काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थी ठगीमा पर्ने क्रम बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालय तथा कलेजको र्याङ्किङ र आधिकारिकता अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै मान्यताप्राप्त र अन्तर्राष्ट्रिय रूपमा सूचीकृत शैक्षिक संस्थामा मात्र अध्ययन अनुमति पत्र (एनओसी) लिएर विदेश जान अनुरोध गरेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो समय वैदेशिक अध्ययन अनुमति पत्र लिएर विदेश पुगेका कतिपय विद्यार्थीले आफू अध्ययन गर्न गएको विश्वविद्यालय वा कलेज आधिकारिक नभएको, भौतिक तथा शैक्षिक पूर्वाधार शिक्षण अनुकूल नभएको र आर्थिक ठगीमा परेको गुनासो गर्दै आएका छन् । यस्ता गुनासोलाई गम्भीर रूपमा लिँदै मन्त्रालयले विद्यार्थीलाई सचेत रहन आग्रह गरेको जनाएको छ ।
सूचनामा भनिएको छ, विश्वविद्यालय वा शिक्षण संस्थाको आधिकारिक वेबसाइट उपलब्ध छ कि छैन, साथै टाइम्स हाइयर एजुकेसन, क्यूएस वर्ल्ड युनिभर्सिटी र्याङ्किङ वा साङ्घाइ जियातोङ र्याङ्किङजस्ता अन्तर्राष्ट्रिय सूचकांकमा सो संस्था सूचीकृत छ कि छैन भन्ने आधारमा आधिकारिकता पहिचान गर्न सकिन्छ ।
मन्त्रालयले यस्ता अन्तर्राष्ट्रिय र्याङ्किङ सूचीमा विश्वविद्यालय वा कलेज उल्लेख भए–नभएको यकिन गरेर मात्र वैदेशिक अध्ययन अनुमति पत्रका लागि अनलाइन फारम भर्न, एनओसी लिन तथा विदेशस्थित शैक्षिक संस्थामा अध्ययनका लागि जान सबै सरोकारवालालाई सूचित गरेको छ ।


