EduPress
'

भिरबाट लडेर दार्चुलामा प्रधानाध्यापकको निधन

Author Image
शनिवार, माघ ३, २०८२
Text Size:

दार्चुला । दार्चुलामा एक प्रधानाध्यापकको भिरबाट लडेर मृत्यु भएको छ । महाकाली नगरपालिका–२, मुल्लास्थित सरस्वती आधारभूत विद्यालय, घट्टेखोलाका प्रधानाध्यापक राम सिंह डोबालको भिरबाट लडेर असामयिक निधन भएको हो ।

दार्चुला प्रहरीका अनुसार ४० वर्षीय डोबालको यही माघ १ गते बिहीबार बाटो हिँड्ने क्रममा चिप्लिएर भिरबाट खस्दा घटनास्थलमै ज्यान गएको हो। लामो समयदेखि शिक्षण पेशामा सक्रिय डोबाल कर्तव्यनिष्ठ, अनुशासित र मिलनसार व्यक्तित्वका रूपमा चिनिन्थे। विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको समग्र विकास र अभिभावक–विद्यालय सम्बन्ध सुदृढ गर्न उनले उल्लेखनीय योगदान पुर्‍याएको उनका सहकर्मीहरुले बताएका छन् ।

यस दुःखद घटनाले महाकाली नगरपालिका तथा विशेषगरी मुल्ला क्षेत्रलाई गहिरो शोकमा डुबाएको छ। विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूले प्रधानाध्यापक डोबालको निधनलाई ‘एक अभिभावक गुमाएजस्तै’ पीडादायी क्षणका रूपमा स्मरण गरेका छन्।

दार्चुलालगायत सुदूरपश्चिमका ग्रामीण भेगमा गोरेटो बाटो र भिरपाखाको जोखिम सधैं उच्च रहँदै आएको छ। विशेषगरी हिउँद याममा बाटो चिप्लो वा अस्थिर हुँदा यस्ता दुःखद घटनाहरू पटक–पटक दोहोरिने गरेका छन्, जसले स्थानीय बासिन्दाको दैनिकी अझ जोखिमपूर्ण बनाएको छ।

प्रधानाध्यापक राम सिंह डोबालको निधनले उनको परिवारमा मात्र होइन, समग्र दार्चुला र सुदूरपश्चिमको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खबर