काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक उपाधि तथा प्रमाणपत्रलाई चीन सरकारअन्तर्गतको शिक्षा मन्त्रालयले औपचारिक मान्यता दिएको छ । चीनको शिक्षा मन्त्रालय मातहत रहेको स्कलर्स एक्सचेन्ज सर्भिस सेन्टरले विश्वविद्यालयबाट प्राप्त उपाधिलाई मान्यतासहित सूचिकृत गरेको हो।
यस निर्णयसँगै लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीले चीनमा थप अध्ययन, रोजगारी तथा शैक्षिक गतिविधिमा सहजता पाउने अपेक्षा गरिएको छ । स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सका निर्देशक डा। कुमार खड्काका अनुसार उपाधिको मान्यताले चिनियाँ तथा अन्य विदेशी विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढ्ने विश्वास गरिएको छ। “पहिले प्रमाणपत्र मान्यता पाउँछ कि पाउँदैन भन्ने चिन्ता थियो, अब त्यो अन्योल हटेको छ,” उनले बताए।
विश्वविद्यालयले देवदह क्षेत्रमा शैक्षिक गुरुयोजना कार्यान्वयन गर्दै करिब १६ हजार विदेशी विद्यार्थीलाई अध्यापन गराउने लक्ष्य लिएको छ । योजना हाल कार्यान्वयनको चरणमा रहेको र विदेशी विद्यार्थीको सुविधा विस्तारका लागि छात्रावासलगायत पूर्वाधार निर्माण भइरहेको विश्वविद्यालयले जनाएको छ। यी संरचना पूरा भएपछि विद्यार्थी संख्या थप बढ्ने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय सहकार्य विस्तारका लागि विश्वविद्यालयले करिब ८० वटा विदेशी शैक्षिक संस्थासँग सहकार्य गरिसकेको छ । सोही सहकार्यअन्तर्गत सेमेष्टर एक्सचेन्ज कार्यक्रममार्फत लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि गएका छन् । हालसम्म ६४ जना विद्यार्थीले एक्सचेन्ज कार्यक्रम सम्पन्न गरी उपाधि प्राप्त गरिसकेका छन् । यसैबीच, केही समयअघि ४८ जना विद्यार्थीले चीनका विश्वविद्यालयमा अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्राप्त गरेका थिए।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरू अध्ययनका लागि विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रीत र बुटवल तथा देवदहमा प्रयोगिक बौद्धअन्तर्गतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्नातक, स्नातकोत्तर तथा विद्यावारीधि तहमा विदेशी विद्यार्थी भर्ना भएका छन् ।
विश्वविद्यालयमा चीन, भारत, श्रीलङ्का, भुटान, म्यानमार, जापान, मलेसिया, ताइवानलगायत देशका विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । सबैभन्दा धेरै चीनका विद्यार्थी रहेका छन् । बुद्धिजम एण्ड नेपाल अध्ययन, बुद्धिजम एण्ड पीस, बुद्धिजम एण्ड हिमालयसहितका विषयमा विदेशी विद्यार्थीको आकर्षण देखिएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायका डीन डा माणिकरत्न शाक्यले विद्यावारीधिदेखि स्नातक तहसम्मै विदेशी विद्यार्थी भर्ना भएको बताए । ‘हामी गुणस्तरीय शिक्षा प्रदानमा प्रतिबद्ध रहेका छौँ, यसैले पनि विदेशीमा विद्यार्थीले हाम्रो विश्वविद्यालयलाई विश्वास गरेका छन्’, उनले भने ।
विश्वविद्यालयमा हाल एक सय ५७ जना विदेशी विद्यार्थी अध्ययनरत रहेका छन् । नयाँ भइरहेको स्नातक र स्नातकोत्तर तहको भर्नामा पनि विदेशी विद्यार्थीले आवेदन दिएका छन् । विश्वविद्यालयमा कूल तीन हजार विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् ।


