EduPress
'

ज्ञानसागर माविमा कृत्रिम बौद्धिकता आधारित एआई मेन्टर प्रणाली सञ्चालनमा

Author Image
शुक्रवार, माघ ३०, २०८२
Text Size:

नेपालगञ्ज । बाँकेकाे नेपालगञ्जमा ज्ञानसागर माध्यमिक विद्यालयले शिक्षण सिकाइमा कृत्रिम बौद्धिकता (एआई) आधारित “एआई मेन्टर प्रणाली” सञ्चालनमा ल्याएको छ। यही फागुन १ गते विद्यालयमा एक कार्यक्रममाकाे अायाेजना गरी विद्यालयले विभिन्न विषयगत एआई मेन्टर सार्वजनिक गरेको हो।

विद्यालयले एआईलाई कक्षागत पाठ्यक्रम, पाठ्यपुस्तक र तहगत सिकाइ उद्देश्यसँग समन्वय गरेर प्रयोग गरिने जनाएकाे छ। विद्यालयले पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत राष्ट्रिय पाठ्यक्रमलाई आधार मानेर एआई टुल तयार गरेको छ। विद्यालयका अनुसार एआईले स्वतन्त्र रूपमा सामग्री उत्पादन गर्नेभन्दा पनि निर्धारित पाठ्यक्रम र सिकाइ लक्ष्यअनुसार शिक्षक र विद्यार्थीलाई सहयोग पुर्‍याउनेछ।

अहिले विद्यालयमा “सी गुरु मेन्टर एआई”, कक्षा ६–८ का लागि “English Mentor AI”, “माध्यमिक तह सामाजिक सहयोगी एआई मेन्टर” र “नेपाली शिक्षण गुरु एआई मेन्टर” सञ्चालनमा आइसकेका छन्। यी प्रणालीहरूले पाठ योजना निर्माण, अभ्यास प्रश्न तयार पार्ने, जटिल विषयलाई सरल भाषामा व्याख्या गर्ने, परियोजना कार्यमा मार्गदर्शन गर्ने तथा अतिरिक्त अभ्यास सामग्री उपलब्ध गराउने कार्यमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

विद्यालयका प्रधानाध्यापक होमराज खड्काले एआईलाई शिक्षकको विकल्प नभई सहायक प्रणालीका रूपमा प्रयोग गरिने स्पष्ट गर्नुभयो। उनले प्रविधिलाई सही दिशा र निगरानीमा प्रयोग गर्न सके शिक्षण प्रक्रिया अझ प्रभावकारी, सृजनशील र व्यवस्थित बन्न सक्ने बताए।

एआईको प्रभावकारिता प्रयोगकर्ताको सोच, जिम्मेवारी र निर्देशनमा निर्भर रहने भएकाले विद्यालयले जिम्मेवार प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ। एआई मेन्टर विकास प्रक्रियामा माध्यमिक तहका सामाजिक शिक्षक दीपक रिमाल तथा आधारभूत तहका अङ्ग्रेजी शिक्षक शिव काफ्ले उपाध्यायको महत्वपूर्ण भूमिका रहेको विद्यालयले जनाएको छ। विषयगत अनुभव र कक्षागत आवश्यकतालाई ध्यानमा राखेर टुल निर्माण गरिएको बताइएको छ।

विद्यालयले आगामी चरणमा विज्ञान र गणित विषयका लागि पनि एआई प्रणाली विकास गर्ने योजना बनाएको छ। विश्लेषणात्मक र प्रयोगात्मक प्रकृतिका यी विषयमा चरणबद्ध समस्या समाधान, त्रुटि विश्लेषण र अवधारणा स्पष्टतामा एआई उपयोगी हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर