बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी बोकेको बस दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी १० जनाभन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
परासीबाट विद्यार्थी लिएर फर्किंदै गरेको लु १ ख ८६७५ नम्बरको बस आज बिहान करिब साढे पाँच बजेतिर टोल गेट नजिकै ट्र्याक्टरसँग ठोक्किँदा दुर्घटना भएको हो। ठक्करपछि बसमा सवार विद्यार्थीहरू घाइते भएका थिए।
दुर्घटनामा परेका सबै घाइतेलाई तत्काल उद्धार गरी भैरहवा मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादवले जानकारी दिए। उनका अनुसार केही विद्यार्थीको टाउकोमा चोट लागेको छ र चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ भने घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


