EduPress
'

बुटवलको विद्यालयमा बालविवाह मञ्चन: शिक्षा, कानुन र संस्कृतिमाथि गम्भीर चुनौती

Author Image
बिहिवार, पौष ९, २०८२
Text Size:
  • जगत वाशिष्ठ

बुटवलस्थित एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयले आफ्नो सांस्कृतिक महोत्सवको क्रममा दुई साना बालबालिकालाई दुलाहा–दुलही बनाएर विवाह संस्कारको मञ्चन गराएको घटनाले राष्ट्रिय स्तरमा बहस र आलोचना सिर्जना गरेको छ। विद्यालय परिसरमै आयोजना गरिएको उक्त कार्यक्रमको करिब एक मिनेट ४० सेकेन्ड लामो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना सुरु भएको हो।

भिडियोमा पूजाका सम्पूर्ण सामग्री, विवाह मण्डप, वैदिक विधि अनुसारको कन्यादान, स्वयंबर, मंगल मन्त्र उच्चारण, सम्धी भेटघाट, दुलही विदाइ लगायतका सम्पूर्ण क्रियाकलाप समेटिएका छन्। माइक र साउन्ड सिस्टमको प्रयोग गरिएको यो कार्यक्रममा वास्तविक अभिभावक समेत सहभागी थिए। कार्यक्रम ‘नाटक’ मात्र हो भन्ने विद्यालयको बचाउ सामाजिक सन्देश र कानुनी दृष्टिले पर्याप्त ठहरिँदैन।

विद्यालयले मञ्चनलाई सांस्कृतिक नमुना र वार्षिक रूपमा आयोजना हुने कार्यक्रमको अंग भएको भन्दै आफ्नो बचाउ गरेको छ। विद्यालयका प्रधानाध्यापकले यसलाई ‘हल्ला’ गर्नुनपर्ने विषय नभएकाे भन्दै ‘असावधान मञ्चन’ भन्दा बढी केही नभएकाे बताएका छन्। उनले कार्यक्रमको उद्देश्य केवल सांस्कृतिक प्रस्तुति र अभ्यास भएकाे बताएका छन्।

विवाहमा सहभागी भएका बालबालिकाका अभिभावक पक्षले पनि विद्यालयको कार्यमा स्वीकृति दिएको बताएका छन्। दुलही बालिका र दुलाहा बालकका अभिभावकले बालबालिका खुशी रहेको र कार्यक्रम केवल एक ‘कल्पनात्मक अभ्यास’ मात्र भएको बताएका छन्। तर, उनीहरूले कानुनी र मनोवैज्ञानिक असरबारे पूर्ण समझदारी नदेखाएको स्वीकार गरेका छन्। अभिभावकको सहमति हुनु आफैंमा सम्पूर्ण कानुनी वा नैतिक जिम्मेवारी हटाउने आधार होइन।

यदि विद्यालयले विवाह संस्कृति सिकाउने उद्देश्यले यस्तो नाटक मञ्चन गरिएको दाबी गर्छ भने पहिलो प्रश्न यहीँ उठ्छ कि के ती बालबालिकाले नेपाली समाजमा हुने अहिलेसम्म विवाह देखेकै थिएनन् त ? नेपाली समाजमा विवाह सार्वजनिक रूपमा हुने सामाजिक संस्कार हो । जहाँ बालबालिका घर-परिवार, छिमेक, मन्दिर, पार्टी प्यालेस वा सामाजिक कार्यक्रममा स्वाभाविक रूपमा सहभागी हुँदै आएका हुन्छन् । उनीहरूले कहिल्यै नदेखेको, बुझ्न नसकेको संस्कार भएकाले विद्यालयमै त्यसरी मञ्चन गर्नुपर्‍यो भन्ने तर्क मान्रै सकिदैन । अझ, विवाह संस्कार र संस्कृति बुझाउन बालबालिकालाई दुलाहा-दुलहीकै भूमिकामा उभ्याउनैपर्छ भन्ने छैन । संस्कृतिको शिक्षा दिन कथा, चित्र, पाठ्यसामग्री, भिडियो सामग्री वा उमेर पुगेका कलाकारको प्रयोग गर्न सकिन्थ्यो । वास्तविक विवाह समारोह अवलोकन गराएर होस् वा दृश्य-श्रव्य माध्यम प्रयोग गरेर, बालबालिकालाई सुरक्षित र उपयुक्त तरिकाले संस्कृतिको ज्ञान दिन सकिने अनेक विकल्प थिए ।

अर्को गम्भीर प्रश्न उठ्छ कि यदि यस्तो मञ्चनलाई “नाटक मात्र” भनेर छुट दिइयो भने भोलि विवाहपछिका अन्य संस्कार र व्यवहार पनि यसैगरी ‘सिकाउने’ नाममा मञ्चन गरिन थाले भने के गर्ने ? विवाहपछि हुने सामाजिक, पारिवारिक र शारीरिक क्रियाकलापहरू पनि संस्कृतिका हिस्सा हुन् भन्ने तर्क ल्याइएमा त्यसको सीमा कहाँ पुग्छ ? यदि प्रयोगात्मक ज्ञानको नाममा बालबालिकालाई बालबच्चा जन्माउने व्यवहार देखाउन थालियो भने के त्यो पनि स्वीकार्य हुन्छ ? विद्यालयले ‘व्यावहारिक ज्ञान’ दिन्छौँ भनेर हनिमुन मनाइदियो भने के त्यसलाई पनि नाटक भनेर छुट दिन सकिन्छ ? यौन शिक्षाका नाममा यस्तै प्रयोगात्मक मञ्चन गरियो भने के त्यो पनि वैध मानिने ? यस्ता प्रश्नहरू अतिशयोक्ति होइनन् । बरु यस घटनाले खोलिदिएको खतरनाक ढोका हुन् ।

सामाजिक संस्कार र संस्कृतिलाई यसरी भद्दा मजाकको रूपमा जहाँ पनि, जसले पनि र जस्तोसुकै तरिकाले प्रस्तुत गर्नु उपयुक्त हुँदैन । विद्यालय ज्ञानको थलो हो, प्रयोगशाला होइन । विद्यालयमा सबै प्रकारका ज्ञान दिइन्छन्, तर त्यो ज्ञान उमेर, संवेदनशीलता र बालमनोविज्ञानअनुसार हुनुपर्छ । धर्म, चाडपर्व र संस्कृतिको महत्व बुझाउनु र त्यसैको नाममा बालबालिकालाई वयस्क भूमिकामा प्रयोग गर्नु एउटै कुरा होइन । यस्ता प्रयोगात्मक कार्यले कत्तिको ज्ञान दिन्छन् भन्ने बहस त अलगै छ, तर यसले विकृति भित्र्याउने काम गरेको छ भन्ने कुरा शिक्षण संस्थाहरूलाई स्वयं थाहा हुनुपर्छ ।

यस घटनाले निजी विद्यालयहरूमा फैलिँदै गएको ‘भाइरल हुने होड’ लाई पनि स्पष्ट रूपमा उजागर गरेको छ । भव्य कार्यक्रम, आकर्षक भिडियो र सामाजिक सञ्जालमा चर्चा बटुल्ने लालसाले शैक्षिक मूल्यलाई पछाडि पारिएको देखिन्छ । विद्यालयहरू शैक्षिक संस्था रहनुको सट्टा प्रचार र व्यापारको केन्द्र बन्दै जानु गम्भीर चिन्ताको विषय हो । विद्यार्थी भर्ना बढाउने, प्रतिष्ठा बनाउने र बजार विस्तार गर्ने ध्येयमा विद्यालय सञ्चालकहरू बालबालिकालाई नै प्रयोगको माध्यम बनाइरहेका छन् । यसले नेपाली समाज र बालमनोविज्ञानमा कस्तो दीर्घकालीन असर पर्छ भन्नेबारे उनीहरूले गम्भीर रूपमा सोचेकै देखिँदैन ।

के छ कानुनी प्रावधान ?

बालअधिकार ऐन, २०७५ ले बालबालिकालाई हानिकारक परम्परा, अभ्यास वा गतिविधिमा संलग्न गराउन नपाइने व्यवस्था गरेकाे छ । उक्त ऐनमा बालबालिकाको शारीरिक, मानसिक, नैतिक र मनोवैज्ञानिक विकासमा असर पार्ने कार्य निषेध गरिएकाे छ । विद्यालयमा गरिएको विवाह मञ्चन बालमनोविज्ञानमा असर पार्ने, समयअगावै वयस्क भूमिका थोपर्ने र बालविवाहप्रति संवेदनशीलता घटाउने खालको भएकाले यो कानुन विपरित भएकाे प्रष्ट छ ।

नेपालको प्रचलित कानुनअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु वा गराउनु अपराध हो । यहाँ प्रश्न ‘वास्तविक विवाह’ भयो कि ‘नाटक’ भयो भन्ने होइन, प्रश्न बालविवाहलाई सामान्य बनाउने सन्देश गयो कि गएन भन्ने हो । कानुनले आशय र प्रभाव दुवैलाई महत्व दिन्छ । विद्यालयको मञ्चनले बालविवाहलाई स्वीकार्य बनाउने सन्देश दिएको छ भने त्यसमा कानुनी उत्तरदायित्व स्वतः जोडिन्छ । त्यसैले “यो त नाटक मात्र हो” भन्ने बचाउ कानुनका दृष्टिमा कमजोर तर्क हो । कानुनले कार्यको नामभन्दा प्रभावलाई महत्व दिन्छ । यदि कसैले बालविवाहलाई सामान्य बनाउँछ, बालबालिकालाई विवाहको भूमिकामा अभ्यास गराउँछ र समाजमा गलत सन्देश प्रवाह गर्छ भने त्यसलाई “नाटक” भनेर कानुनी जिम्मेवारीबाट उम्कन सकिँदैन । यस घटनामा साना बालबालिकालाइ दुलाहा–दुलही बनाइएको छ । जग्गे, विधि, भेषभूषा प्रयोग गरिएको छ । वास्तविक अभिभावकसमेत सहभागी गराइएकाे छ । यी सबै कुराले यसलाई बालविवाहलाइ प्रसय दिएकाे प्रष्ट छ । यसले कानुनलाइ चुनाैती दिएकाे ठहर्छ ।

कानुनले बालबालिकाको हितलाई सर्वोपरि राख्ने प्रावधान गरेको छ। यस घटनामा बालबालिकालाई वास्तविक विवाहको हकमा नभए पनि दुलाहा-दुलहीको भूमिका दिने, विधि, भेषभूषा, अभिभावकसमेत सहभागी गराउने कार्यले बालबालिकालाई सामाजिक र कानुनी दृष्टिले संवेदनशील बनाएको छ। ‘यो त नाटक मात्र हो’ भन्ने तर्क कानुनी दृष्टिले कमजोर छ, किनभने कानुनले कार्यको प्रभाव र सन्देशलाई बढी महत्व दिन्छ।

बालबालिका अभिनय मात्र गर्दैनन्, उनीहरूले त्यसलाई आत्मसात् पनि गर्छन् । विवाह जस्तो गम्भीर विषयमा दुलाहा–दुलहीको भूमिकामा उभ्याइएका बालबालिकाको मनमा त्यसको अर्थ, भाव र सामाजिक अपेक्षा गहिरो रूपमा बस्न सक्छ । साथीभाइको जिस्क्याइ, सामाजिक पहिचानको दबाब, र समयअगावै ‘वयस्क भूमिका’ को अनुभूति बालमनोविज्ञानका लागि हानिकारक हुन सक्छ । शिक्षा बालबालिकालाई सुरक्षित बनाउने माध्यम हुनुपर्नेमा यहाँ उनीहरूलाई जोखिमपूर्ण प्रयोगको वस्तु बनाइएको देखिन्छ ।

अभिभावक सहमत हुनु आफैंमा सबै कुरा वैध बनाउने आधार होइन । बालअधिकारको अन्तर्राष्ट्रिय मान्यताले स्पष्ट भन्छ, बालबालिकाको हित सर्वोपरि हुन्छ, चाहे अभिभावक सहमत नै किन नहुन् । यहाँ धेरै अभिभावकले कानुनी र मनोवैज्ञानिक असर नबुझेको स्वीकारेका छन् । यही कारणले राज्य, विद्यालय र नियामक निकायलाई अभिभावकभन्दा माथिल्लो तहमा जिम्मेवार मानिन्छ ।

संस्कृति र विकृतिको सीमारेखा के छ ?

संस्कृति सिकाउनु र संस्कृतिको नाममा विकृति भित्र्याउनुबीचको सीमारेखा विद्यालयहरूले बुझ्न नसक्दा यस्ता घटना दोहोरिन्छन् । विवाह नेपाली समाजको महत्वपूर्ण संस्कार हो, तर त्यो संस्कार बालबालिकामाथि अभ्यास गराउनु संस्कृतिको संरक्षण होइन, बरु त्यसको गलत प्रयोग हो । संस्कृति बुझाउन कथा, चित्र, भिडियो, पाठ्यपुस्तक वा उमेर पुगेका कलाकार प्रयोग गर्न सकिन्थ्यो । तर बालबालिकालाई प्रत्यक्ष विवाहको भूमिकामा उभ्याइनु संस्कृतिको शिक्षा भन्दा पनि संवेदनहीन प्रयोग हो ।

यस घटनाले निजी विद्यालयहरूमा बढ्दो ‘भाइरल हुने होड’ लाई पनि सतहमा ल्याएको छ । भव्य कार्यक्रम, फोटो, भिडियो र सामाजिक सञ्जाल प्रचारको दबाबमा विद्यालयहरूले शैक्षिक मूल्यभन्दा दृश्यात्मक प्रभावलाई प्राथमिकता दिन थालेका छन् । यस्तै भाइरल घटनाबाट विद्यार्थी भर्ना बढाउने रणनीतिका नाममा यदि विद्यालय नै मूल्यविहीन प्रयोगशाला बन्न थाल्छन् भने त्यसको मूल्य समाजले तिर्नुपर्ने हुन्छ ।

विद्यालयले यस्तो कार्यक्रम गर्नु जत्तिकै गम्भीर प्रश्न नियामक निकायको भूमिकामाथि पनि उठ्छ । यस्ता कार्यक्रमको पूर्वअनुमति, अनुगमन र स्पष्ट मार्गनिर्देशन किन भएन ? घटना बाहिरिएपछि मात्र प्रतिक्रिया आउनु समाधान होइन । शिक्षा प्रणालीलाई विकृतिबाट जोगाउन सक्रिय नियमन अपरिहार्य छ । यो घटना एउटा विद्यालयको होइन, समाजको परीक्षा हो । एभरेष्ट बोर्डिङ स्कूलको घटना एकल भूल जस्तो देखिए पनि यसको प्रभाव व्यापक छ । यसले हामीलाई सोधिरहेको छ, हामी बालअधिकारप्रति कति संवेदनशील छौँ ? शिक्षा साँच्चै ज्ञान र चेतनाको माध्यम हो कि प्रदर्शनको बजार ?

यदि यस घटनाबाट स्पष्ट पाठ सिकेर नियमन र कडाइ नगरेको खण्डमा, भविष्यमा यस्ता अभ्यासहरूले अझ गम्भीर रूप लिन सक्छन्। यसले समाजमा बालबालिकाको संरक्षण र शिक्षाको उद्देश्यप्रति प्रश्न उठाउँछ। त्यसैले अब प्रश्न आलोचना गर्ने वा बचाउ गर्ने होइन, यस्ता अभ्यास फेरि नदोहरिने सुनिश्चित गर्नु जरूरी छ । एभरेष्ट बोर्डिङ स्कूलको घटना केवल एकल घटनाजस्तो देखिए पनि यसको प्रभाव व्यापक छ। यसले हामीलाई सोधिरहेको छ कि शिक्षा प्रणाली बालबालिकाको हितमा संवेदनशील छ कि केवल प्रदर्शन र प्रचारको माध्यम मात्रै हो?

यो घटना एउटा ‘नाटक’ वा ‘गल्ती’ मात्र होइन, शिक्षा प्रणालीभित्र बढ्दो गैरजिम्मेवारीको संकेत हो । बालबालिकाको संवेदनशीलता, कानुनी सीमाना र सामाजिक जिम्मेवारीलाई बेवास्ता गर्दै गरिएको यस्तो कार्य गम्भीर र निन्दनीय छ । यदि आज यसलाई सामान्य बनाइयो भने भोलि अझ गम्भीर विकृतिहरूलाई रोक्ने नैतिक र कानुनी आधार कमजोर हुँदै जानेछ । त्यसैले यो विषय भावनामा होइन, तर्क, सिद्धान्त र दीर्घकालीन प्रभावका आधारमा मूल्याङ्कन हुनुपर्छ ।

प्रतिक्रिया