काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ अन्तर्गत सञ्चालन हुने आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाका लागि ५७ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ।
महानगरको आधारभूत तह परीक्षा समितिको आज बसेको बैठकले आगामी चैत ५ गतेदेखि सुरु हुने परीक्षाका लागि परीक्षा केन्द्रहरू तय गरेको हो। यसअघि माघ १४ गतेको बैठकले नै सोही मितिदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले दिएका छन्।
यस वर्ष महानगर क्षेत्रभित्र रहेका ४९४ विद्यालयका कुल १९ हजार ११७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। सहभागीमध्ये १० हजार ७४५ जना छात्र र आठ हजार ३७२ जना छात्रा रहेका छन्। विद्यालयको प्रकृतिअनुसार दुई कारागार विद्यालय र एक विशेष विद्यालयसहित ७७ सामुदायिक विद्यालयबाट चार हजार ६१४ विद्यार्थी, २० वैकल्पिक विद्यालयबाट ८३७, ६ धार्मिक विद्यालयबाट ७० तथा ३९१ संस्थागत विद्यालयबाट १३ हजार ५९६ विद्यार्थीले परीक्षा दिने बताइएको छ।
परीक्षा सञ्चालनका लागि केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ।


