काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार गर्ने उद्देश्यसहित सोमबारदेखि महानगरभित्रका ६ वटा विद्यालयमा विशेष कक्षा सञ्चालन सुरु गरेको छ। गत वर्ष एसईईमा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ विद्यालयलाई लक्षित गर्दै यो कार्यक्रम अघि बढाइएको विभागले जनाएको छ।
कार्यक्रमको पहिलो चरणमा गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा कक्षा सञ्चालनमा ल्याइएको छ। यी विद्यालयका ५२३ विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइनेछ। कक्षामा विषयगत विज्ञ, स्रोत शिक्षक तथा सेवा निवृत्त शिक्षकहरूद्वारा अध्यापन गरिनेछ।
यसैगरी, नतिजा कम र विद्यार्थी संख्या न्यून भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालयमा चैत ३ गतेपछि विशेष कक्षा सुरु गरिने विभागले जनाएको छ। ती विद्यालयका १०४ विद्यार्थी कार्यक्रममा सहभागी हुनेछन्। यसरी दुवै चरण गरी कुल ६२७ विद्यार्थी—जुन कुल परीक्षार्थीको करिब १३ प्रतिशत हो—लाई विशेष कक्षा उपलब्ध गराइनेछ।
गीतामाता माध्यमिक विद्यालयमा कक्षा शुभारम्भका क्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले परीक्षाप्रति विद्यार्थीमा देखिने डर हटाई आत्मविश्वासका साथ परीक्षा दिन सक्षम बनाउने र उत्तर लेख्ने सीप विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले प्रश्नले मागेको विषयवस्तुमा केन्द्रित भएर उत्तर लेख्न र सबै प्रश्नको जवाफ दिन विद्यार्थीलाई सुझाव पनि दिइन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले समयमै पाठ्यक्रम पूरा गरी निरन्तर मेहनत गरे सफलतामा पुग्न सकिने धारणा राखे। शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार विगतमा केन्द्र निर्धारण गरी विद्यार्थीलाई अन्य विद्यालयमा पठाउँदा आवतजावतमा समस्या देखिएकाले यस वर्ष आफ्नै विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो।
महानगर क्षेत्रका सामुदायिक विद्यालयबाट यस वर्ष करिब ४ हजार ५५७ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने तयारीमा छन्। विभागका तथ्यांकअनुसार २०८१ सालको एसईईमा ३.६१ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थी संख्या ७८९ पुगेको थियो, जसमध्ये १७ जनाले ४ जीपीए हासिल गरेका थिए। यो संख्या २०८० सालको तुलनामा ४४.७७ प्रतिशतले बढी हो।
महानगरले शिक्षाको गुणस्तर सुधारका लागि पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त क्रियाकलापलाई समेटेर ‘पुस्तक रहित शुक्रवार’ कार्यक्रम, दिवा खाजा वितरण, शिक्षक तालिम, डिजिटल शिक्षण अभ्यास र व्यवस्थापकीय सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
शिक्षा विभागका अनुसार विशेष कक्षाको माध्यमबाट सिकाइ उपलब्धि कमजोर भएका विद्यार्थीलाई परीक्षा तयारी, लेखन शैली र उत्तर प्रस्तुत गर्ने सीपमा सहयोग पुग्ने अपेक्षा गरिएको छ, जसले समग्र एसईई उत्तीर्ण दर बढाउन मद्दत गर्ने विश्वास गरिएको छ।


