काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका एक डाक्टरको भवनबाट खसेर मृत्यु भएको छ। पाँचौँ तलाबाट खसेका ३४ वर्षीय अमित यादवलाई आकस्मिक कक्षमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक यादव सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी शम्भु प्रसाद यादवका छोरा हुन्। उनी नोबेल मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरी सोही कलेजमा इन्टर्नसिप गरिरहेका थिए। घटना कलेजको मुख्य गेट अगाडिको भवनमा भएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीकी प्रवक्ता कोपिला चुडालका अनुसार मृतकका बुवाले अमित मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको र नियमित औषधि सेवन गरिरहेका जानकारी दिएका छन्। उक्त विवरणलाई आधार मानेर घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै मृतकका बुवा घटनास्थलमा पुगिसकेका छन् भने प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।


