलले आंगिक र निजी कलेज प्रदेश सरकार मातहत लैजान सिफारिस गरेको छ। साझेदारी तथा सामुदायिक कलेज भने स्थानीय तहले सञ्चालन गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ।
कार्यदलले कलेज हस्तान्तरण प्रक्रिया ६ महिनाभित्र पूरा गर्न पनि प्रतिवेदनमा उल्लेख गरेको छ। सो प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सीटीईभीटी सञ्चालन परिषद् अध्यक्ष महावीर पुनलाई बुझाइएको छ। मन्त्री पुनले प्रतिवेदन छिट्टै कार्यान्वयनमा ल्याइने बताएका छन्।
मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय सीटीईभीटीले प्रदेश सरकारसँग समन्वय गरी आंगिक तथा निजी कलेज हस्तान्तरण र व्यवस्थापन गर्न सक्ने कार्यदलको सुझाव छ। त्यस्तै, प्रादेशिक सीटीईभीटीले स्थानीय तहको क्षमता र तयारीअनुसार कलेज हस्तान्तरण गर्न सक्ने उल्लेख छ।
देशभर अहिले ६७ आंगिक, ५८ साझेदारी, ४३८ निजी र ६३९ सामुदायिक विद्यालयमार्फत प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनमा छन्। साथै १ हजार ८५० तालिम केन्द्र सीटीईभीटीको स्वीकृतिमा सञ्चालन हुँदै आएका छन्।
२०७२ को संविधानपछि सीटीईभीटी पुनर्संरचना गर्ने चर्चा भए पनि काम अघि बढ्न सकेको थिएन। पुनर्संरचनाका लागि बनेको कार्यदलले शिक्षालयको संख्या धेरै भएकाले मापदण्ड बनाएर समायोजन ९मर्ज० गर्नुपर्ने सुझाव दिएको छ।
प्रतिवेदनमा, सामुदायिक विद्यालयमा चल्ने टेक्स (प्राविधिक शिक्षालय) आंगिक कलेज नभएका पालिकामा मात्र राख्नुपर्ने र देशभर यस्ता शिक्षालयको संख्या बढीमा ५० मा सीमित गर्नुपर्ने उल्लेख छ। अहिले सीटीईभीटीले एसईईपछि ३ वर्षे डिप्लोमा कार्यक्रम र सामुदायिक विद्यालयमा कक्षा ९–१२ मा प्राविधिक धार सञ्चालन गरिरहेको छ।
साझेदारी शिक्षालय स्थानीय तहले नै सञ्चालन गर्नुपर्ने र साझेदारी मोडेल टिक्न नसकेका शिक्षालयलाई निजीमा रूपान्तरण गरी सरकारी अनुदान बन्द गर्नुपर्ने सुझाव पनि कार्यदलले दिएको छ। साथै, स्थानीय तहमा व्यावसायिक तालिम शाखा स्थापना गरी नियमन तथा अनुगमन गर्ने व्यवस्था मिलाउन सिफारिस गरिएको छ।
कार्यदलमा पूर्वसचिव रामहरि लामिछाने र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य उषा झा सदस्यका रूपमा सहभागी थिए।


