काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्कअनुसार शिक्षासम्बन्धी सेवामा मात्र रु ४२ अर्ब ९६ करोड बराबरको विदेशी मुद्रा देशबाट बाहिरिएको छ। देशभित्र विभिन्न विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि उच्च शिक्षाका लागि ठूलो परिमाणमा रकम विदेशिने क्रम तीव्र बन्दै गएको हाे।
गत आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। यससँग तुलना गर्दा चालु आर्थिक वर्षको चार महिनामै करिब रु १० अर्बभन्दा बढी रकम शिक्षाका लागि विदेशिएको देखिन्छ। राष्ट्र बैंकका अनुसार विदेश अध्ययनमा जाने विद्यार्थीको संख्या बढ्दै जानु र अध्ययन शुल्क तथा बसोबास खर्च महँगो हुनु यस वृद्धिका प्रमुख कारण हुन्।
राष्ट्र बैंकले सार्वजनिक गरेको सेवा खातासम्बन्धी विवरणमा भ्रमण व्यय पनि उल्लेख्य रूपमा बढेको देखिएको छ। समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यय रु ५५ अर्ब ४९ करोड रहेको थियो।
यद्यपि, भ्रमण आयतर्फ भने केही सकारात्मक संकेत देखिएको छ। समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण आय आठ दशमलव एक प्रतिशतले वृद्धि भई रु १९ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय रु १७ अर्ब ७६ करोड रहेको थियो।
तर, आयभन्दा व्यय धेरै भएकाले खुद सेवा आय भने अझै घाटामा रहेको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा खुद सेवा आय रु ३२ अर्ब ६८ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु २३ अर्ब एक करोड थियो।
अर्थविद्हरूका अनुसार शिक्षातर्फ बढ्दो विदेशी मुद्रा व्ययले सेवा खाताको घाटा बढाउँदै लगेको छ, जसले समग्र बाह्य क्षेत्र सन्तुलनमा दबाब सिर्जना गर्न सक्छ। उनीहरू देशभित्रै गुणस्तरीय उच्च शिक्षा, अनुसन्धान र रोजगारीका अवसर विस्तार नगरेसम्म शिक्षाका लागि विदेशिने रकम अझै बढ्ने जोखिम रहेको बताउँछन्।


