EduPress
'

महेन्द्रनगर नमूना माविको ४९औँ वार्षिकोत्सव सम्पन्न

Author Image
मङ्गलवार, पौष १४, २०८२
Text Size:

‘मेघा विद्यालय’ बनाउने दीर्घकालीन लक्ष्य घोषणा

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित महेन्द्रनगर नमुना माध्यमिक विद्यालयले आफ्नो ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। मंगलबार आयोजित कार्यक्रममा शैक्षिक उपलब्धि, भविष्यका योजना र सामुदायिक सहभागितालाई केन्द्रमा राख्दै विविध गतिविधि प्रस्तुत गरियो।

कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक देवराज भट्टले सीमित स्रोत–साधनका बाबजुद विद्यालयको शैक्षिक गुणस्तर निरन्तर सुधार हुँदै गएको बताए। उनले विद्यार्थी सङ्ख्या तीव्र रूपमा बढिरहेका कारण भवन अभाव अझै चुनौतीको रूपमा रहेको उल्लेख गरे। उनका अनुसार हालसम्म ३ हजार विद्यार्थी पु¥याउने लक्ष्य पूरा भइसकेको छ।

प्रधानाध्यापक भट्टले विद्यालयमा शिक्षक, विद्यालय व्यवस्थापन समिति पदाधिकारीका सन्तानलाई समेत यहीँ अध्ययन गराउने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे। साथै अतिरिक्त क्रियाकलापमार्फत एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको, सिकाइ अभिवृद्धिका लागि अवलोकन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

विद्यालयमा प्रविधिमैत्री कक्षा, सिक्दै कमाउँदै कार्यक्रम, खेल मैदान निर्माण, शिक्षक तथा कर्मचारीको पेशागत विकास तालिम, अतिरिक्त कक्षा सञ्चालनजस्ता शैक्षिक सुधारका कार्यक्रमहरू अघि बढाइएको जनाइएको छ। प्राविधिक शिक्षालाई थप सुदृढ गर्ने, हरित कार्यक्रम लागू गर्ने, विज्ञान प्रयोगशाला भवन निर्माण गर्ने तथा पूर्व विद्यार्थीको सहकार्यमा विपन्न विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्ने योजना पनि अघि सारिएको छ।

“हाम्रो विद्यालयमा प्रत्येक वर्ष २ देखि ३ सय विद्यार्थी थपिँदै आएका छन्,” प्रधानाध्यापक भट्टले भने, “विद्यार्थीको चापअनुसार शिक्षक दरबन्दी र भौतिक संरचना अझै अपुग छ।” उनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षामा केन्द्रित कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले विद्यालयको दीर्घकालीन विकास योजना सार्वजनिक गर्दै आगामी दिनमा महेन्द्रनगर नमुना माविलाई ‘मेघा विद्यालय’को रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा सरोकारवाला निकायसँगको सहकार्यले विद्यालयलाई नमुना बनाउन सफलता मिलेको उल्लेख गरे।
अध्यक्ष विष्टका अनुसार आगामी २०८५ सम्म विद्यार्थी संख्या बढाएर ५ हजार पु¥याउने लक्ष्य लिइएको छ। सामुदायिक विद्यालय सुधारका लागि सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको भन्दै उनले निरन्तर सहयोगको अपेक्षा गरे।

कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले महेन्द्रनगर नमुना माध्यमिक विद्यालयले सार्वजनिक शिक्षा सुधारका लागि गरेको प्रयास प्रशंसनीय रहेको बताए। उनले जिल्लामात्र नभई देशभरका सामुदायिक विद्यालयले यस विद्यालयबाट प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरे। साथै विद्यालयको विकासका लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा विद्यालयका लेखा अधिकृत महानन्द पाण्डेयले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, विद्यालय सुधारमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान, मार्चपास, नृत्य तथा विज्ञान र खाद्य प्रदर्शनीसमेत आयोजना गरिएको थियो।
सहायक प्रधानाध्यापक सरस्वती धामी (भाट)को सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी, सामाजिक व्यक्तित्व तथा पूर्व शिक्षक–कर्मचारीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया