- जगत वाशिष्ठ
काठमाडौं । दशरथ रंगशालाको मैदान आज केवल औपचारिक समारोहको थलो बनेन, त्यो ठाउँ हजारौँ सपनाको सार्वजनिक घोषणा जस्तै बन्यो। त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थीले एकैसाथ उपाधि ग्रहण गर्दै आफ्नो शैक्षिक यात्राको अर्को अध्याय सुरु गरे।
यस वर्ष त्रिविबाट स्नातकदेखि विद्यावारिधिसम्मका विभिन्न तहमा ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये दीक्षान्त समारोहमा सहभागी हुन निवेदन दिएका विद्यार्थीहरूलाई आज उपाधि प्रदान गरिएको हो। संख्याका हिसाबले हेर्दा मानविकी, व्यवस्थापन, शिक्षा र कानुन संकायका विद्यार्थीको बाक्लो उपस्थिति देखिन्थ्यो । मानविकीमा १४ हजार ८५१, व्यवस्थापनमा ४३ हजार ६१०, शिक्षामा १६ हजार ४६७ र कानुनमा दुई हजार ३३५ जना उत्तीर्ण भएका छन्।
समारोहको अर्को विशेषता थियो- भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार विजेता जापानका आकाताकी काजिताको प्रमुख आतिथ्यता। शैक्षिक उत्कृष्टताको प्रतीकस्वरूप विभिन्न संकाय र तहमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थी (११ छात्रा र १४ छात्र) सम्मानित भए।
कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले दीक्षान्त समारोहलाई केवल बधाईको मञ्चमा सीमित राखिनन्। उनले नेपालको उच्च शिक्षा प्रणालीमाथि खुला प्रश्न उठाइन्। शैक्षिक प्रशासनमा हुने दलीय हस्तक्षेपले विश्वविद्यालयको मर्म कमजोर बनाएको उल्लेख गर्दै उनले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने विद्यमान व्यवस्थालाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याइन्। यस विषयमा परामर्श र गृहकार्य अघि बढिरहेको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले प्रविधिको प्रयोग, अनुसन्धानको गुणस्तर र अन्तर्राष्ट्रिय पहुँच विस्तार नगरी विश्वविद्यालयले विश्व प्रतिस्पर्धामा आफूलाई स्थापित गर्न नसक्ने स्पष्ट पारिन्। विद्यार्थी संख्या ठूलो हुँदैमा शिक्षा गुणस्तरीय नहुने भन्दै प्राध्यापक–विद्यार्थी अनुपात, अनुसन्धान प्रकाशन र शैक्षिक वातावरणमा सुधार अपरिहार्य रहेको धारणा उनले राखिन्। साथै, उच्च शिक्षाका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न शिक्षामा लगानी बढाउनुपर्ने उनको जोड थियो।
समारोहमा सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको सम्बोधन भावनात्मक र चुनौतीपूर्ण दुवै बन्यो। उनले दीक्षित विद्यार्थीलाई उपाधिलाई अन्तिम उपलब्धि होइन, संघर्ष, जिज्ञासा र निरन्तर प्रयासको चिनारीका रूपमा बुझ्न आग्रह गरे। ‘अब विश्वले तपाईंको डिग्रीभन्दा तपाईंको क्षमता सोध्छ,’ भन्दै उनले ज्ञान र सिप समाजका समस्यासँग कसरी जोडिन्छ भन्ने प्रश्न आफैंसँग गर्न सुझाव दिए।
मन्त्री पुनले प्रयोगशाला, अनुसन्धान र उद्यमलाई अर्थतन्त्रसँग जोड्न सके मात्र आत्मनिर्भर नेपाल सम्भव हुने उल्लेख गरे। जलस्रोत, जैविक विविधता, रैथाने ज्ञान र प्रविधिलाई व्यवहारिक अनुसन्धानमा रूपान्तरण गर्न नसकेसम्म समृद्धि केवल नारा बन्ने उनको चेतावनी थियो।
यसरी, ५१औँ दीक्षान्त समारोह केवल उपाधि वितरणको कार्यक्रम मात्र रहेन- यो नेपालको उच्च शिक्षा कहाँ छ र कहाँ जानुपर्छ भन्ने गम्भीर विमर्शको मञ्चसमेत बन्यो।


