EduPress
'

परीक्षामा कम अंक ल्याएको भन्दै शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट, ‘जति नम्बर नपुगेको हो त्यति लौरो’

Author Image
सोमवार, मंसिर २९, २०८२
Text Size:

बागलुङ । परीक्षामा अनुत्तीर्ण भएको र कम अंक ल्याएको भन्दै बागलुङको एक विद्यालयमा शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ। बरेङ गाउँपालिका–२ स्थित पुरुषोद्धय माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक मिथलेश अधिकारीले कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई शारीरिक यातना दिएको आरोप लागेको हो।

घटना गत २३ र २४ मंसिरमा भएको बताइएको छ। विद्यार्थीहरूका अनुसार अर्थशास्त्र विषयका शिक्षक अधिकारीले पास हुन नपुगेका अंकको बराबर लौरो हानेर कुटपिट गरेका थिए। कक्षा १२ की विद्यार्थी तिर्सना परियारका अनुसार १५ विद्यार्थीमध्ये चारजना मात्र पास भएका थिए। ‘पास नभएकालाई जति नम्बर पुगेको थिएन, त्यति नै लौरा हानियो,’ उनले भनिन्, ‘मेरो पनि चार नम्बर नपुगेको थियो, चार पटक पिटाइ खाएँ। परिवारको डरले कसैलाई भन्न सकेका थिएनौँ, पछि शनिबार नुहाउने क्रममा शरीरमा निलडाम देखिएपछि घरमा थाहा भयो।’

तिर्सनाका बुबा दीपेन्द्र परियारले शिक्षकको कुटाइबाट छोरीको पिँडुलामा निलडाम बसेको बताए। उनका अनुसार घटना २४ मंसिरको भए पनि पछि मात्र जानकारी पाइएको हो। ‘मेरी छोरी मात्र होइन, अरू ११ जना विद्यार्थी पनि कुटिएका रहेछन्,’ उनले भने, ‘कम अंक ल्याएको भन्दै निर्घात कुट्नु शिक्षकको अधिकार होइन। विद्यालयलाई ध्यानाकर्षण गराएका छौँ र कानुनी कारबाही हुनुपर्छ भन्ने हाम्रो माग छ।’ उनले सामाजिक सञ्जालमा पनि घटनाबारे लेखेका छन्।

दीपेन्द्रका अनुसार विद्यालयमै पुगेर शिक्षक अधिकारी र प्रधानाध्यापक मनबहादुर श्रीससँग छलफल गरिएको छ। ‘शिक्षकले कुटपिट गरेको स्वीकार गर्नुभएको छ, गल्ती महसुस गरेर सुधार्ने प्रतिबद्धता जनाउनुभएको छ। विद्यालयको तर्फबाट पनि माफी मागिएको छ,’ उनले भने। तर, सामाजिक सञ्जालमा लेखिएको पोस्ट र समाचार हटाउन दबाबसमेत आएको उनको आरोप छ।

विद्यालयका प्रधानाध्यापक मनबहादुर श्रीसले विद्यार्थीमाथि कुटपिट भएको जानकारी पाएपछि शिक्षक र अभिभावकबीच छलफल गरिएको बताए। ‘विद्यार्थीबाट जस्तोसुकै गल्ती भए पनि कुटपिट गर्नु गलत हो,’ उनले भने, ‘अभिभावक, व्यवस्थापन समिति र सम्बन्धित शिक्षकबीच सहमतिमार्फत समस्या समाधान गर्ने प्रयासमा छौँ। विद्यालयको तर्फबाट माफी माग्दै स्पष्ट धारणा सार्वजनिक गर्ने तयारी छ।’ उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि जनाए।

यता, बरेङ गाउँपालिका शिक्षा शाखाका अधिकृत सूर्यप्रसाद शर्माले यसबारे आधिकारिक उजुरी नआएको बताए। सामाजिक सञ्जालमार्फत मात्र जानकारी पाएको उल्लेख गर्दै उनले आवश्यक बुझाइपछि कानुनी प्रक्रियाअनुसार कारबाही थालिने बताए।

प्रतिक्रिया

सम्बन्धित खबर