काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले सोमबार परीक्षा तालिका सार्वजनिक गर्दै उक्त मितिमा परीक्षा आयोजना गर्ने निर्णय गरेको हो।
शैक्षिक क्यालेन्डरअनुसार एसईई परीक्षा सामान्यतया चैतको पहिलो साता सुरु हुँदै आएको भए पनि यस वर्ष प्रतिनिधिसभा निर्वाचनका कारण केही दिन पछाडि सारिएको बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार निर्वाचन व्यवस्थापनसँग जुध्न नदिने उद्देश्यले चैत १९ गतेदेखि परीक्षा लिने निर्णय गरिएको हो।
यस वर्ष एसईईका लागि करिब ५ लाख १७ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र र एसईईका प्रश्नपत्र दुवै जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ हुने भएकाले तालिकामा परिमार्जन गर्नुपरेको बोर्डको भनाइ छ।
बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। चैत १९ गते अनिवार्य अंग्रेजी विषयको परीक्षाबाट एसईई सुरु हुने छ भने चैत २९ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षासँगै परीक्षा सम्पन्न हुनेछ।
तालिकाअनुसार दोस्रो दिन अनिवार्य नेपाली, तेस्रो दिन अनिवार्य गणित, चौथो दिन अनिवार्य विज्ञान, पाँचौँ दिन अनिवार्य सामाजिक अध्ययन, छैटौँ दिन ऐच्छिक विषयहरू र अन्तिम दिन अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुनेछ। प्राविधिक धारअन्तर्गतका विद्यार्थीहरूका लागि भने सम्बन्धित विषयअनुसार फरक-फरक मितिमा परीक्षा तोकिएको छ।
यस वर्ष एसईई परीक्षाका लागि करिब ५ लाख १७ हजार विद्यार्थी सहभागी हुँदैछन्। शैक्षिक क्यालेन्डरअनुसार चैतको पहिलो साता परीक्षा हुने भए पनि २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका कारण परीक्षा केही दिन पछि सारिएको बोर्डले जनाएको छ। निर्वाचनका मतपत्र र एसईईका प्रश्नपत्र दुवै जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ हुने भएकाले समयतालिकामा समायोजन गरिएको हो।
बोर्डले तोकिएको तालिकाअनुसार परीक्षा तयारी गर्न सबै विद्यालय, विद्यार्थी र अभिभावकलाई आग्रह गर्दै परीक्षा मर्यादित, व्यवस्थित र शान्त वातावरणमा सञ्चालन गरिने जनाएको छ।



