जगत वाशिष्ठ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागबाट अवकाशप्राप्त प्राध्यापक घनश्याम उपाध्याय कँडेलको सम्मानमा ‘प्रा. घनश्याम उपाध्याय कँडेल विद्याभूषण कोष’ स्थापना गरिएको छ। उनकी धर्मपत्नी सुभद्रा कँडेलले रु १० लाख १ हजार बराबरको अक्षयकोष त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण गरेकी हुन्।
उक्त कोषबाट त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा नेपाली विषयमा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने एक जना छात्र वा छात्रालाई ‘प्रा. घनश्याम उपाध्याय कँडेल विद्याभूषण’ तथा प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।
कोष सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. केदारप्रसाद रिजाल, प्राध्यापक घनश्याम उपाध्याय कँडेल स्वयं र दातृका सुभद्रा कँडेलको उपस्थिति रहेको थियो। सुभद्रा कँडेलले विश्वविद्यालयको दानदातव्य कोषमा योगदान तथा कोष परिचालनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकी हुन्।
सम्झौताका साक्षीका रूपमा त्रिवि योजना निर्देशनालयका निर्देशक डा. लक्ष्मीकान्त शर्मा र रत्नराज्य लक्ष्मी क्याम्पसका सहप्राध्यापक डा. यज्ञेश्वर निरौला रहेका थिए।
कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै रजिष्ट्रार प्रा. डा. रिजालले स्थापित कोषको अधिकतम सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालयप्रति परिवारले देखाएको विश्वास र स्नेहप्रति कृतज्ञता प्रकट गरे। साथै, उनले प्राध्यापक कँडेलको सुस्वास्थ्य र दीर्घायुको कामना पनि गरे।
त्रिभुवन विश्वविद्यालय आर्थिक प्रशासन महाशाखाका प्रमुख राजेशसिंह देवकोटाका अनुसार उक्त रकम त्रिभुवन विश्वविद्यालय दानदातव्य कोष सञ्चालनसम्बन्धी विनियम, २०७९ अनुसार परिचालन तथा व्यवस्थापन गरिनेछ।


