EduPress
'

त्रिभुवन विश्वविद्यालयमा शुल्क घटाउने माग गर्दै अखिल क्रान्तिकारीको तालाबन्दी

Author Image
शनिवार, पौष १८, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । शुल्क घटाउन दवावस्वरूप विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । शुक्रबारदेखि उपकुलपति, रेक्टरसहितका त्रिविका पदाधिकारीहरूकाे कार्यालयमा तालाबन्दी गरिएकाे हाे । नेकपा निकट अखिल क्रान्तिकारीले शुल्क घटाउनेबारे यसअघि गरिएकाे सहमति कार्यान्वयन नभएकाेले तालाबन्दी गरिएकाे जनाएको छ।

क्रान्तिकारीका त्रिवि समिति अध्यक्ष दिनेश ऐरले भने, “अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउने सहमति कार्यान्वयन नभएपछि तालाबन्दी गरिएको हो।” यी चार विभागलाई त्रिविले बजेट तथा आत्मनिर्भर कार्यक्रम मार्फत सञ्चालन गरिरहेको छ। ऐरका अनुसार, विद्यार्थी संगठनले ३४ दिनसम्म आन्दोलन गरेपछि त्रिवि प्रशासनले शुल्क घटाउने सहमति जनाएको थियो।

त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्यालले शुल्क समायाेजनकाे प्रक्रिया जारी रहेकाे बताएका छन्र । उनले भनेका छन्, “ती चार वटा विभागको शुल्क समायोजन गर्ने सहमति भएकाे हाे । उक्त प्रक्रिया आर्थिक प्रशासनसँग सम्बन्धित विषय भएकाले विस्तृत अध्ययन आवश्यक छ। त्याे प्रक्रिया अहिले पनि जारी छ । तर, हतारमा तालाबन्दी गर्नु उचित होइन।” उनले विद्यार्थी संगठनलाई ताला खोल्न आग्रह गरिएको तर अटेरी भए प्रशासनको सहयोगमा खोलिने समेत स्पष्ट पारेका छन्।

गत असारमा पनि विश्वविद्यालयमा यसैगरी तालाबन्दी भएको थियो। सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत तालाबन्दी नगर्न र यदि ताला लागिसकेको भए खोल्न आदेश दिएको थियो। त्यसपटक अधिवक्ता महेश भट्टराईले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त कीर्तिपुर, उपकुलपति र रजिस्ट्रार कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

क्रान्तिकारीका अध्यक्ष ऐरले भने, “सहमति कार्यान्वयनका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएन। विश्वविद्यालय सुधारका लागि दबाब दिन हामीले तालाबन्दी गरेका हौं।”

यसैबीच विद्यार्थीहरूले विभागहरूको पठनपाठन बिहानी सत्रमै सञ्चालन गर्न माग पनि गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “सहमति कार्यान्वयन नहुनु विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु हो। प्रथम सेमेस्टरको भर्नासँगै नयाँ भवनमा पठनपाठन सुरु नभएसम्म तालाबन्दी जारी रहनेछ।”

प्रतिक्रिया

सम्बन्धित खबर