भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ सुरु भएको छ । बिहीबारदेखि सुरू भएकाे प्रतियोगिता पुस १ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नगरभित्रका ८० भन्दा बढी विद्यालयका करिब ३ हजार २९१ जना विद्यार्थी खेलाडी सहभागी छन् । प्रतियोगिता अन्तर्गत टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो-खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल लगायत विभिन्न खेल समावेश गरिएको छ ।
कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गरेका हुन् । उद्घाटनअघि आयोजित र्याली भक्तपुर–९ दत्तात्रयबाट सुरु भई गोल्मढी, नासमना, भार्वाचो बसपार्क, जनज्योति पुस्तकालय हुँदै नगरपरिक्रमा गर्दै सहिद स्मृति खेलमैदानमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो । र्यालीको नेतृत्व भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए ।
र्याली सुरु हुनुअघि भक्तपुर नगरपालिका-८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु र कार्यपालिका सदस्य सुनिता अवालले सहभागीहरुलाई स्वागत गरेका थिए ।
र्याली तथा उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रतिनिधि, खेलाडी, नेपाल स्काउट टोलीका सदस्यसहित बाँसुरी बाजा र धिमे बाजाजस्ता सांस्कृतिक समूहको उल्लेखनीय सहभागिता रहेको थियो ।


