- जगत वाशिष्ठ
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयमा तोडफोड भएको छ। अस्कल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा आवद्ध विद्यार्थीहरूको एक समूहले कार्यालयमा क्षति पुर्याएको हो।
डिन कार्यालयले बीएससी तहको पुनः प्रवेश परीक्षा माग गर्दै आएका विद्यार्थीहरूले आक्रोश प्रदर्शनका क्रममा तोडफोड गरेको जनाएकाे छ। विद्यार्थीले डिन कार्यालयका कुर्सी, टेबल, सिसा तथा गमला लगायतका सामग्री तोडफोड गरिएका छन । उनीहरूले डिन खनालमाथि समेत गमला प्रहार गर्ने प्रयास गरेको कार्यालय स्रोतले जनाएको छ। सहायक डिन र अन्य कर्मचारीको हस्तक्षेपपछि ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ। ताेडफाेड भएपछि प्रहरी वृत्त कीर्तिपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
डिन कार्यालयका अनुसार अस्कल क्याम्पसका स्ववियु सदस्य गोपालबहादुर शाहीको नेतृत्वमा आएको ८–९ जनाको समूहले डिनको कार्यकक्षसहित कार्यालय परिसरमा तोडफोड गरिएकाे हाे। यसअघि गत मंसिर ६ गते सञ्चालन गरिएको बीएससी प्रवेश परीक्षामा करिब ९ हजार विद्यार्थी सहभागी भएका थिए भने ८ हजार विद्यार्थी उत्तीर्ण भई भर्ना भइसकेका छन्। भर्ना सिट पूरा भइसकेकाले पुनः प्रवेश परीक्षा सम्भव नभएको डिन कार्यालयको स्पष्टिकरण छ।
अस्कल क्याम्पसकाे स्ववियु एमाले निकट अनेरास्ववियु समर्थित समूहले जितेको छ। स्ववियु अध्यक्ष रुद्रहरि पोखरेलले विद्यार्थीका माग लिएर डिन कार्यालय पुगेको स्वीकार गरे पनि तोडफोडमा आफ्नो पक्ष संलग्न नरहेको दाबी गरेका छन्। “विद्यार्थीहरू माग राख्न गएका थिए, तर तोडफोड भएको विषयमा मलाई जानकारी छैन,” उनले भने। तर प्रत्यक्षदर्शीहरूले भने गोपाल शाहीसहित अनेरास्ववियुबाट निर्वाचित स्ववियु सदस्यहरू नै तोडफोडमा संलग्न रहेको बताएका छन्।
डिन शंकर खनालले घटनाप्रति दुःख व्यक्त गर्दै भने, “विद्यार्थीहरू व्यक्तिगत रूपमा चिन्न सकिनँ, अस्कल क्याम्पसका हुन् भन्ने सुनेको हुँ। घटनाबारे त्रिवि प्रशासन र प्रहरीलाई जानकारी गराइसकेका छौँ।” उनले पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय डिन कार्यालयको नभई त्रिवि केन्द्रको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको स्पष्ट पारेका छन्।
यस वर्ष असोजमा हुने प्रवेश परीक्षा ‘जेन–जी आन्दोलन’ का कारण ढिला भई मंसिरमा सञ्चालन भएको थियो। ढिलाइका बाबजुद पर्याप्त विद्यार्थी सहभागी भएको र भर्ना प्रक्रिया पूरा भइसकेको डिन कार्यालयले जनाएको छ।


