मोरङ । झण्डै दुई दशकदेखि जारी प्रयासपछि पूर्वाञ्चल विश्वविद्यालयले चिकित्सा शिक्षाको स्नातक तहको पढाइ औपचारिक रूपमा सुरु गरेको छ। विश्वविद्यालयले मंगलबारदेखि एमबीबीएस कार्यक्रमको कक्षा सञ्चालन गर्दै लामो समयदेखिको योजनालाई कार्यान्वयनमा ल्याएको हो।
विश्वविद्यालयले चिकित्सा शिक्षा कार्यक्रम सुरु गर्ने तयारी २०६२ सालदेखि नै थालेको थियो। प्रारम्भिक चरणमै एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा लिई पाँच सय २० जना विद्यार्थी छनोटसमेत गरिएको थियो। तर त्यतिबेला मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा तीन सय शैयाको आफ्नै शिक्षण अस्पताल हुनुपर्ने व्यवस्था लागू भएपछि योजना तत्काल अघि बढ्न सकेन।
आवश्यक पूर्वाधार व्यवस्थापन गर्ने प्रयास जारी राख्दै विश्वविद्यालयले तीन वर्षअघि तीन सय ३० शैयाको कोशी अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सहमति गरेको थियो। यसका साथै विश्वविद्यालयले आफ्नै एक सय शैयाको अस्पताल सञ्चालनमा ल्याएर थप पूर्वाधारसमेत तयार पारेको छ।
चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयको भौतिक तथा शैक्षिक तयारीको निरीक्षण गरी करिब दुई वर्षअघि नै प्रतिवेदन शिक्षा मन्त्रालयमा पेश गरेको थियो। यद्यपि सरकारी स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा कार्यक्रम सुरु हुन सकेको थिएन।
गत साउनको दोस्रो सातामा आयोगको टोलीले अन्तिम अनुगमन गरेपछि सरकारले एमबीबीएस कार्यक्रम सञ्चालन गर्दै ५० विद्यार्थी भर्ना गर्न अनुमति दिएको हो। सो निर्णयसँगै स्थापना भएको करिब तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयमा चिकित्सा शिक्षा औपचारिक रूपमा सुरु भएको छ।
मेडिकल कलेज सञ्चालनमा आएसँगै पूर्वाञ्चल क्षेत्रमा गुणस्तरीय चिकित्सा शिक्षाको पहुँच विस्तार हुने, विद्यार्थीलाई अपेक्षाकृत कम शुल्कमा अध्ययनको अवसर मिल्ने तथा क्षेत्रीय स्वास्थ्य सेवामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।


