रसुवा । काठमाडाैं विश्वविद्यालय इन्जिनियरिङ स्कूलअन्तर्गत स्वास्थ्य सूचना विज्ञान कार्यक्रममा अध्ययनरत स्नातक तहको पहिलो ब्याचका विद्यार्थीहरूले ग्रामीण क्षेत्रका स्वास्थ्य चाैकीहरूकाे भ्रमण सुरू गरेका छन् । यसक्रममा उनीहरूले रसुवाको उत्तरगया गाउँपालिका–४ स्थित लहरेपौवा स्वास्थ्य चौकीमा क्षेत्रमा भ्रमण सम्पन्न गरेका छन् । शैक्षिक ज्ञान र ग्रामीण स्वास्थ्य सेवाको व्यवहारिक यथार्थबीचको दूरी घटाउने उद्देश्यसहित आयोजना गरिएको उक्त भ्रमणमा टेलिमेडिसिन सेवाको कार्यान्वयन, डिजिटल स्वास्थ्य पूर्वाधार र दुर्गम क्षेत्रको समग्र स्वास्थ्य सेवा अवस्थामाथि विशेष ध्यान दिइएको थियो ।
दिपेश खड्का तथा सिजल रूपाखेतीको नेतृत्वमा गरिएको भ्रमणका क्रममा विद्यार्थीहरूले बिरामी विवरण व्यवस्थापन, टाढाबाट परामर्श सेवा र स्वास्थ्य चौकीमा प्रयोगमा रहेका विभिन्न सफ्टवेयर तथा निदान उपकरणहरूको अवलोकन गरेका थिए । उनीहरूले साे क्रममा स्थानीय तहमा स्वास्थ्य सेवा प्रविधि कसरी लागू भइरहेको छ भन्ने विषयमा प्रत्यक्ष जानकारी लिने अवसर प्राप्त गरेकाे जनाएका छन् ।
उनीहरूकाे भ्रमणलाई उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसहित केशव राज विष्ट र बलराम न्यौपानेलगायत स्थानीय जनप्रतिनिधि तथा अधिकारीहरूले सहजीकरण गरेका थिए । यसबाट विद्यार्थीहरूलाई सीमान्तकृत समुदायसम्म स्वास्थ्य सेवा विस्तार गर्न स्थानीय प्रशासन र प्रविधिबीचको सहकार्य कसरी अघि बढिरहेको छ भन्ने बुझ्न सहयोग पुगेकाे बताइएकाे छ ।
अवलोकनका क्रममा भौगोलिक कठिनाइ, सीमित पूर्वाधार, इन्टरनेट कनेक्टिभिटीको समस्या तथा मानव संसाधन अभावजस्ता व्यावहारिक चुनौतीहरू स्पष्ट रूपमा देखिएकाे भ्रमणमा सहभागी विद्यार्थीले जनाएका छन्। स्वास्थ्य प्रणालीबीचको अन्तरसञ्चालनशीलता र डेटा एकीकरणका जटिलताले प्रभावकारी स्वास्थ्य सूचना प्रणालीको आवश्यकता अझ स्पष्ट बनाएको विद्यार्थीहरूको भनाइ थियो ।
प्राविधिक अध्ययनसँगै स्वास्थ्यकर्मी र प्रशासकसँगको अन्तरक्रियाले विद्यार्थीहरूलाई पेशागत अनुभवसमेत भएको बताइएकाे छ । दुर्गम क्षेत्रमा बिरामीका लागि टेलिमेडिसिन नै जीवनरेखा बन्ने अवस्था रहेको उल्लेख गर्दै, यस्ता सेवालाई दिगो र प्रभावकारी बनाउन स्वास्थ्य सूचना विज्ञान विज्ञहरूको भूमिका निर्णायक हुने निष्कर्ष निकालिएको छ ।
देशमै पहिलो पटक सुरु भएको स्वास्थ्य सूचना विज्ञान कार्यक्रमको पहिलो ब्याचका लागि यो भ्रमण अत्यन्तै महत्वपूर्ण अनुभव बनेको टाेलीका सदस्यहरूले जनाएका छन्। विद्यार्थीहरू ग्रामीण स्वास्थ्य सेवाको वास्तविक अवस्थाबारे व्यवहारिक ज्ञानसहित फर्किएकाे र यसले नेपालको डिजिटल स्वास्थ्य रूपान्तरणमा योगदान पुर्याउने दक्ष जनशक्ति उत्पादन गर्ने कार्यक्रमको उद्देश्यलाई थप मजबुत बनाएको विश्वविद्यालयले जनाएकाे छ ।



