EduPress
'

त्रिविको परीक्षा सुधारमा ऐतिहासिक सहमति, पनिका र स्ववियुबीच १० बुँदे सहमति

Author Image
मङ्गलवार, माघ १३, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा व्यवस्थापन, सेवा प्रवाह र मूल्याङ्कन प्रणालीमा देखिएका समस्या समाधानका लागि त्रिवि स्वतन्त्र विद्यार्थी युनियन र परीक्षा नियन्त्रण कार्यालयबीच १० बुँदे सहमति भएको छ। लामो समयदेखि उठाइँदै आएका विद्यार्थीका मागमाथि सहमति जुटेसँगै विश्वविद्यालयमा देखिएको असन्तुष्टि अन्त्य भएको छ।

सहमतिसँगै स्वतन्त्र विद्यार्थी युनियनले त्रिविमा सञ्चालन गर्दै आएको आन्दोलन तथा दबाबमूलक कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ। उता परीक्षा नियन्त्रण कार्यालयले परीक्षा प्रणालीलाई विद्यार्थीमैत्री, पारदर्शी र प्रविधिमैत्री बनाउँदै सुधारका काम तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

सहमति अनुसार यसअघि माघ १८ गतेदेखि सञ्चालन हुने भनिएको तीन वर्षे स्नातक तह तृतीय वर्षको मौका परीक्षा संशोधित तालिकाअनुसार २०८२ माघ २५ गतेदेखि सञ्चालन हुनेछ। परीक्षा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कायम रहेका केन्द्रहरूमार्फत सञ्चालन गरिनेछ। आगामी दिनमा हुने मौका परीक्षाहरू पनि क्षेत्रीय कार्यालयबाटै सञ्चालन गर्ने सहमति भएको छ।

त्यसैगरी, त्रिविबाट स्वीकृत एकेडेमिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन गर्ने र कुनै प्राविधिक जटिलता बाहेक परीक्षाफल ९० दिनभित्र अनिवार्य रूपमा सार्वजनिक गर्ने सहमति गरिएको छ। पुनःयोगको नतिजा आवेदन खुलेको ३० दिनभित्र प्रकाशित गर्ने प्रतिबद्धता पनि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालयले मूल्याङ्कन प्रणालीको पुनर्संरचना गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। यसका लागि स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्वसहित सात दिनभित्र कार्यदल गठन गरी प्राप्त सुझाव कार्यान्वयन गरिनेछ।

सेवाहरूलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने, परीक्षा शुल्क भुक्तानीका लागि त्तच् ऋयमभ आधारित अनलाइन प्रणाली लागू गर्ने तथा तत्काल सेवा आवश्यक परे टोकन प्रणालीको व्यवस्था गर्ने सहमति पनि भएको छ।

विद्यार्थीका गुनासा समाधानका लागि हेल्प डेस्कलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने सहमति गरिएकाे छ। साथै, कर्मचारीलाई सेवाप्रति उत्तरदायी बनाउँदै सेवा प्रवाह र कार्यसम्पादनसम्बन्धी नियमित तालिमको व्यवस्था गर्ने सहमतिमा उल्लेख छ ।

परीक्षा केन्द्र निर्धारण गर्दा भौगोलिक अवस्था, उपलब्ध परीक्षा केन्द्र, परीक्षार्थीको सहजता र सुरक्षालाई आधार बनाउने सहमति भएकाे छ। अनुसन्धान मूल्याङ्कन प्रक्रियालाई सहज र प्रभावकारी बनाउन सम्बन्धित कार्यालयबीच आवश्यक समन्वय गरिने सहमति पनि भएको छ।

सहमतिसँगै स्वतन्त्र विद्यार्थी युनियनले हालसम्म सञ्चालन गर्दै आएका सम्पूर्ण दबाब तथा आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। त्रिवि पनिकाकाे वार्ता टोली र त्रिवि स्वतन्त्र विद्यार्थी युनियन दुवै पक्षले यो सहमति त्रिविको परीक्षा प्रणालीलाई विश्वसनीय, पारदर्शी र विद्यार्थीमैत्री बनाउने दिशामा ऐतिहासिक र निर्णायक कदम भएको प्रतिक्रिया दिएका छन्।

त्रिविको परीक्षामा व्यापक सुधारको माग गर्दै त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा आन्दोलनका कार्यक्रम सुरु गरेपछि त्रिवि पनिकाले सह–परीक्षा नियन्त्रक डा. दाबा शेर्पाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । जसमा सह–परीक्षा नियन्त्रक डा. कवि राज पौड्याल सदस्य र परीक्षा प्रशासन महाशाखाका प्रमुख भोला सिवाकोटी सदस्य सचिव रहेका थिए । सो समितिले आन्दोलनरत स्ववियुका प्रतिनिधिहरुसँग वार्ता गरी १० बुँदे सहमति निकालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खबर