काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक उपस्थितिलाई डिजिटल बनाउँदै एकीकृत हाजिरी प्रणाली सञ्चालनमा ल्याएको छ। महानगरकै शिक्षा विभाग र सूचना प्रविधि विभागले संयुक्त रूपमा विकास गरेको यस प्रणालीमार्फत विद्यालयहरूको हाजिरी व्यवस्थापन अब एउटै प्लेटफर्मबाट हुने भएको हो।
महानगर अन्तर्गतका सबै सामुदायिक विद्यालयलाई प्रणाली प्रयोगका लागि आवश्यक ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराइसकिएको छ। प्रारम्भिक चरणमा जनकल्याण, टङ्गाल, गीतामाता, ज्ञानोदय, तरुण, रत्नराज्य, पद्मोदय, जनपथ र विश्व निकेतन माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीको विवरण ‘डाटा इन्ट्री’ र ‘फेस रिडिङ’ प्रविधिमार्फत अभिलेख गरिएको छ।
शिक्षा विभागका निमित्त प्रमुख केशवप्रसाद ज्ञवालीका अनुसार हाल विद्यार्थीहरूको विवरण प्रविष्ट गर्ने र फेस रिडिङ प्रक्रिया जारी छ। “छिट्टै सबै विद्यालयका विद्यार्थी प्रणालीमा समेटिन्छन्,” उनले बताए।
उक्त प्रणाली महानगरकै आन्तरिक जनशक्तिले विकास गरेको हो। यससँगै प्रणाली विकासमा बाह्य परामर्शदातामाथिको निर्भरता क्रमशः घट्दै गएको महानगरले जनाएको छ। प्रणाली लागू भएपछि विद्यालयका लेखा तथा प्रशासनिक कर्मचारीलाई सञ्चालनसम्बन्धी तालिमसमेत प्रदान गरिएको छ।
अब विद्यालयहरूले आफैं डाटा इन्ट्री, अद्यावधिक र प्रतिवेदन तयार गर्नेछन् भने महानगरले केन्द्रीय प्रणालीमार्फत रियल–टाइम निगरानी गर्न सक्नेछ।
सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल भन्छन्, “महानगरको आफ्नै प्रणाली हुनु नै ठूलो उपलब्धि हो। यसले सेवा प्रवाहलाई छरितो बनाएको छ।”
प्रणालीमा समावेश तथ्याङ्कलाई आगामी दिनमा सब–नेशनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन (सूत्र) सँग आवद्ध गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालले जानकारी दिए।
यो प्रणाली व्यक्तिगत प्रोफाइलमा आधारित हुनेछ, जहाँ विद्यार्थीले आफ्नै विवरण हेर्न सक्नेछन्। साथै, विद्यार्थी अनुपस्थित भएको सूचना अभिभावकसम्म सिधै पठाउने सुविधा विकास गर्ने तयारीसमेत महानगरले अघि बढाएको छ।


