EduPress
'

नेल्टाको ३० औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

Author Image
आइतवार, माघ १८, २०८२
Text Size:

काठमाडौँ। नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) द्वारा आयोजित ३० औँ अन्तर्राष्ट्रिय सम्मेलन दुई दिनसम्म चलेपछि आज औपचारिक रूपमा समापन भएको छ।

‘भावी पुस्ताका लागि अङ्ग्रेजी भाषा शिक्षणः मानव, पृथ्वी र शान्तिका लागि शिक्षा’ भन्ने मूल भावनालाई केन्द्रमा राखेर आयोजित सम्मेलन ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा सम्पन्न भएको हो। सम्मेलनमा नेपालसहित विश्वका १५ भन्दा बढी देशका करिब ८ सय अङ्ग्रेजी भाषा शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

दुईदिने सम्मेलनको अन्तिम दिन आज शैक्षिक दृष्टिले विशेष रूपमा सक्रिय रह्यो। तीनवटा प्रमुख किनोट मन्तव्य, तीनवटा प्लेनरी सेसन, प्रदेशगत सिम्पोजियम, समानान्तर सत्रहरू तथा सीपमूलक कार्यशालाहरू सञ्चालन गरिए।

मुख्य वक्ताका रूपमा हङकङका एसोसिएट प्राध्यापक डा. ब्यारी बाई, श्रीलंकाकी प्राध्यापक डा. बिमाली इन्द्ररथ्ने तथा नेल्टाका संस्थापक सदस्य एवम् सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. जयराज अवस्थीले आ-आफ्ना विषयगत प्रस्तुति दिएका थिए।

डा. अवस्थीले अङ्ग्रेजी भाषा शिक्षण र सिकाइः बेबी बुमर्सदेखि जेन-जेडसम्म’ शीर्षकमा प्रस्तुत विचारमार्फत भाषा शिक्षणमा समयानुकूल परिवर्तन र पुस्तान्तरणका चुनौतीमाथि प्रकाश पारेका थिए।

सम्मेलनको अर्को महत्वपूर्ण पक्षका रूपमा सुदूरपश्चिम, गण्डकी, मधेश, लुम्बिनी, कर्णाली र कोशी प्रदेशका प्रतिनिधिहरूको सहभागितामा नेल्टा प्रदेश स्तरीय सिम्पोजियम समेत सम्पन्न भएका थिए । जसमा प्रदेशगत शैक्षिक अवस्था र अभ्यासहरू साटासाट गरिएका थिए।

सम्मेलनका दौरान प्रविधीमैत्री शिक्षण पद्धति, कृतिम बौद्धिकताको प्रयोग, भाषा शिक्षणका समसामयिक चुनौती तथा कक्षा–कक्षाका अनुभवहरूबारे गहन छलफल र अनुभव आदानप्रदान गरिएको थियो।

आयोजकका अनुसार यस सम्मेलनले शिक्षकहरूको पेशागत विकासमा उल्लेखनीय योगदान पुर्‍याउनुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अङ्ग्रेजी भाषा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण आधार तयार गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर