EduPress
'

शैक्षिक पात्रो, परीक्षा प्रणाली र विद्यार्थीको भविष्यमा गम्भीर असर नपार्न त्रिविको आग्रह

Author Image
शुक्रवार, माघ २, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले विश्वविद्यालयको शैक्षिक पात्रो कार्यान्वयनमा अवरोध सिर्जना हुने कुनै पनि गतिविधिमा संलग्न नहुन सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

त्रिवि रजिस्ट्रारको कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको विज्ञप्तिमा तालाबन्दी, हड्ताल, तोडफोड, आगजनीजस्ता गैरशैक्षिक गतिविधिले विश्वविद्यालयको शैक्षिक पात्रो, परीक्षा प्रणाली तथा विद्यार्थीको भविष्यमा गम्भीर असर पार्ने भन्दै यस्ता गतिविधिबाट टाढा रहन स्पष्ट अपिल गरिएको छ।

सूचना तथा जनसम्पर्क महाशाखाका शाखा अधिकृत भोला महतोको नाममा हस्ताक्षरमा जारी विज्ञप्तिमा तोकिएको शैक्षिक सत्रभित्र उपाधि प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भएमा विद्यार्थीहरूले अतिरिक्त समय र आर्थिक भार व्यहोर्नुपर्ने बाध्यता आउन सक्ने उल्लेख गरिएको छ। साथै, उच्च प्राज्ञिक निकाय र प्राज्ञिक परिषदबाट स्वीकृत शैक्षिक पात्रोअनुसार कुनै पनि तहको पुनःप्रवेश परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट पारिएको छ। विश्वविद्यालयले गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्नु विद्यार्थीको अधिकार भएको र तोकिएको समयमै शिक्षा सम्पन्न गराउनु त्रिविको प्रमुख दायित्व रहेको जनाएको छ।

त्रिविको यो आग्रह केही दिनअघि त्रिवि विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयमा भएको तोडफोडको घटनाको पृष्ठभूमिमा आएको हो। अस्कल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० मा आवद्ध विद्यार्थीहरूको एक समूहले बीएससी तहको पुनःप्रवेश परीक्षा माग गर्दै डिन कार्यालयमा तोडफोड गरेका थिए।

डिन कार्यालयका अनुसार अस्कल क्याम्पसका स्ववियु सदस्य गोपालबहादुर शाहीको नेतृत्वमा आएको ८–९ जनाको समूहले डिनको कार्यकक्षसहित कार्यालय परिसरमा कुर्सी, टेबल, सिसा, गमला लगायतका सामग्री तोडफोड गरेको हो। आक्रोशित समूहले डिन शंकर खनालमाथि गमला प्रहार गर्ने प्रयाससमेत गरेको कार्यालय स्रोतले जनाएको छ।

डिन कार्यालयले मंसिर ६ गते सञ्चालन गरिएको बीएससी प्रवेश परीक्षामा करिब ९ हजार विद्यार्थी सहभागी भएको र तीमध्ये करिब ८ हजार विद्यार्थी उत्तीर्ण भई भर्ना प्रक्रिया पूरा भइसकेको जानकारी दिएको छ। भर्ना सिट पूर्ण भइसकेकाले पुनः प्रवेश परीक्षा सञ्चालन सम्भव नरहेको स्पष्टिकरण डिन कार्यालयको छ। पुनःप्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय डिन कार्यालयको नभई त्रिवि केन्द्रको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको डिन खनालले बताएका छन्।

यस वर्ष असोजमा हुने भनिएको बीएससी प्रवेश परीक्षा ‘जेन–जी आन्दोलन’ का कारण ढिलाइ भई मंसिरमा सञ्चालन गरिएको थियो। ढिलाइका बाबजुद पर्याप्त विद्यार्थी सहभागी भएको र शैक्षिक पात्रोअनुसार भर्ना प्रक्रिया सम्पन्न भइसकेको डिन कार्यालयको भनाइ छ।

यसअघि पनि विश्वविद्यालयको शुल्क घटाउन दबावस्वरूप विद्यार्थीहरूले त्रिविमा तालाबन्दी गरेका थिए। अखिल क्रान्तिकारीको नेतृत्वमा रहेका विद्यार्थीहरूले शुल्क घटाउने विषयमा यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै उपकुलपति, रेक्टरसहित त्रिविका विभिन्न पदाधिकारीहरूको कार्यालयमा तालाबन्दी गरेका थिए।

यही सन्दर्भमा त्रिवि प्रशासनले परीक्षा व्यवस्थापन, कक्षा सञ्चालन, नतिजा प्रकाशनजस्ता संवेदनशील शैक्षिक कार्यतालिकामा अवरोध नपुर्‍याउन आग्रह गर्दै उत्पन्न समस्या वार्ता, संवाद र विधिसम्मत प्रक्रियाबाट समाधान गर्न विद्यार्थी, शिक्षक, कर्मचारी तथा सबै सरोकारवालालाई आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर