EduPress
'

लिन्कन कलेजका विद्यार्थीद्धारा काभ्रे बालबालिकालाई राहत र शिक्षा सामग्री सहयोग

Author Image
सोमवार, माघ २६, २०८२
Text Size:

काठमाडौं । काठमाडौंस्थित लिन्कन इन्टरनेशनल कलेजका विद्यार्थीहरूले काभ्रेको चौंरीदेउराली गाउँपालिका–४, दोलाघाटस्थित कुमार बलराम स्मृति छात्रावासमा आश्रित बालबालिकाका लागि राहत र शैक्षिक सामग्री प्रदान गरेका छन्।

बिबिए सातौं सेमेस्टरका विद्यार्थीहरूले ‘प्रोजेक्ट यात्रा’ नामक पहलको माध्यमबाट शनिबार छात्रावास पुगेर करिब डेढ लाख रुपैयाँ मूल्यबराबरको सहयोग हस्तान्तरण गरेका हुन्। २२ जना विद्यार्थी र चार जना शिक्षकको टोलीले जाडो महिनामा बालबालिकाको जीवनयापन र अध्ययनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरेको थियो।

विद्यार्थीहरूले आन्तरिक अभ्यासभन्दा बाहिर गएर सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस अभियानलाई सञ्चालन गरेका थिए। व्यक्तिगत योगदान र विभिन्न दातासँगको समन्वयबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत जुटाउन उनीहरू सफल भए।

सहायता सामग्रीमा प्रत्येक बालबालिकाका लागि फाइबर ब्ल्याङ्केट, न्यानो टोपी र लत्ताकपडा राखिएको छ। साथै, पढाइका लागि कापी, कलम, झोला र अन्य स्टेसनरी उपलब्ध गराइएको छ। स्वास्थ्य र सरसफाइमा जोड दिँदै छात्रावासमा वाटर फिल्टर, किशोरी बालिकाका लागि सेनेटरी प्याड र खेलकुद सामग्रीहरू पनि प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले खाद्यान्न, बिस्कुट र चकलेट वितरण गरे। त्यस्तै, वातावरण संरक्षणको सन्देश प्रवाह गर्न छात्रावास परिसरमा वृक्षारोपण पनि गरिएको थियो।

लिन्कन कलेजकी एकेडेमिक कोअर्डिनेटर रोजल जोशीले भनिन्, “हामीले शिक्षालाई केवल कक्षामा सीमित नराख्ने नीति अपनाएका छौं। ‘प्रोजेक्ट यात्रा’ले ‘बाचौँ र बचाऔँ’ भन्ने संदेश प्रवाह गर्‍यो।”

फ्याकल्टी इभेन्ट म्यानेजमेन्टका रस्मित श्रेष्ठले विद्यार्थीहरूको संगठनात्मक क्षमता र सामाजिक उत्तरदायित्वमा देखाएको सक्रियता प्रशंसा गरे।

छात्रावास इन्चार्ज मनोज श्रेष्ठले सहयोगले बालबालिकाको आधारभूत आवश्यकता पूर्ति भएको र शैक्षिक सामग्रीले उनीहरूको अध्ययनमा उत्साह थपेको बताए। उनले भनिन्, “यस सहयोगले बालबालिकाको जीवनयापन सहज बनाएको छ र उनीहरूको आत्मविश्वास अभिवृद्धि गरेको छ।”

काभ्रेको उक्त छात्रावासमा अभिभावकविहीन र अति विपन्न परिवारका बालबालिकाहरू निःशुल्क बसोबास र शिक्षा प्राप्त गर्दै आएका छन्। कलेज र छात्रावासबीचको सहकार्य भविष्यमा पनि निरन्तर रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर