EduPress
'

कमला नगरपालिकाका शिक्षक फेरि आन्दोलनमा

Author Image
बुधवार, फागुन २६, २०८२
Text Size:

धनुषा । धनुषाको कमला नगरपालिकामा कार्यरत शिक्षकहरूले जनप्रतिनिधिसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै पुनः आन्दोलन सुरु गरेका छन्।

गत पुसको अन्तिम साता शिक्षक र नगरपालिकाबीच भएको सहमतिअनुसार विगत आठ महिनादेखि रोकिएको तलबभत्ता एकैपटक उपलब्ध गराउनुपर्ने तथा आगामी दिनमा नियमित रूपमा तलब भुक्तानी हुनुपर्ने माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। सोही मागका कारण विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ।

मधेश प्रदेशको राजधानी जनकपुरधामबाट करिब २२ किलोमिटर पूर्वमा पर्ने कमला नगरपालिकाका पाँच माध्यमिक विद्यालय, दुई निम्न माध्यमिक विद्यालय र दश प्राथमिक विद्यालयका शिक्षकहरू आन्दोलनमा सहभागी भएपछि करिब सात हजार विद्यार्थीको पढाइ अवरुद्ध भएको छ। जनहीत माध्यमिक विद्यालय माची झिटकैयाका प्रधानाध्यापक जगन्नाथ यादवका अनुसार केही शिक्षक नगरपालिकाको कार्यालयमा धर्नामा बसेका छन् भने कतिपय विद्यालय खुले पनि कक्षा सञ्चालन भने गरिएको छैन।

यसअघि पनि माग पूरा गराउन भन्दै १ सय ४९ शिक्षकले पुस १ देखि २२ गतेसम्म विद्यालय बन्द गरेर आन्दोलन गरेका थिए। शिक्षकहरूको भनाइमा जनप्रतिनिधिहरूबीच सहमति नजुट्दा असार १० गतेभित्र सम्पन्न गर्नुपर्ने नगरसभा अझैसम्म हुन सकेको छैन। यसको प्रभाव शिक्षा क्षेत्र मात्र होइन अन्य सेवामा पनि परेको छ।

नगरसभाको अभावमा स्वास्थ्य, कृषि तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले समेत दसैं, तिहार र छठजस्ता पर्व बितिसक्दा पनि तलबभत्ता पाउन सकेका छैनन्। त्यस्तै चालू आर्थिक वर्षको बजेट पारित हुन नसक्दा विकास निर्माणका कामहरू रोकिएका छन्।

कमला नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणसमेत प्रभावित भएको छ। नगरपालिकाका करिब ९ हजार ५ सयभन्दा बढी लाभग्राहीले आठ महिनादेखि भत्ता नपाएको बताइएको छ।

साविकका हरिने, लक्कड, सिंग्याही मडान, दुबरकोट, माची झिटकैयालगायत ६ वटा गाविसलाई समेटेर बनेको कमला नगरपालिकामा ९ वटा वडा रहेका छन् जहाँ ४२ हजारभन्दा बढी जनसंख्या बसोबास गर्छ। गत वर्ष करिब ५७ करोड रुपैयाँको बजेट ल्याएको नगरपालिकाले चालू आर्थिक वर्षको अधिकांश समय बितिसक्दा पनि नगर परिषद् बोलाउन नसक्दा स्थानीय प्रशासनिक कामकाज प्रभावित बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर