ताप्लेजुङ । ताप्लेजुङ जिल्लाका विद्यालयको भौतिक तथा शैक्षिक विकासमा उल्लेखनीय योगदान दिँदै आएको ह्युमन प्राक्टिस फाउण्डेसन (एचपीएफ) ले विद्यालय केन्द्रित आफ्ना परियोजनाहरू क्रमशः स्थानीय सरकारलाई हस्तान्तरण गर्न थालेको छ । यसै क्रममा एचपीएफले फुङलिङ नगरपालिकाभित्र सञ्चालित विद्यालयसम्बन्धी परियोजना नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।
फुङलिङ नगरप्रमुख अमिर मादेन र एचपीएफका शिक्षा व्यवस्थापक युवराज गौतमबीच सोमबार परियोजना हस्तान्तरणसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाका अनुसार परियोजना अब स्थानीय तहको स्वामित्व र व्यवस्थापनमा सञ्चालन हुनेछ ।
एचपीएफका शिक्षा व्यवस्थापक गौतमले ताप्लेजुङका सबै स्थानीय तहमा सञ्चालन भएका विद्यालय केन्द्रित परियोजना सम्बन्धित पालिकालाई नै हस्तान्तरण गरिने जानकारी दिएका छन् । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख (डीएसपी) बेदप्रसाद गौतम, परियोजना सञ्चालन भएका क्याम्पस तथा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।
एचपीएफले ताप्लेजुङ जिल्लामा हालसम्म ६५ वटा विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ । ९ वटा स्थानीय तह रहेको जिल्लामध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा १२ वटा विद्यालय भवन निर्माण गरिएको छ । त्यस्तै सिरिजङ्घा गाउँपालिकामा ९ वटा, आठराई त्रिवेणी र पाथीभरा याङ्वरक गाउँपालिकामा ८-८ वटा विद्यालय भवन निर्माण भएका छन् ।
एचपीएफका कार्यक्रम निर्देशक अमित श्रेष्ठका अनुसार फक्ताङ्लुङ, सिदिङ्वा र मेरिङ्देन गाउँपालिकामा ६-६ वटा विद्यालय भवन निर्माण गरिएको छ भने मैवाखोला र मिक्वाखोला गाउँपालिकामा ५–५ वटा विद्यालय भवन निर्माण गरिएको हो ।
विद्यालय पूर्वाधार विकाससँगै एचपीएफले सिकाइ सुधार र आर्थिक सशक्तिकरणका कार्यक्रमसमेत सञ्चालन गरेको थियो । जिल्लाभरका ५८ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गर्दै विद्यालय भवनसँगै शौचालय र खानेपानी जस्ता आधारभूत सुविधा निर्माण गरिएको श्रेष्ठले बताए । उनका अनुसार ५१ वटा विद्यालयमा शौचालय तथा ९ वटा विद्यालयमा इन्टेक, रिजर्भ ट्याङ्की र धारासहित खानेपानी सुविधा निर्माण गरिएको छ ।
सिकाइ सुधारअन्तर्गत विद्यालयमा कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, पुस्तकालय र बालकक्षा स्थापना गरिएको छ । साथै एकीकृत पाठ्यक्रम, बाल सुरक्षा नीति, सूचना प्रविधिलगायत विषयमा शिक्षक, विद्यार्थी र अभिभावकका लागि विषयगत तालिमहरू प्रदान गरिएको एचपीएफले जनाएको छ ।
आर्थिक सशक्तिकरणतर्फ ३९ वटा विद्यालयलाई केन्द्रमा राखेर जीवनोपयोगी सीप तथा लघु उद्यमशीलतासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो । बाख्रा, बङ्गुर र कुखुरा पालन तथा तरकारी खेतीमा २ सय ६६ जना उद्यमीलाई तालिम र सहयोग प्रदान गरिएको छ ।
यसैगरी सूचना तथा प्रविधि शिक्षालाई विस्तार गर्ने उद्देश्यले फुङलिङमा एक आइटी एकेडेमीसमेत स्थापना गरिएको एचपीएफले जनाएको छ । ताप्लेजुङमा विद्यालय पूर्वाधार र शैक्षिक विकासमा केन्द्रित कार्यक्रम सम्पन्न गरेपछि एचपीएफका यस्ता परियोजना हाल पाँचथर, तेह्रथुम र धनकुटामा केन्द्रित भएका छन् ।


