काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले शिक्षालाई राजनीतिबाट पूर्णत मुक्त राख्नुपर्ने बताएका छन् । नेपालको शिक्षा राजनीति हावी भएर नै लथालिङ्ग भएको बताउँदै मन्त्री पुनले शिक्षा सुधार गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताए । जुन विद्यालयमा राजनीति घुसेको छ, त्यहाँको शैक्षिक वातावरण बिग्रिएको र राजनीति नघुसेको विद्यालयहरुले शिक्षामा उत्कृष्ट काम गरेको आफूले राम्रोसँग देखेको मन्त्री पुनको भनाई छ ।
शुक्रबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केशर महलको सगरमाथा सभाहलमा नेपालका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको साझा संस्था प्रधानाध्यापक संघ (प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल-पान)का पदाधिकारी प्रतिनिधि, जीवन विज्ञानमा आवद्ध प्रशिक्षक तथा प्रतिनिधिहरु र शिक्षा मन्त्रालयका कर्मचारीहरुबीच भएकाे अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले सो धारणा व्यक्त गरेका हुन् ।
सो क्रममा मन्त्री पुनले जीवन विज्ञान संस्थाले गरिरहेको कामको प्रशंसा गर्दै विद्यालयमा ध्यान, योग र योगाभ्यासका विधिहरु आवश्यक रहेको बताए । उनले विद्यार्थी, शिक्षक तथा समग्र स्कूलको वातावरण बिग्रिएको उल्लेख गर्दै सबैभन्दा पहिले मानिसको दिमाग सही बनाउनुपर्ने आवश्यकतामा जोड दिए । जीवन विज्ञान संस्थाले स्वजागरण सम्बन्धी गरिरहेको कामको प्रशंसा गर्दै उनले दिमाग सही ठाउँमा राख्न योग र ध्यानको आवश्यकता रहेको बताए । उनले दिमाग सही नभएमा पढ्नेले पनि राम्रोसँग नपढ्ने र पढाउनेले पनि राम्रोसँग पढाउन नसक्ने बताए ।
मन्त्री पुनले विद्यालय बिग्रिनुमा प्रमुख जिम्मेवारी प्रधानाध्यापकको हुने बताउँदै प्रअहरुले राम्रो गर्नुपर्नेमा जोड दिए । प्रअहरु नसुध्रिएमा र सफल नभएमा नेपालको शिक्षा नसुध्रने पनि उनले दावी गरे ।
शुक्रबार शिक्षा मन्त्रालयमा पानमा आवद्ध प्रधानाध्यापकहरुसँग ‘स्वस्थ, सिर्जनशील र सकारात्मक जीवनका लागि शिक्षामा स्वजागरण’ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मन्त्री पुनसँगै चर्चित गुरु एलपी भानु शर्मा, शिक्षा सचिव, पानका पदाधिकारीहरु, मन्त्रालयका विभिन्न विभागका प्रमुखहरु, जीवन विज्ञानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा गुरु भानु शर्माले जीवन विज्ञान, शैक्षिक दर्शन र योगाभ्याससम्बन्धी प्रवचन दिनुका साथै विभिन्न अभ्यासहरु गराएका थिए । उनले ती अभ्यासबाट मानिसको स्वास्थ्य ठिक राख्न सकिने र स्वस्थ रहेमा विद्यालयको वातावरण सुधार हुने बताए ।
त्यसैगरी अन्तरक्रियाका क्रममा पानका राष्ट्रिय अध्यक्ष सुदाम प्रसाद गौतमले शिक्षामन्त्रीको पहलमा भएको कार्यक्रमले आफूहरुलाई प्रेरणा दिएको बताउँदै यस्ता कार्यक्रम देशभरका विद्यालयमा आवश्यक रहेको बताए । उनले पान देशभरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक वातावरण बनाउन लागि परेको बताउँदै प्रधानाध्यापकहरुको क्षमता विकास गरेर मात्रै यो सम्भव हुने बताए । उनले पानले गरिरहेका काम र त्यसबाट भइरहेको प्रभावका बारेमा जानकारी दिए ।
शुक्रबारको कार्यक्रमबाट शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम गर्न तीन जनाको एक समन्वय समिति बनाइएको छ । जसमा शिक्षा मन्त्रालय, प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) र जीवन विज्ञानबाट एक एक जना फोकल पर्सन तोकिएका छन् ।



