काठमाडाैं । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनका लागि शिक्षकहरूलाई खटाउने क्रममा तह र श्रेणीको सम्मान नगरेको भन्दै नेपाल शिक्षक महासङ्घले गम्भीर आपत्ति जनाएको छ। महासङ्घका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदी र महासचिव तुलाबहादुर थापाकाे हस्ताक्षरमा जारी विज्ञप्तिमा यस्ताे अापती जनाइएकाे हाे ।
महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई दिइएको जिम्मेवारीले उनीहरूको पेशागत मर्यादामा आघात पुगेको उल्लेख गरेकाे छ । निर्वाचन कार्यमा शिक्षकहरूलाई खटाउँदा उनीहरूले अध्यापन गरिरहेको तह, श्रेणी र अनुभवलाई पर्याप्त रूपमा विचार नगरी कनिष्ठ तहको जिम्मेवारी दिइएको गुनासो विभिन्न जिल्लाबाट आएको महासंघ राष्ट्रिय समितिले जनाएकाे छ। यसले शिक्षकहरूको पेशागत सम्मानमा नकारात्मक असर पारेको महासङ्घको विज्ञप्तिमा उल्लेख छ। कतिपय स्थानमा शिक्षकहरूको सहभागितालाई उचित महत्व नदिएको र खटाइएका स्थानमा समेत मर्यादित व्यवहार नपाएको जानकारी प्राप्त भएको पनि महासङ्घले जनाएको छ।
विज्ञप्तिमा महासङ्घले शिक्षकहरूको तहअनुसार जिम्मेवारी दिनका लागि आफूहरूले पटक पटक आग्रह गरे पनि त्यसको सम्बोधन नभएको जनएको छ। शिक्षकहरू निर्वाचन प्रक्रियालाई सफल बनाउन सधैं जिम्मेवार र प्रतिबद्ध रहँदै आएको उल्लेख गर्दै महासङ्घले पेशागत सम्मानको विषयमा भने सम्झौता गर्न नसकिने स्पष्ट पारेको छ।
विज्ञप्तिमा शिक्षकहरूको तह, श्रेणी र मर्यादामा आघात पुग्ने गरी दिइएका जिम्मेवारीहरू पूरा गर्न शिक्षकहरू बाध्य नहुने चेतावनी समेत दिइएको छ। यसले समस्या समाधान नभए आगामी निर्वाचनका क्रममा शिक्षकहरूले असहयोग गर्न सक्ने संकेत पनि विज्ञप्तिमा गरिएको छ।
महासङ्घले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गर्न शिक्षकहरू सधैं तयार रहेको उल्लेख गर्दै शिक्षकहरूको आत्मसम्मान र पेशागत गरिमालाई ध्यानमा राखेर जिम्मेवारी निर्धारण गर्न निर्वाचन आयोगसँग माग गरेको छ।


