काठमाडौं । विश्वभर आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रमा महिलाको समान सहभागिता र पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस प्रत्येक वर्ष फेब्रुअरी ११ मा मनाइन्छ।
संयुक्त राष्ट्रसङ्घले सन् २०१५ डिसेम्बर २२ मा महासभाबाट प्रस्ताव पारित गरी सन् २०१६ देखि यो दिवस मनाउन सुरु गरेको हो। विज्ञान र प्रविधि क्षेत्रको विकासमा महिलाको योगदानलाई मान्यता दिँदै लैङ्गिक विभेद अन्त्य गर्ने विश्वव्यापी प्रतिबद्धता स्वरूप यो दिवस स्थापना गरिएको हो।
यद्यपि उच्च शिक्षामा महिलाको सहभागिता क्रमशः बढ्दो अवस्थामा भए पनि विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका विषयमा उनीहरूको प्रतिनिधित्व अझै सन्तोषजनक मानिएको छैन। लामो समयदेखि कायम रहेको संरचनात्मक तथा सामाजिक अवरोधका कारण यी क्षेत्रमा लैङ्गिक असमानता देखिँदै आएको विभिन्न अध्ययनले औंल्याएका छन्।
संयुक्त राष्ट्रसङ्घले लैङ्गिक समानतालाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एकका रूपमा अघि बढाउँदै आएको छ। महिला तथा बालिकाको सशक्तीकरणले आर्थिक वृद्धिदेखि दिगो विकासका लक्ष्य प्राप्तिसम्म महत्वपूर्ण भूमिका खेल्ने विश्व संस्थाको धारणा छ। सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकास कार्यसूचीका लक्ष्य हासिल गर्न विज्ञान क्षेत्रमा महिलाको सक्रिय सहभागिता अपरिहार्य मानिएको छ।
महिलासम्बन्धी राष्ट्रसङ्घीय आयोगले सन् २०११ मा सम्पन्न आफ्नो ५५औँ अधिवेशनमा शिक्षा, तालिम, विज्ञान र प्रविधिमा महिला तथा बालिकाको पहुँच विस्तार गर्न तथा समान रोजगारीको अवसर सुनिश्चित गर्न सहमति जनाएको थियो। त्यसपछि सन् २०१३ मा महासभाले पारित गरेको अर्को प्रस्तावले विज्ञान, प्रविधि र नवप्रवर्तनमा सबै उमेर समूहका महिलाको समान सहभागितालाई लैङ्गिक समानता प्राप्तिको आधारका रूपमा उल्लेख गरेको थियो।
यो दिवसले प्रत्येक बालिकाले विज्ञान क्षेत्रमा आफ्नो भविष्य देख्न सक्ने वातावरण निर्माण गर्न र प्रत्येक महिलाले वैज्ञानिक करियरमा निर्बाध प्रगति गर्न पाउने अवसर सुनिश्चित गर्नुपर्ने सन्देश दिन्छ।
यसै सन्दर्भमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जारी गरेको सन्देशमा विज्ञान तथा प्रविधिमा महिला र बालिकाको पूर्ण तथा समान सहभागिता सुनिश्चित नगरी समावेशी र दिगो विकास सम्भव नहुने उल्लेख गरेका छन्।


