EduPress
'

नेपाल खुला विश्वविद्यालय सम्बन्धि प्रतिवेदनपछि हस्तान्तरण, पूर्ण सञ्चालनको आशा

Author Image
बिहिवार, पौष १६, २०८२
Text Size:

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयलाई पूर्ण रूपमा सक्रिय बनाउने उद्देश्यसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तयार पारिएको अध्ययन प्रतिवेदन हस्तान्तरण गरिएको छ। उक्त प्रतिवेदनलाइ लामो समयदेखि सीमित क्षमतामा सञ्चालन हुँदै आएको खुला विश्वविद्यालयकाे भविष्य बदल्ने नीतिगत मार्गचित्रका रूपमा हेरिएको छ।

शिक्षामन्त्री महावीर पुनले प्रतिवेदन प्राप्त गरेपछि विश्वविद्यालयमा नियमित शैक्षिक गतिविधि अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। मन्त्री पुनका अनुसार अब विश्वविद्यालय केवल अवधारणामा सीमित नरही व्यवहारिक रूपमा काम गर्ने चरणमा प्रवेश गर्नेछ।

कामसँगै पढ्न चाहने, दुर्गम क्षेत्रमा बसोबास गर्ने वा दैनिक रूपमा क्याम्पस उपस्थित हुन नसक्ने विद्यार्थीलाई लक्षित गरेर स्थापना गरिएको खुला विश्वविद्यालयले अपेक्षित गति लिन नसकेको भन्ने आलोचना हुँदै आएको थियो। यही पृष्ठभूमिमा मन्त्रालयले विश्वविद्यालयको संरचना, शैक्षिक मोडेल र सञ्चालन क्षमता मूल्याङ्कन गर्न कार्यदल गठन गरेको थियो।

कार्यदलको संयोजकत्व प्राध्यापक डा. केशरजंग बरालले गरेका थिए। कार्यदलले दूरशिक्षा प्रणाली, प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा नीतिगत समन्वयका विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको हो।

मन्त्रालयका अनुसार प्रतिवेदनमा समेटिएका सुझाव कार्यान्वयनमा ल्याइएपछि नेपाल खुला विश्वविद्यालयमार्फत टाढा बसेर पनि गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने अवसर विस्तार हुनेछ। यसले वैकल्पिक शिक्षाका मोडेललाई संस्थागत गर्दै परम्परागत विश्वविद्यालय शिक्षामा दबाब घटाउने अपेक्षा गरिएको छ।

यद्यपि, प्रतिवेदन हस्तान्तरणसँगै सबै समस्या समाधान हुने होइनन्। यसको प्रभावकारिता सुझाव कार्यान्वयनको गति, बजेट व्यवस्थापन र प्राविधिक तयारीमा निर्भर रहने विश्लेषकहरूको भनाइ छ। अबको मुख्य प्रश्न प्रतिवेदन ‘कागजमै सीमित’ रहने कि व्यवहारमा रूपान्तरण हुने भन्नेमा केन्द्रित छ।

प्रतिक्रिया

सम्बन्धित खबर