EduPress
'

शिक्षक-कर्मचारीलाई चुनाव प्रचारमा संलग्न नहुन आयोगको निर्देशन

Author Image
बिहिवार, फागुन १३, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौँ । निर्वाचन आयोग, नेपालले शैक्षिक संस्थामा कार्यरत प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई निर्वाचन प्रचार-प्रसारमा संलग्न नहुन निर्देशन दिएको छ।

आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाले निर्वाचन आचारसंहिता-२०७९ को पूर्ण पालना गर्नुपर्ने जनाएको हो।

विज्ञप्तिमा केही शिक्षक तथा कर्मचारी राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारमा सक्रिय भएको भन्ने गुनासो आयोगमा प्राप्त भएको उल्लेख गर्दै यस्तो गतिविधि आचारसंहिता विपरीत भएको स्पष्ट गरिएको छ।

शिक्षा ऐन, २०२८ को दफा १६ को उपदफा (७) बमोजिम शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य हुन नपाइने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ। साथै, निर्वाचन आचारसंहिता-२०७९ को दफा १० मा विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार-प्रसार गर्न, भेला–सभा आयोजना गर्न, नाराबाजी गर्न वा सार्वजनिक रूपमा समर्थन जनाउन नपाइने प्रावधान रहेको उल्लेख छ।

आयोगले शैक्षिक संस्थामा कार्यरत सबै जनशक्तिलाई आफ्नो पेसागत मर्यादा र तटस्थता कायम राख्न आग्रह गरेको छ। आचारसंहिता उल्लङ्घन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी समेत आयोगले दिएको छ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत तथा सम्बन्धित निकायलाई आवश्यक अनुगमन गर्न आयोगले निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर