EduPress
'

कृष्ण दमाई समावेशी शिक्षा सहजकर्ता नियुक्त

Author Image
बुधवार, असोज १५, २०८२
Text Size:

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आचार्य कृष्ण दमाईलाई समावेशी शिक्षा सहजकर्ताको रूपमा नियुक्त गरेको छ। संस्कृत विषयमा आचार्य (स्नातकोत्तर) तहसम्म अध्ययन पूरा गरेर बेरोजगार रहेका कृष्णको नियुक्तिपछि दलित समुदायमा खुशीको लहर फैलिएको छ।

बैतडीको शिवनाथ गाउँपालिका–५, बकुन्ना जन्मस्थल भएका दमाईले नेपाल संस्कृत विश्व विद्यालय, विद्यापीठ लालझुण्डी (दाङ) बाट २०७८ सालमा संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका हुन्। समाजमा “दलितले वेद–पुराण पढ्नु हुँदैन” भन्ने परम्परागत सोचबीच उनले संघर्षपूर्वक उच्च अध्ययन पूरा गरेका थिए।

दमाईलाई यसअघि काठमाडौंको पशुपति कोटीहोममा सम्मानसहित व्यासमा बसालेर प्रवचन दिने अवसर प्राप्त भएको थियो। त्यही अवसरमा धनगढी उपमहानगरपालिकाले उनलाई नागरिक अभिनन्दनसमेत गरेको थियो।

उनको आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै नगरप्रमुख गोपी हमालले नोकरीको अवसर दिने घोषणा गरेका थिए। त्यसैअनुसार, उनलाई शिक्षा, युवा तथा खेलकुद महाशाखा अन्तर्गत छैटौँ तहमा समावेशी शिक्षा सहजकर्ताको रूपमा नियुक्त गरिएको हो।

दमाई केही समयदेखि कञ्चनपुरको एक निजी विद्यालयमा अध्यापन गर्दै आएका थिए। अब उनले टिकाराम पार्की छात्रवृत्ति र जुठे दमाई छात्रवृत्ति कार्यक्रमको सहजकर्ता भएर कार्य गर्ने छन्।

आचार्य कृष्णले आफ्नो जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “यो अवसर मेरो मात्र होइन, समाजका सबै संघर्षशील युवाका लागि प्रेरणा हो।”

उनको नियुक्तिले दलित समुदायभित्र शिक्षाको महत्व र अवसरमा समावेशी दृष्टिकोणलाई थप सबल बनाएको जनाइएको छ।

Views: 5

प्रतिक्रिया

सम्बन्धित खबर