EduPress
'

त्रिवि भाषाविज्ञान केन्द्रीय विभागमा १६औँ शृङ्खलाको प्रवचन गोष्ठी सम्पन्न

Author Image
आइतवार, मंसिर २८, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी संकाय अन्तर्गत भाषाविज्ञान केन्द्रीय विभागको आयोजनामा प्रवचन गोष्ठी सम्पन्न भएको छ।

भाषाविज्ञान केन्द्रीय विभागले भाषाशास्त्रीहरूबाट भाषाका विविध आयामबारे विमर्श गर्ने उद्देश्यसहित सञ्चालन गरेको “भाषाविज्ञानमा चम्स्केली क्रान्ति” शीर्षकको प्रवचन शृङ्खला २०८१ असोज १३ गतेदेखि सुरु भएको हो। २०८२ मंसिरसम्म आइपुग्दा यस शृङ्खलाले १६औँ चरण पूरा गरेको छ भने हालसम्म १५ जना विद्वानले प्रवचन प्रस्तुत गरिसकेका छन्।

यस प्रवचन शृङ्खलाले सीमित ज्ञानलाई व्यापक बनाउँदै विचारको आदान-प्रदान र बौद्धिक विमर्शलाई सशक्त बनाउने विश्वास विभागले लिएको छ। “वादे वादे जायते तत्वबोध”को सिद्धान्त अनुरूप छलफलबाट ज्ञान विस्तार हुने र विभिन्न दृष्टिकोणबीच अन्तर्क्रिया हुने धारणा राखिएको छ।

मंसिर महिनामा सम्पन्न १६औँ शृङ्खलाको प्रवचनमा डा. कृष्णप्रसाद चालिसेले “नेपाली सर्वनामः व्यवस्था र व्युत्पत्ति” शीर्षकमा प्रस्तुति दिएका थिए । प्रवचनमा प्रा.डा. माधवप्रसाद पोखरेल र प्रा.डा. हेमाङ्गराज अधिकारीले पूरक टिप्पणी गरेका थिए। सहभागीहरूको तर्फबाट डा. भिमलाल गौतम, डा. तारामणि राई, गोरखापत्रका खस भाषा संयोजक वाशिष्ठ लगायतले नेपाली भाषामा सर्वनाम प्रयोगका विविध पक्षमा आफ्ना धारणा व्यक्त गरेका थिए।

गोष्ठीमा प्रा.डा. दानराज रेग्मी, भाषाविज्ञान समाज नेपालका अध्यक्ष डा. अम्बिका रेग्मी, मातृभाषा केन्द्र नेपालका निर्देशक सुशिल सुब्बा, भाषाविज्ञान केन्द्रीय विभागका प्राध्यापकहरू, विद्यावारिधि, दर्शनाचार्य तथा स्नातकोत्तर तहका शोधार्थी र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रवचन गोष्ठीको सहजीकरण विभाग प्रमुख सहप्राध्यापक कर्णाखर खतिवडाले गरेका थिए। आगामी पुष महिनामा त्रिविमा जाडो बिदा परेकाले १७औँ शृङ्खला माघ महिनामा आयोजना गरिने र सो अवसरमा प्रा.डा. हेमाङ्गराज अधिकारीले प्रवचन दिने जानकारी खतिवडाले दिए।

खतिवडाका अनुसार कक्षाकोठाभित्रको ज्ञान मात्रै पर्याप्त नहुने भएकाले नयाँ खोज, अग्रज विद्वानको अनुभव र गहिरो विमर्शका लागि यस्ता प्रवचन गोष्ठी सुरु गरिएको हो। यसले प्राध्यापक र विद्यार्थीबीच सिकाइको दायरा फराकिलो बनाउँदै कक्षाकोठा बाहिर पनि शैक्षिक छलफलको संस्कार विकास गर्न सकारात्मक सन्देश दिएको उनले बताए।

प्रतिक्रिया