EduPress
'

त्रिविको पुनर्संरचना अभियानअन्तर्गत गण्डकी च्याप्टर निर्माण गर्ने निर्णय

Author Image
शनिवार, फागुन ८, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन गण्डकी प्रदेशमा “गण्डकी च्याप्टर” निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। यस सम्बन्धमा आयोजित कार्यशाला गोष्ठीले गण्डकी प्रदेशस्थित पृथ्वीनारायण क्याम्पस लाई उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने अवधारणामाथि व्यापक छलफल गर्दै आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

कार्यशालाको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल र विश्वविद्यालय अनुदान आयोग का अध्यक्ष प्रा.डा. देवराज अधिकारीले संयुक्त रूपमा गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति अर्यालले त्रिविको सेवा प्रवाहलाई सरलीकरण गर्ने, विद्यार्थीले पाउने सेवाहरू नजिकबाट उपलब्ध गराउने, दीक्षान्त समारोहमा सबै विद्यार्थीको सहभागिता सुनिश्चित गर्ने तथा पाठ्यक्रम र परीक्षा प्रणालीलाई व्यवस्थित बनाउने योजना रहेको जानकारी दिए । उनका अनुसार मौजुदा ऐनको दायराभित्र रहेर नियममा आवश्यक परिमार्जन गर्दै अधिकार प्रत्यायोजनमार्फत सेवा प्रवाहलाई व्यवस्थित बनाइनेछ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष अधिकारीले उच्च शिक्षा व्यवस्थापनलाई व्यवस्थित बनाउन गण्डकी च्याप्टरको अवधारणा ल्याइएकोमा खुशी व्यक्त गर्दै परिवर्तन र रूपान्तरणका लागि साहसिक निर्णय गर्न विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरे। उनले विगतको ढाँचामै सीमित भएर बस्न नसकिने उल्लेख गर्दै सेवा प्रवाह सुधारका लागि दरबन्दी, परीक्षा तथा प्राविधिक पूर्वाधारका विषयमा रहेका चुनौती समाधान गर्नुपर्ने बताए।

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले गण्डकी च्याप्टरमार्फत करिब चार दशकअघिको सपना साकार पार्ने प्रयास भइरहेको बताए। उनले यस पहलले प्राज्ञिक स्वायत्तताको अनुभूति गराउने, शैक्षिक तथा प्रशासनिक सेवा प्रभावकारी बनाउने र विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै शिक्षकहरूलाई पाठ्यक्रम निर्माण र अनुसन्धानमा सक्रिय रूपमा संलग्न गराइने पनि उनले जानकारी दिए।

त्रिविका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले गण्डकी च्याप्टरले गुणस्तरीय उच्च शिक्षाको क्षेत्रमा उदाहरणीय काम गर्ने अपेक्षा व्यक्त गरे। उनका अनुसार भौतिक, राजनीतिक तथा कानुनी जटिलताका बावजुद गण्डकी प्रदेशका आंगिक क्याम्पसहरू सक्षम रहेको विश्वासका साथ पृथ्वीनारायण क्याम्पसमार्फत यो प्रक्रिया सुरु गरिएको हो।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव डा. ज्ञानबहादुर थापाले उच्च शिक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन देशभर विभिन्न च्याप्टर निर्माण गर्नुपर्ने धारणा राखे। उनले आजको दिनलाई ऐतिहासिक सुरुआतको रूपमा लिन आग्रह गर्दै संघीयताको मान्यताअनुसार विश्वविद्यालयका निकायलाई व्यवस्थित गर्नुपर्ने बताए।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केशरजंग बरालले गण्डकी च्याप्टरको सुरुआतले गण्डकी प्रदेशका धेरै विद्यार्थी लाभान्वित हुने बताउनुभयो। साथै कार्यान्वयनका क्रममा शिक्षक, कर्मचारी र विद्यार्थीबीच देखिन सक्ने चुनौतीप्रति सचेत रहनुपर्ने पनि उनले सुझाव दिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले अधिकार प्रत्यायोजनमार्फत शैक्षिक प्रशासनलाई सरल, प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।

कार्यशालामा गण्डकी च्याप्टर टास्क फोर्सका संयोजक प्रा.डा. लालु प्रसाद पौडेलले प्रस्तुत गरेको कार्यपत्रमा उच्च शिक्षालाई स्थानीयकरण गर्ने, बजारको आवश्यकताअनुसार पाठ्यक्रम निर्माण गर्ने, अनुसन्धानलाई प्रभावकारी बनाउने, परीक्षा प्रणाली सरलीकरण गर्ने र शैक्षिक प्रशासनलाई झन्झटमुक्त बनाउने लक्ष्य राखिएको उल्लेख गरिएको थियो। उनले गण्डकी प्रदेशमा सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पसका रूपमा पृथ्वीनारायण क्याम्पस रहेको र पोखरा आसपासका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको उपस्थिति पनि धेरै भएकाले गण्डकी च्याप्टर औचित्यपूर्ण हुने बताए।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख हरि प्रसाद पाठकले क्याम्पसको भौतिक तथा मानवस्रोत अवस्था, आर्थिक स्रोत व्यवस्थापन लगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेशका त्रिविका सातवटै आंगिक क्याम्पसका प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खबर