EduPress
'

माध्यमिक तहका शिक्षकको अध्यापन अनुमति पत्र वितरण सुरु

Author Image
बिहिवार, माघ १, २०८२
Text Size:

मकवानपुर । माध्यमिक तहमा अध्यापन गर्न सफल भएका शिक्षक उम्मेदवारहरूका लागि अध्यापन अनुमति पत्र वितरण प्रक्रिया सुरु गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले सूचना जारी गर्दै अनुमति पत्र वितरणको तयारी पूरा गरेको जनाएको छ।

शिक्षक सेवा आयोगको विज्ञापन नम्बर ४३/०८२/८३ अनुसार २०८२ असोज २२ गते सञ्चालन भएको माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्र परीक्षामा सहभागी भई सफल भएका सम्पूर्ण उम्मेदवारले आवश्यक कागजातसहित इकाइमा फाइल पेस गर्नुपर्नेछ। इकाइले २०८२ पुस ३० गतेदेखि अध्यापन अनुमति पत्र वितरण सुरु गरेकाे जनाएकाे छ ।

अनुमति पत्र प्राप्त गर्न उम्मेदवारले निवेदन, प्रवेशपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र, SEE/SLC देखि स्नातक तहसम्मका शैक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। साथै शिक्षा बाहेक अन्य विषयबाट योग्यता हासिल गरेका उम्मेदवारको हकमा कम्तीमा १० महिनाको तालिम उत्तीर्ण प्रमाणपत्र आवश्यक पर्ने जनाइएको छ।

विदेशी शैक्षिक संस्थाबाट योग्यता प्राप्त गरेका उम्मेदवारले समकक्षता प्रमाणपत्र पेस गर्नुपर्नेछ भने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति अनिवार्य गरिएको छ। नागरिकताअनुसार ठेगाना फरक परेमा ठेगाना खुल्ने कागजात समेत संलग्न गर्नुपर्ने जनाइएकाे छ ।

इकाइले रोल नम्बरका आधारमा कक्षा निर्धारण गरी फाइल संकलन गरिने जनाएको छ। फाइल पेस गर्ने समय दिनको २ बजेभित्र तोकिएको छ। पेस गरिएका सम्पूर्ण प्रतिलिपि उम्मेदवार स्वयंले प्रमाणित गर्नुपर्नेछ।

शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका इकाइ प्रमुख सुदीप गिरीले निर्धारित समयभित्र सम्पूर्ण प्रक्रिया पूरा गर्न सम्बन्धित सबै सफल उम्मेदवारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खबर