जगत वाशिष्ठ
काठमाडौं । नेपालको सबैभन्दा पुरानो तथा ठूलो उच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) ले अन्तर्राष्ट्रिय विश्वविद्यालय वरीयतामा उल्लेखनीय सुधार गरेको जनाएको छ। विश्वका प्रतिष्ठित र्याङ्किङ संस्थाहरूले सार्वजनिक गरेको पछिल्लो सूचीअनुसार त्रिविको स्थान अघिल्लो वर्षको तुलनामा उकासिएको हो।
त्रिविमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा. दीपक अर्यालले विभिन्न अन्तर्राष्ट्रिय सूचीकृत वरीयतामा सुधार हुनु विश्वविद्यालयको शैक्षिक विश्वसनीयता र अन्तर्राष्ट्रिय मान्यताका लागि सकारात्मक संकेत भएको बताए। उनका अनुसार विश्व वरीयतामा सुधार आउँदा त्रिविको शैक्षिक प्रमाणपत्रको विश्वव्यापी स्वीकार्यता समेत बढ्ने विश्वास गरिएको छ।
बेलायतस्थित Times Higher Education (THE) ले सार्वजनिक गरेको सन् २०२५ को विश्व विश्वविद्यालय वरीयतामा त्रिवि १५०१+ समूहमा परेको छ। त्यस्तै, अमेरिकी संस्था U.S. News & World Report द्वारा प्रकाशित विश्व सूचीमा त्रिविले ९१९औँ स्थान हासिल गरेको छ।
यसैगरी Center for World University Rankings (CWUR) को सूचीमा त्रिवि १६५७औँ स्थानमा परेको छ। CWUR का अनुसार त्रिवि विश्वका शीर्ष ७.८ प्रतिशत विश्वविद्यालयभित्र पर्न सफल भएको छ, जुन अघिल्लो वर्षको ८.३ प्रतिशतभन्दा सुधारिएको अवस्था हो।
विश्वविद्यालयका पदाधिकारीहरूले फरक–फरक संस्थाले आ–आफ्नै मापदण्डका आधारमा मूल्याङ्कन गर्ने भएकाले एउटै विश्वविद्यालयको स्थानमा भिन्नता देखिनु स्वाभाविक भएको स्पष्ट पारे। THE ले शिक्षण वातावरण, अनुसन्धानको गुणस्तर, उद्योगसँगको सहकार्य र अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिने गरेको छ भने U.S. News ले अनुसन्धान प्रतिष्ठा, प्रकाशन, सम्मेलन तथा उद्धरण प्रभावलाई आधार बनाउने गरेको छ। CWUR ले भने पूर्वविद्यार्थीको उपलब्धि, प्राध्यापकको विशिष्टता र अनुसन्धान कार्यलाई मुख्य सूचक मानेको छ।
विश्व वरीयता समितिका संयोजक प्रा.डा. नारायण प्रसाद अधिकारीले यस्ता बहुआयामिक मापदण्डहरूले त्रिविको समग्र क्षमताको मूल्याङ्कन गर्न सहयोग पुगेको बताए। शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीका अनुसार विषयगत वरीयतामा पनि त्रिविले उत्साहजनक उपलब्धि हासिल गरेको छ।
विशेष गरी चिकित्सा तथा स्वास्थ्य विषयमा त्रिवि विश्व वरीयताको ६०१औँ स्थानमा रहन सफल भएको जनाइएको छ। विश्वविद्यालयले यसलाई स्वदेशमै गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्न सकिने प्रमाणका रूपमा व्याख्या गरेको छ।
रजिष्ट्रार प्रा.डा. केदार प्रसाद रिजालले त्रिविमा विद्यार्थी आकर्षण बढ्दै गएको उल्लेख गर्दै उच्च शिक्षाको गुणस्तर उकास्न अनुसन्धानमा लगानी वृद्धि, अन्तर्राष्ट्रिय सहकार्य विस्तार, शिक्षण वातावरणको आधुनिकीकरण र डिजिटल उपस्थितिलाई सुदृढ बनाउने रणनीति अघि बढाइएको जानकारी दिए।
विश्वविद्यालयले आगामी वर्षहरूमा अनुसन्धानको गुणस्तर सुधार, पूर्वाधार सुदृढीकरण तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता विस्तार गर्दै विश्वका प्रतिष्ठित विश्वविद्यालयको सूचीमा अझ सम्मानजनक स्थान हासिल गर्ने लक्ष्य लिएको जनाएको छ।


