काठमाडौँ । सरकारबाट पटक–पटक विद्यालय शिक्षा ऐन ल्याउने घोषणा भए पनि व्यवहारमा ऐन जारी नहुँदा विद्यार्थीहरू प्रभावित भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ।
सोमबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा गएको टोलीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाएको हो।
ध्यानाकर्षणपत्रमा विद्यालय शिक्षा विधेयक विद्यार्थीको प्रत्यक्ष सरोकारको विषय भएकाले यसलाई संयुक्त विद्यार्थी संगठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, वार्ता र छलफलमार्फत अघि बढाउन आग्रह गरिएको छ।
पत्रमा भनिएको छ, “नेपालको संविधान, २०७२ कार्यान्वयन गर्न, मुलुकको समग्र विकासका लागि नैतिक मूल्य र मान्यतासहितको सबल र सक्षम जनशक्ति विकास गर्न, तथा नेपालको शासकीय मूल संरचनाअनुकूल विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न २०८० साउन २७ गते प्रतिनिधिसभामा दर्ता गरिएको विद्यालय शिक्षा विधेयक ओझेलमा परेको छ।”
साथै, स्वतन्त्र विद्यार्थी युनियन तथा विद्यार्थी कल्याण परिषद्को निर्वाचनप्रति विश्वविद्यालयहरूले देखाएको पूर्वाग्रही दृष्टिकोणप्रति पनि नेविसंघले असन्तोष जनाउँदै तत्काल सुधार गर्न माग गरेको छ।


